विराटनगर। राष्ट्रियस्तरको तथ्यांकमा ह्रास देखिए पनि विराटनगर नाकाबाट भने चिनियाँ स्याउको आयात वृद्धि भएको छ।
विराटनगर नाकाबाट आयात गरेपछि मधेस प्रदेशसम्म पुर्याएर सिमाना कटाउन सजिलो हुने भएकाले विराटनगर स्याउ तस्करीको हब बन्दै गएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष चैतसम्म सबै नाका हुँदै ८ अर्ब २७ करोड मूल्यको ६ करोड ३ लाख ३५ हजार किलो चिनियाँ स्याउ आयात गरिएको छ। यो तथ्यांक गत आवको चैत मसान्त सम्मको भन्दा कम हो।
चालु आवको तुलनामा गत आवको सोही अवधिमा चिनियाँ स्याउको आयात धेरै थियो। सबै नाकाबाट ९ अर्ब ७४ करोड १६ लाख मूल्यको ७ करोड ९९ लाख किलो स्याउ भित्र्याइएको थियो।
देशव्यापीरुपमा आयात घट्दा विराटनगर नाकाबाट भने आयात बढेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्म विराटनगर नाकाबाट २ अर्ब ८७ करोड ५१ लाख मूल्यको २ करोड ११ लाख ३३ हजार किलो चिनियाँ स्याउ भित्र्याइएको छ। जबकि गत आवको सोही अवधिमा १ अर्ब १६ करोड १८ लाख मूल्यको ९७ लाख ४७ हजार किलो स्याउ आयात भएको तथ्यांक छ।
दश वर्ष अघिसम्म विराटनगरमा चाइनिज स्याउका आयातकर्ता एक जना विजय तोदी मात्र थिए। उनले ठूलो परिमाणमा आयात गरेको स्याउ पूर्वमा काँकडभिट्टादेखि पश्चिममा जनकपुर र नवलपरासी हुँदै भारतका विभिन्न सहरमा पुर्याइन्थ्यो।
यसबीच तोदीसँगै स्याउ खरिद गरेर यसको कारोबार गर्नेहरू नै आयातकर्ता हुन थाले। भारत-नेपाल दुबैतिरका नागरिक भएका पनि आयातमा संलग्न भएको पाइएका छन्।
विराटनगरमा मात्र एक दर्जनभन्दा बढी व्यवसायीले चिनियाँ स्याउ आयात गर्ने गरेका छन्। जानकारका अनुसार एक व्यवसायीले कम्तीमा १० वटा फर्मबाट काम गरेको देखिन्छ। व्यवसायी एकाएक बढेपछि स्याउको आयात पनि वृद्धि भएको हो।
व्यवसायी भन्छन्- आउँछ जान्छ
व्यवसायीले चिनियाँ स्याउको माग धेरै भएकाले नै विराटनगर नाकाबाट धेरै आयात भएको बताएका छन्। भन्सार नाकाबाट भित्र्याएपछि कोल्डस्टोरमा बढीमा ७ दिन राख्ने उनीहरूको भनाइ छ।
आयात गरेको एक हप्ताभित्रमा विक्री भइहाल्छ। कोशी र मधेस दुबै प्रदेशका नाकाबाट भारततर्फ अवैध निकासी हुने क्रम बढेको हुँदा आयातकर्ताले स्याउ धेरै दिन कोल्डस्टोरमा राख्नुपर्ने अवस्था छैन।
‘भन्सार छुटाएर ल्याएपछि एक हप्ताभित्र विक्री भइहाल्छ। कहाँ जान्छ हामीलाई के थाहा? तर विक्री नहुने समस्या छैन,’ एक आयातकर्ता दिलीप दासले भने।
विराटनगर नाकाबाट भित्र्याएको स्याउ सप्तरी, सिरहा हुँदै जनकपुरसम्म लगेर सीमा कटाइन्छ। विराटनगरका व्यवसायीले सप्तरी, जनकपुर र ढल्केवर सम्मका कोल्डस्टोरमा राखेर स्याउ भारत पठाउने गरेको पाइएको छ। यस वर्ष भने कोल्डस्टोरमा ७ दिनभन्दा बढी राख्नुपरेको छैन।
‘अहिले पनि दुई ट्रक स्याउ होला। व्यवसायी कसैले पनि धेरै दिन राखेका छैनन्। सात–आठ दिनमै विक्री भएर गइहाल्छ,’ सप्तरीको कञ्चनपुरस्थित सप्तकोशी कोल्ड स्टोरका सञ्चालक दीपक गुप्ताले बिजमाण्डूसँग भने।
विराटनगरमा स्याउ आयात गरेर भारत पठाउने मध्येका पायनियर मानिने विजय तोदी सरकारले आयातित स्याउ कहाँ जान्छ भनेर धेरै सोधीखोजी गर्न हुँदैन भन्न हिच्किचाउँदैनन्।
‘कहाँ जान्छ, सबैलाई थाहा छ। तर यसले राजस्व र भारु दुबैमा योगदान गरिरहेको छ। राजस्व तिरेर भित्रिएको सामानमा किन बढी कसैले चासो राखिरहनु?,’ तोदीले भने।
तोदीबाहेक विराटनगमा एकै परिवारका दिलीप दास, सुजित दास, लक्ष्मण दास र नागेन्द्र दास पनि चिनियाँ स्याउको आयातमा संलग्न छन्। उनीहरूले नागेन्द्र ट्रेडर्स, लक्ष्मण ट्रेडर्स, लक्ष्मी फुड्स लगायतका फर्मबाट आयात गर्ने गरेका छन्।
त्यस्तै विराटनगरकै एकै परिवारका अजय शाह र विजय शाह पनि ठुला आयातकर्तामा पर्छन्। यसबाहेक विजय चौधरी, उनका भाइ गोपी र छोरा राकेशले पनि ठुलो परिमाणमा आयात गर्छन्। उनीहरूको मुख्य व्यापारिक फर्म विजय फ्रुट्स हो।
तीन वर्षअघि विजय चौधरीले आयात गरेको स्याउ प्रहरीले विराटनगर नाकानेर समातेको थियो। त्यस बेला विजय तोदीले राजस्व अनुसन्धानमा भनसुन गरेर छुटाइदिएका थिए। मुकेश चौधरीले दिव्यानी इन्टरप्राइजेजबाट कारोबार गरिरहेका छन्।
भारतले बनाएन मुद्दा
भारतले तेस्रो मुलुकबाट नेपालमा विभिन्न वस्तु आयात गरेर आफूकहाँ अवैध रूपमा पुर्याउने गरेको विषयलाई बारम्बार उठाउँदै आएको छ।
दुई वर्षअघि चिनियाँ लसुन नेपाल हुँदै आफ्नो मुलुकमा ठूलो परिमाणमा पुगेपछि थालेपछि भारतले यसलाई मुद्दा बनाएको थियो। गत वर्ष अन्तरसरकारी बैठकमा भारतीय अधिकारीले चिनियाँ लसुन तस्करी भएर भारत पुर्याइने गरेको विषय उठाएका थिए।
त्यसैगरी नेपाली व्यवसायीले इन्डोनेसियाबाट ल्याएको सुपारी कहिले स्वदेशी उत्पादन भनेर भन्सार नाकाबाटै र धेरैजसो अवैधरूपमा भारतका विभिन्न स्थानमा पुर्याउने गरेको विषयलाई भारतीय पक्षले ठुलो मुद्दा बनाउने गरेको छ।
तर उनीहरू स्याउका विषयमा भने अहिलेसम्म मौन देखिन्छन्। अहिलेसम्मका कुनै पनि द्विपक्षीय बैठकमा लसुन र सुपारीको जसरी नै चिनियाँ स्याउको विषयले प्रवेश पाएको छैन।
नेपालमा माघदेखि चिनियाँ स्याउको आयात सुरु हुन्छ। र, यो क्रम भदौसम्म चल्छ। भदौ दोस्रो हप्तामा भारतमा त्यहीँको उत्पादनले बजार लिन्छ।
भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इन्डियाका अनुसार भारतमा स्याउको उत्पादन त्यहाँको आवश्यकताका तुलनामा २० देखि ३० प्रतिशत कमी हुन्छ। भारतमा बर्सेनि २४ देखि २६ लाख टन स्याउ उत्पादन हुन्छ। बाँकी आवश्यकताको पूर्ति वैध–अवैध आयातबाटै हुन्छ। नेपालका व्यवसायीले भारतको यही २० देखि ३० प्रतिशत कम उत्पादनको फाइदा उठाउने गर्छन्।
कडाइमा कमी छैन : डीआईजी घिमिरे
सरकारले सय रुपैयाँभन्दा बढीको सामान ल्याउन नपाइने भन्दै सीमा नाकामा कडाइ गर्दै आएको विषय चर्चित र विवादास्पद भइरहेको छ।
मुख्य सीमा नाकामा कडाइ गरिए पनि गाउँगाउँका ससाना नाका र दशगजा क्षेत्रबाट हुने अवैध ओसारपसार भने नियन्त्रणमा आउने सकेको छैन। त्यसैले स्याउको अवैध निकासी निर्वाध रूपमा भइरहेको हो।
तर कोशी प्रदेशका डिआइजी विनोद घिमिरेले प्रहरीले शून्य सहनशीलता अपनाएर नाकामा कडाइ गरिरहेको बताए।
‘हामीले हाम्रा तर्फबाट गर्नुपर्ने कडाइमा कुनै कसर बाँकी राखेका छैनौँ। हामी ल्याउने र लैजाने दुबै प्रकारका अनधिकृत कारोबारलाई कडाइ गरिरहेका छौँ। तर सबै प्रहरीले गराउँछ भन्ने रेडिमेड भनाइ पहिलेदेखि नै चलाइएको छ,’ डीआइजी घिमिरेले भने ।