काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट परम्परागतभन्दा भिन्न र परिणाममुखी बनाउने तयारी थालेका छन्।
उनले नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने गरी बजेट ल्याउनका लागि प्रत्येक मन्त्रालयसँग कम्तीमा दुई वा तीनवटा ‘फ्ल्यागसिप’ कार्यक्रम मागेका छन्।
स्रोतका अनुसार धेरै आयोजनामा बजेट छर्ने तर एउटै पनि समयमा नसकिने बेथिति अन्त्य गर्न अर्थमन्त्रीले फ्ल्यागसिप कार्यक्रम मागेका हुन्। यस्ता कार्यक्रम आफ्नो र सरकारको मानकको रुपमा रहने तथा बजेट कार्यान्वयन र अर्थतन्त्रका लागि पनि प्रभावकारी हुने अर्थमन्त्रीको बुझाइ छ। उनी ससाना योजना बजेटमा समावेश गर्ने पक्षमा छैनन्।
अर्थमन्त्री वाग्लेले प्रत्येक मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रभावकारी, रोजगारी सिर्जना गर्ने र पुँजी निर्माणमा सघाउ पुर्याउने ठूला कार्यक्रम पहिचान गर्न भनेका छन्।
‘नवीन र रूपान्तरणकारी योजना ल्याउन आग्रह गरेका छौं। कम्तीमा परम्परागत शैलीभन्दा भिन्न र प्रभावकारी योजना ल्याउने अर्थमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो।
यस्ता कार्यक्रम निश्चित समयभित्रै सम्पन्न हुने ग्यारेन्टी पनि मन्त्री वाग्लेले खोजेका छन्। ‘३-५ वर्षभित्र सकिने प्रभावकारी कार्यक्रम र योजना सम्बन्धित मन्त्रालयबाटै पेस होउन् भन्ने अर्थमन्त्रीको बुझाइ छ,’ स्रोतले भन्यो।
अर्थमन्त्री वाग्लेले बजेट संख्यात्मकभन्दा गुणात्मक फड्को मार्ने लक्ष्यको हुनुपर्ने बताउने गरेका छन्।
‘सयौं साना योजना होइन, सरकारको पहिचान झल्काउने र अर्थतन्त्रमा ब्रेक थ्रु गर्ने विशेष कार्यक्रम चाहिएको छ,’ अर्थमन्त्रीको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो, ‘बजेटको आकारभन्दा पनि त्यसको प्रभावकारिता मुख्य विषय हो। प्रत्येक कार्यक्रमले अर्थतन्त्रलाई हिट गर्नुपर्यो।’

अर्थमन्त्री वाग्लेले ७ गते सबै मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर बजेटबारे छलफल गरेका थिए।
अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न र आमनागरिकमा आशा जगाउन आगामी बजेट ‘टर्निङ प्वाइन्ट’ बन्नुपर्ने अर्थमन्त्रीको भनाइ छ।
अर्थमन्त्रीको अवधारणा सुनेपछि मन्त्रालयहरू फ्ल्यागसिप कार्यक्रमको खोजीमा लागेका छन्। जबकि मन्त्रालयहरूले यसअघि नै आफ्ना योजना तथा कार्यक्रम अर्थ मन्त्रालयमा पेस गरिसकेका थिए।
भौतिक पूर्वाधार मन्त्रालय राष्ट्रिय गौरवका आयोजना वा रणनीतिक सडकलाई फ्ल्यागसिप बनाउने भन्ने छलफलमा जुटेको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै स्थानीय तहमा पुग्ने गरी आधारभूत सेवाका ठूला परियोजनालाई प्राथमिकतामा राख्ने तयारी थालिएको छ।
कृषि मन्त्रालयले उत्पादनदेखि बजारसम्मको एउटै अवधारणमा जोड्ने बृहत् आयोजना बनाउन थालेको स्रोतको भनाइ छ। ऊर्जा मन्त्रालयले प्रसारण लाइन र स्टोरेज आयोजनाजस्ता विषयलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको छ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आगामी बजेटमा योजनाको लामो सूची हुनेछैन। सीमित र प्रभावकारी योजना आउनेछन्। जसले अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
‘अब मन्त्रालयहरुबाट विशेष कार्यक्रम आएपछि वैशाख १५ सम्ममा मन्त्रालयगत योजना अन्तिम टुंगोमा पुर्याउने गरी काम हुनेछ,’ अर्थ स्रोतले भन्यो।
अहिलेसम्म बजेटमा आकर्षक कार्यक्रम ल्याउने तर कार्यान्वयनका क्रममा बजेट अभाव हुने समस्या दोहोरिंदै आएको छ। आगामी बजेटमा भने फ्ल्यागसिप कार्यक्रमका लागि पर्याप्त बजेट सुनिश्चित गरिनेछ। यस्ता कार्यक्रममा बजेटको कमी नहुने वचन अर्थमन्त्री वाग्लेले सबै मन्त्रीहरुलाई दिएका छन्।
अनुत्पादक क्षेत्रमा गएको रकम कटौती गर्दा, दोहोरिएका कार्यक्रम खारेज गर्दा र ससाना कार्यक्रम नराख्दा फ्ल्यागसिप कार्यक्रमका लागि स्रोत अभाव नहुने अर्थमन्त्री वाग्लेको बुझाइ छ। त्यस्तै प्रशासनिक र चालु खर्च घटाएर पुँजीगत खर्च बढाउने वाग्लेको तयारी छ।