काठमाडौं। सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार आइपीओ बाँडफाँट गरेको हो।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओ ३ लाख ४७ हजार ४९० जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन्।
कम्पनीको आइपीओमा २७ लाख ३० हजार ९८७ जनाले २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
सोपान फर्मास्युटिकल्सले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ९२.९५ रुपैयाँ र प्रति सेयर आम्दानी ०.७० रुपैयाँ छ। त्यस्तै, कम्पनीको जगेडा कोषमा ३३ करोड ८० लाख रुपैयाँ छ।