BIZMANDU
www.bizmandu.com

ब्रोकरको मिलेमतोमा जथाभावी अर्डर राखेर सेयर मूल्यमा चलखेल, नेप्सेले थाल्यो छानबिन

२०८३ बैशाख १६

ब्रोकरको मिलेमतोमा जथाभावी अर्डर राखेर सेयर मूल्यमा चलखेल, नेप्सेले थाल्यो छानबिन
ब्रोकरको मिलेमतोमा जथाभावी अर्डर राखेर सेयर मूल्यमा चलखेल, नेप्सेले थाल्यो छानबिन


काठमाडौं। सेयर बजारमा मूल्य उचाल्न ब्रोकर कम्पनीकै मिलेमतोमा हुँदै नभएको कोल्याट्रल देखाएर अवास्तविक अर्डर हाल्ने गरेको पाइएको छ।

Tata
GBIME

ब्रोकर कम्पनी र केही लगानीकर्ताको मिलेमतोमा कम्पनीको सेयर मूल्य उचाल्न कोल्याट्रल लिमिटभन्दा बढीको अर्डर हालेर उच्च माग देखाइ कृतिम रुपमा मूल्य उचाल्ने गरेको पाइएको हो।

नेप्से स्रोतका अनुसार आइपी‌ओ निष्कासनपछि बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य उचाल्न ब्रोकर र लगानीकर्ताले जथाभावी अर्डर हालेर उच्च माग सिर्जना गर्ने र मूल्य बढेपछि केही समयमै स्थगित गर्ने देखिएको छ।

ब्रोकर र लगानीकर्ताको मिलेमतोमा कम्पनीको सेयर मूल्य नै प्रभावित पारेको देखिएपछि नेपाल स्टक एक्सचेन्जले छानबिन अगाडि बढाएको छ।

‘बजारमा कम्पनीको मूल्य बढाउन ब्रोकर र लगानीकर्ता मिलेर हुँदै नभएको कोल्याट्रल देखाउने र केही समयमा स्थगित गर्ने देखिएपछि हामीले छानबिन अगाडि बढाएका छौं,’ नेप्से स्रोतले भन्यो, ‘आइपीओ बिक्री गरेपछि दोस्रो बजारमा कारोबार सुरु गरेका केही कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि शंकास्पद देखिएको छ। त्यसैले हामीले अहिले मिहीन ढंगले हेरिरहेका छौं।’

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार ब्रोकरले सेयर खरिदका लागि लगानीकर्ताबाट अर्डरको २५ प्रतिशत कोल्याट्रल लिनुपर्छ।

तर, ब्रोकरले कम्पनीको सेयर मूल्य बढाउन लगानीकर्तालाई मिलेमतोमा शून्य कोल्याट्रलमै सेयर खरिदको अर्डर हाल्न दिने गरेका छन्। जसका कारण बजारमा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक उचारचढाव देखिने गरेको छ।

ब्रोकरले लगानीकर्तालाई उधारोमै सेयर खरिदका लागि लिमिट दिएर कम्पनीको मूल्य बढाउन थालेपछि नेप्सेले बुधबार निर्देशन जारी गरेको छ।

नेप्सेका सीइओ चुडामणि चापागाइँ

लगानीकर्तालाई उनीहरुको कोल्याट्रलभन्दा बढीको सेयर खरिदका लागि अर्डर राख्न दिने र त्यस प्रकारको अस्थायी अर्डर राखेर माग बढाउने कार्यले बजारमा नकारात्मक प्रभाव पारेको भन्दै नेप्सेले ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएको छ।

‘कारोबार सदस्यहरुले लगानीकर्ताहरुको वास्तविक कोल्याट्रल लिमिट रकमभन्दा बढी गुणामा खरिद आदेश प्रविष्टि गर्न दिने, अस्थायी खरिद आदेश प्रविष्टि गरी माग उच्च देखाउने लगायतका कार्य गरी बजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप गरेको देखिएमा धितोपत्रको प्रचलित कानुन बमोजिम कारबाही गरिने हुँदा देहाय बमोजिम कारोबार गर्न/गराउन हुन निर्देशन गरिएको छ,’ नेप्सेले ब्रोकरलाई भनेको छ, ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिने। धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (८) को व्यवस्था विपरीत लगानीकर्ताको कोल्याट्रल लिमिट रकमभन्दा बढी रकम खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टि गर्नका लागि उपलब्ध गराउने कार्य नगर्ने/नगराउने।’

यसअघि भृकुटी स्टक ब्रोकिङले बिचौलिया दीपक भट्टको स्वार्थमा कोल्याट्रल नलिइ सेयर किनबेच गराएको थियो। भट्टको स्वार्थमा कानुन विपरीत काम गरेको पाइएपछि भृकुटी स्टकको कारोबार नै बन्द गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भृकुटी स्टकलाई कारबाहीस्वरुप निलम्बन गरेको छ।

कम्पनीका सञ्चालक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को छानबिनमा छन् भने दीपक भट्ट प्रहरीको हिरासतमा छन्।

आइपीओ निष्कासन गरेर दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको मूल्यमा छोटो समयमै अस्वाभाविक वृद्धि देखिएको छ। बुक बिल्डिङ विधिमार्फत आइपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो बजारमा निरन्तर बढाएर ५ हजार रुपैयाँसम्म पुर्‍याइएकामा अहिले प्रति कित्ता ३८१० रुपैयाँ छ। यस्तै होटेल फरेस्ट इन, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य पनि लगातार बढाइको थियो।

थोरै कित्ता सेयर भएका ‘लोक्याप’ कम्पनीको मूल्य नेप्से सूचक उच्च अंकले घट्दा समेत उचाल्ने गरिएको छ। नेप्से परिसूचक बुधबार २५.८१ अंकले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.८१ प्रतिशत बढाइएको छ।