काठमाडौं। स्नो रिभर्स लिमिटेडले वैशाख २९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई वितरण गर्न लागेको हो।
स्नो रिभर्सले ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँको बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर छुट्याएको छ। लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरमा १० देखि १ हजार कित्ता सेयरका लागि जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्।
स्नो रिभर्सले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर वितरण गरेको थियो। यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयर बाँडफाँट गरेको छ।
स्नो रिभर्सले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको छ।
कम्पनीले निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
स्नो रिभर्स कम्पनीले संचालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल छ।
आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.९८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.४६ रुपैयाँ छ। यस्तै, संचित मुनाफा ५ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।