काठमाडौं। बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्न चाहने कम्पनी थपिएका छन्। थप दुई कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गरेका छन्।
नेपाल चिया विकास निगम लिमिटेड र यति ब्रुअरी लिमिटेडले सम्झौता गरेसँगै बुक बिल्डिङमार्फत सेयर बिक्री गर्न चाहने कम्पनीको संख्या ७ पुगेको छ।
यसअघि नेप्सेसँग नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील र पूर्वाञ्चल ल्युब आयल लिमिटेडले बुक बिल्डिङमार्पत सेयर बिक्रीका लागि सम्झौता गरिसकेका छन्।
नेप्सेले बुक बिल्डिङमार्फत आइपीओ निष्कासनका लागि संस्थागत लगानीकर्तालाई सेयर संख्या निर्धारण गरेर शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता गरेको हो।
संस्थागत लगानीकर्ताका लागि नर्भिक हस्पिटलको ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्स र लक्ष्मी स्टीलको १८/१८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४ लाख ३४ हजार ६०० कित्ता तथा पूर्वाञ्चल ल्युब आयल लिमिटेडको ६ लाख कित्ता, नेपाल चिया विकास निगमको २ लाख ४० हजार कित्ता र यति ब्रुअरीको ८ लाख ६० हजार ८०० कित्ता सेयर छुट्याइएको छ।
नेप्सेसँग सम्झौता गरेका ७ कम्पनीले अब सेबोनमा निवेदन दिनेछन्। सेबोनबाट अनुमति पाएपछि ती ५ कम्पनीले बोलकबोलमार्फत संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्नेछन्।
कम्पनीले कुल निष्कासनको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने व्यवस्था छ। बोलकबोलमार्फत तय मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्छ।