काठमाडौं। कालिञ्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सेयर सोमबार बाँडफाँट गरेको हो।
कम्पनीको सेयरका लागि २७ लाख ८४ हजार ५१९ आवेदन परेकामा ६८ हजार ४७५ जनाले १० कित्ताका दरले पाएका छन्।
हाइड्रोपावरले गत चैत २२ गतेदेखि २५ गतेसम्म अंकित मूल्य १०० रुपैयाँ दरमा ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयरका लागि आवेदन मागेको थियो।
लगानीकर्ताले सीडीएससीको वेबसाइट र मेरो सेयरबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
हाइड्रोपावरले आइपीओ निष्कासन गर्न गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
कालिञ्चोकले संचालन गरेको ५ मेगावाटको साँघु खोला जलविद्युत आयोजनाको कूल लागत १ अर्ब २० करोड रुपैयाँ छ। आयोजनाको प्रति मेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ।
गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ १०६.६५ रुपैयाँ र प्रति सेयर आम्दानी १.४६ रुपैयाँ छ। यस्तै, सञ्चित नाफा २ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ।