काठमाडौं। एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा बुधबारदेखि वैदेशिक रोजगारलाई सेयर निष्कासन गरेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारले आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
आइपीओमा १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।
आइपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
एभरेष्ट कलरले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति पाएको छ। २०६८ सालमा स्थापना भएको यो कम्पनीको उद्योग चितवनको खैरहनीमा छ भने कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा छ। यसले घरको भित्री र बाहिरी भित्तामा लगाउने प्रिमियमदेखि इकोनोमी रेन्जका विभिन्न पेन्टहरू, इनामेल, र अन्य औद्योगिक रङहरू उत्पादन गर्दछ। केही प्रिमियम उत्पादनमा ७ देखि १२ वर्षसम्मको वारेन्टी समेत दिने गरेको छ।
कम्पनीको आर्थिक वर्ष २०८२/८३ पुससम्म प्रति सेयर आम्दानी ८.३७,प्रति सेयर नेटवर्थ ११८.४ रुपैयाँ छ। यस्तै, पुससम्म ९० लाख रुपैयाँ संचित नाफामा रहेको कम्पनीले जनाएको छ।