काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ।
सुकुम्बासी बस्ती हटाएर सुरु भएको अभियान अन्तर्गत आजदेखि शंखमुल-बुद्धनगर क्षेत्रका अनधिकृत घर टहरा हटाँइदैछ। त्यहाँ बस्दै आएकाहरुले हिजै घर टहरा आफै भत्काएका थिए।

हिजो बिहानदेखि रातिसम्म त्यहाँका मानिस सामान ओसारपसारमा व्यस्त देखिन्थे। सँगै रहेका अन्य घरमा भने दृश्य फरक थियो।
सरकारले आजदेखि डोजर लिएर संरचना भत्काउने उर्दी जारी गरेपछि त्यहाँ लालपूर्जा भएर वर्षौंदेखि बस्दै आएकाहरुमा भय थपिएको छ।
त्यसैले डोजर आएर आफूहरुको पनि घर भत्काउने डरले सो क्षेत्रमा लालपूर्जा र नक्सा भएकाहरुले भने सतर्कता अपनाउन थालेका छन्।

बागमती नदी किनारमा रहेको शंखमुल र बुद्धनगरमा स्थानीयले आफ्नो घर बाहिर लालपूर्जा र नक्सा टाँसिरहेका छन्। सो जग्गा आफूहरुकै रहेको विवरण दिँदै उनीहरुले यसो गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हिजो साँझसम्म खाली गर्न आग्रह गरेको थियो।
उच्च जोखिममा रहेका ती बस्तीहरु बैशाख १८ गते बिहान ७ बजेदेखि खाली गर्ने कार्य सुरु गरिएको हो।





