आरएमएस टाइटानिक जहाज दुर्घटनाबाट बाँचेर निस्किँदा एक यात्रुले लगाएको लाइफ ज्याकेट इङ्ग्ल्यान्डमा भएको लिलामीमा ६ लाख ७० हजार पाउन्ड (करिब ९ लाख ६ हजार डलर) मा बिक्री भएको छ।
यो फ्लोटेसन डिभाइस पहिलो श्रेणीकी यात्रु लाउरा मेबेल फ्रान्काटेलीले लगाएकी थिइन्। उनले लाइफबोटमार्फत ज्यान जोगाएकी थिइन्। उक्त ज्याकेटमा उनीसहित सोही लाइफबोटका अन्य जीवित बचेकाहरूका हस्ताक्षर समेत रहेका छन्।
आरएमएस टाइटानिक दुर्घटनासन् १९१२ अप्रिल १५ मा उत्तर एट्लान्टिक महासागरमा, न्यूफाउन्डल्याण्ड नजिक भएको थियो। बेलायतबाट न्यूयोर्कतर्फ पहिलो यात्रामा निस्किएको विलासी जहाज राति चट्टानजस्तो विशाल हिउँसँग ठोक्कियो। ठक्करपछि जहाजको तल्लो भाग चिरिँदै पानी भरिन थाल्यो र केही घण्टामै डुब्यो। पर्याप्त लाइफबोट नहुँदा र उद्धार व्यवस्थामा कमजोरी हुँदा सवार यात्रु करिब २,२०० मध्ये झण्डै १,५०० जनाको मृत्यु भयो। विभिन्न वर्गका यात्रु सवार यो दुर्घटना मानवीय त्रासदी सम्झाउने स्मरणीय रूपमा आजसम्म विश्वचर्चित छ।
प्रसिद्ध फिल्म ‘टाइटानिक’ यही वास्तविक घटनामा आधारित हो। निर्देशक जेम्स क्यामरोनले १९१२ को फिल्म आरएमएस टाइटानिक जहाज दुर्घटनालाई पृष्ठभूमि बनाएर कथा तयार गरेका हुन्। फिल्ममा देखाइने जहाज डुब्ने घटना, हिमशिलासँग ठोक्किने अवस्था, यात्रुहरूको भागदौड जस्ता धेरै कुरा वास्तविक इतिहाससँग मिल्छन्। तर मुख्य पात्रहरू ज्याक र रोज भने काल्पनिक हुन्, जसको प्रेमकथामार्फत दर्शकलाई भावनात्मक रूपमा जोडिएको छ। यसैले फिल्म आधा वास्तविक घटनामा आधारित छ र आधा कथात्मक प्रस्तुति हो।
उक्त जहाजसँग सम्बन्धित वस्तुहरू यसअघि पनि बारम्बार लिलामी भएका छन्। सन् २०२४ मा उद्धार जहाज आरएमएस कार्पाथियाका कप्तान अर्थर रोस्ट्रनलाई दिइएको सुनको पकेट घडी करिब १५ लाख ६० हजार पाउन्डमा बिक्री भई अहिलेसम्मकै महँगो टाइटानिक सम्झनासामग्री बनेको थियो।
गत शनिबार इङ्ग्ल्यान्डको पश्चिमी क्षेत्र डेभाइजिसमा रहेको हेनरी एल्ड्रिज एण्ड सनले आयोजना गरेको टाइटानिकसँग सम्बन्धित सामग्रीहरूको लिलामीमा ‘लाइफ ज्याकेट’ प्रमुख आकर्षण बनेको थियो। पूर्वानुमान गरिएको २ लाख ५० हजारदेखि ३ लाख ५० हजार पाउन्डको मूल्यभन्दा निकै माथि पुगेर अज्ञात टेलिफोन बोलपत्रकर्ताले यसलाई किनेका हुन्।
उही लिलामीमा टाइटानिकको लाइफबोटको एउटा सिट कुशन पनि ३ लाख ९० हजार पाउन्ड (करिब ५ लाख २७ हजार डलर) मा बिक्री भयो। यसलाई अमेरिकाको टेनेसीको पिजन फोर्ज र मिसौरीको ब्रान्सनमा रहेका दुई टाइटानिक सङ्ग्रहालयका मालिकहरूले खरिद गरेका छन्। यी मूल्यहरूमा ‘बायर्स प्रिमियम’ भनिने लिलामी शुल्क समेत समावेश छन्।
लिलामीकर्ता एन्ड्र्यु एल्ड्रिजले भने, ‘यी रेकर्ड तोड्ने मूल्यहरूले टाइटानिकको कथाप्रति निरन्तर रहेको चासो र यात्रु तथा चालकदलप्रति देखाइने सम्मानलाई झल्काउँछन्।’
नडुब्ने दाबीसहित संसारकै सर्वाधिक विलासी समुद्री जहाजका रूपमा चिनिएको ‘टाइटानिक’ आफ्नो पहिलो यात्रा क्रममा इङ्ग्ल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा दुर्घटनामा परेको थियो। सन् १९१२ अप्रिल १५ मा केही घण्टामै डुबेको थियो। टाइटानिक आजसम्म पनि विश्वभर चासोको विषय छ।
फ्रान्काटेली आफ्नी रोजगारदाता, फेसन डिजाइनर लुसी डफ गोर्डन र उनका पति कोस्मो डफ गोरडनसँग यात्रा गरिरहेकी थिइन्। उनीहरू तीनै जना लाइफबोट नम्बर १ बाट बाँच्न सफल भएका थिए। उक्त लाइफबोटमा ४० जनाको क्षमता भए पनि केवल १२ जना मात्र राखिएको थियो। चिसो पानीमा परेका अन्य यात्रुहरूलाई उद्धार नगरेको विषयमा त्यसबेला ठूलो विवाद भएको थियो।
टाइटानिकसँग सम्बन्धित सामग्रीमध्ये अहिलेसम्मको सबैभन्दा महँगो लिलामी मूल्य भने २०२४ मा १५ लाख ६० हजार पाउन्ड (त्यतिबेला करिब २० लाख डलर) तिर्दै किनिएको सुनको पकेट घडी हो। यो घडी टाइटानिकका करिब ७०० जीवित यात्रुलाई उद्धार गर्ने जहाज आरएमएस कार्पाथियाका कप्तानलाई दिइएको थियो।