BIZMANDU
www.bizmandu.com

रोमानियाको २,५०० वर्ष पुरानो सुनको मुकुट चोरीको १४ महिनापछि म्युजियममा सुरक्षित फिर्ता

२०८३ बैशाख ९

रोमानियाको २,५०० वर्ष पुरानो सुनको मुकुट चोरीको १४ महिनापछि म्युजियममा सुरक्षित फिर्ता
रोमानियाको २,५०० वर्ष पुरानो सुनको मुकुट चोरीको १४ महिनापछि म्युजियममा सुरक्षित फिर्ता


बुखारेस्ट(रोमानिया)। रोमानियाको २,५०० वर्ष पुरानो अमूल्य सुनको मुकुट (हेल्मेट) र ऐतिहासिक गहनाहरू एक वर्षभन्दा बढी समयपछि अन्ततः स्वदेश फर्किएका छन्। ड्रेन्ट म्युजियमबाट चोरी भएका यी धरोहरको फिर्तीले रोमानियामा राहत र खुशी ल्याएको छ, साथै सांस्कृतिक सम्पदाको सुरक्षाप्रति गम्भीर प्रश्न पनि उठाएको छ।

Tata
GBIME

रोमानियाको ऐतिहासिक धरोहर मानिने ‘कोटोफेनेस्ती मुकुट’ र तीनवटा सुनका बाला सन् २०२५ जनवरीमा नेदरल्याण्ड्सको ड्रेन्ट्स म्युजियमबाट चोरी भएका थिए। यो घटना कला जगतका लागि ठूलो झट्का थियो र रोमानियामा सार्वजनिक रूपमा गहिरो चिन्ता व्यक्त भएको थियो।

करिब १४ महिनासम्म अनुसन्धान, कूटनीतिक पहल र तीन जना अभियुक्तमाथिको मुद्दापछि अधिकांश सामग्री मंगलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइयो। त्यसपछि ती सामग्री कडा सुरक्षाबीच नेशनल हिस्ट्री म्युजियममा राखियो।

संग्रहालयका कार्यवाहक निर्देशक कोर्नेल कन्स्टान्टिन इलियेका अनुसार यी वस्तु केवल पुरातात्त्विक सामग्री मात्र होइनन्, रोमानियाको ऐतिहासिक पहिचान र सभ्यताको प्रतीक हुन्। उनले भने, ‘यो हाम्रो लागि खुसीको क्षण हो, तर साथसाथै गहिरो सोच्ने समय पनि हो। केही समय हामीले हाम्रो इतिहास हराउन सक्छ भन्ने डरमा बितायौं।’

रोबर्ट भ्यान लाङ्घ, ड्रेन्ट्स संग्रहालयका निर्देशकले पनि यसलाई भावनात्मक क्षण बताएका छन्। उनले भने, ‘यो चोरीले नेदरल्याण्ड्समा पनि प्रभाव पारेको थियो, तर रोमानियामा यसको असर अझ गहिरो थियो।’ डच अभियोजन पक्षले यसअघि नेदरल्याण्ड्सको एसेन शहरमा पत्रकार सम्मेलन गर्दै बरामद वस्तु सार्वजनिक गरेको थियो। तीनमध्ये एक सुनको बाला अझै फेला परेको छैन, तर खोजी जारी रहने जनाइएको छ।

हराइरहेका बेला हेल्मेटमा हल्का क्षति पुगेको भए पनि भेटिएका बालाहरू भने सुरक्षित अवस्थामा छन्।

रोमानियाका संस्कृति मन्त्री डेमेटर आन्द्रास इस्त्भानले यस घटनाले सांस्कृतिक सम्पदा र जनचेतनाबीचको सम्बन्ध कति गहिरो हुन्छ भन्ने देखाएको बताए। उनले भने, ‘यो घटनाले हाम्रो सम्पदा कति असुरक्षित हुन सक्छ भन्ने पनि सम्झाएको छ।’

चोरीको घटना अनुसन्धआनका बेला सुरक्षाकर्मीहरूले तीन जनाले ढोका फुटाएर विस्फोट गराएको धमिलो भिडियो पाएका थिए। मुकुट निकै चर्चित भएकाले बेच्न गाह्रो हुने भन्दै पगालिएको हुन सक्ने आशंका पनि गरिएको थियो।

अब यी वस्तुहरू बुखारेस्टमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिनेछ र पछि केही मर्मतसम्भार पनि गरिनेछ। संग्रहालयका अधिकारीका अनुसार यी वस्तुहरू केवल सुन्दर सामग्री मात्र होइनन्, एउटा कठिन यात्राको साक्षी पनि हुन्। (एपी)