काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष फास्ट ट्र्याकमा नियुक्त गरिने भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि फास्ट ट्र्याकमा नाम सिफारिस गर्ने भएको हो।
समिति सकेसम्म गभर्नर पदमा जस्तै फास्ट ट्रयाकमा सेबोन अध्यक्षको नाम सिफारिस गर्ने तयारीमा रहेको स्रोतले बतायो। ‘सेबोन अध्यक्षको नाम सिफारिसका लागि यसअघिजस्तो धेरै लामो समय लाग्दैन। इच्छुकहरुसँग आवेदन माग्नुका साथै विज्ञहरुलाई समितिले सिधै सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाउने तयारी छ,’ स्रोतले भन्यो।
सेबोन अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन दहाल सदस्य छन्।
सिफारिस समितिको बैठक भने बसेको छैन। तर समितिका तीन पदाधिकारीबीच अनौपचारिक छलफल भइसकेको छ। यसअघि सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया ११ महिनासम्म लम्बिएको पृष्ठभूमिमा समितिका पदाधिकारी यसपालि सक्दो चाँडो नाम सिफारिस गर्ने तयारीमा छन्।
‘अध्यक्षको नाम सिफारिसका लागि सकेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिको शैली अपनाउने तयारी छ। त्यो भएन भने पनि समिति आवेदन पेस गर्नका लागि धेरै दिन दिने पक्षमा छैन,’ स्रोतले भन्यो, ‘पहिला जस्तो व्यावसायिक कार्ययोजना माग्ने काम हुँदैन। तर सक्षम र योग्य तथा विवादमा नपरेकाको नाम सिफारिस हुन्छ।’
यसअघिका अध्यक्ष सन्तोषनारायण प्रक्रिया सुरु भएको ११ महिनामा सेबोन अध्यक्ष नियुक्त भएका थिए।
गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको नेतृत्वमा रहने समितिले सिधै नाम सिफारिस गर्छ। आवेदन माग्ने र अन्तर्वार्ता लिने अभ्यास छैन। समितिले एकजना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले त्यसकै आधारमा एकजनालाई गभर्नर नियुक्त गर्छ। विज्ञापन र अन्तर्वार्ताविना नियुक्त गरिए पनि अहिलेसम्म गभर्नरमा नियुक्ति पाएकाहरु विवादमा तानिएका छैनन्।
तर अन्तर्वार्ताका साथै कार्ययोजना प्रस्तुति गर्न लगाएर छानिएका सेबोनका अध्यक्ष भने एकपछि अर्को गरी विवादमा तानिंदै आएका छन्। बिचौलिया दीपक भट्टको चाहनामा अध्यक्ष बनेका सन्तोषनारायण आइपीओ अनुमतिका लागि कमिसन उठाउने डिल लगायत धेरैवटा विवादमा मुछिएका थिए।
उनलाई नियुक्ति दिलाउन मुख्य भूमिका निर्वाह गरेका भट्ट हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। भट्टसँगको कारोबारमा जोडिएका कारण सन्तोषनारायणले १७ महिनामै राजीनामा दिएका हुन्।
त्यसअघिका अध्यक्ष रमेश कुमार हमाल पनि विवादबाट टाढा रहन सकेनन्। उनीमाथि प्रिमियममा आइपीओ अनुमति दिंदा आर्थिक चलखेल गरेको आरोप छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
त्यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना सेयरमा गरेको चलखेलका कारण बर्खास्तगीमा परेका थिए।
धितोपत्र सम्बन्धी ऐनमा सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने व्यवस्था छ। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले ४ वर्षे कार्यकालका लागि १ जनालाई अध्यक्ष नियुक्त गर्नेछ।
ऐनमा सेबोन अध्यक्षका लागि स्नातकोत्तर हासिल गरेर धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ।।