BIZMANDU
www.bizmandu.com

बालेनलाई लाख बढी लाइक आउँदा ट्रम्प हजारमा सीमित, नेपालीहरु किन झुम्मिन्छन् सामाजिक संजालमा?

२०८३ बैशाख ६

बालेनलाई लाख बढी लाइक आउँदा ट्रम्प हजारमा सीमित, नेपालीहरु किन झुम्मिन्छन् सामाजिक संजालमा?
बालेनलाई लाख बढी लाइक आउँदा ट्रम्प हजारमा सीमित, नेपालीहरु किन झुम्मिन्छन् सामाजिक संजालमा?


काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो दिन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले फेसबुकमा शुभकामना सन्देश पोस्ट गरे। केही मिनेटमै उक्त पोस्टमा लाइक, कमेन्ट र सेयर ओइरियो। उक्त पोस्टमा आइतबार मध्याह्न १२ बजेसम्म साढे ५ लाखभन्दा बढी लाइक र ७५ हजार बढी कमेन्ट्स आएको छ। उक्त पोस्ट साढे ३ हजार ५०० सेयर भएको छ।

Tata
GBIME

ठ्याक्कै त्यही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड्सका राजा र रानीलाई स्वागत गरेको भिडियो पोस्ट गरेका थिए। तर, विश्वकै शक्तिशाली नेताको पोस्टमा आइतबार मध्याह्न १२ बजेसम्म ८६ हजार लाइक, साढे ९ हजार बढी कमेन्ट र २ हजार ५०० सेयर भयो। जबकि ट्रम्पको पोस्टमा नेपालीहरुले समेत कमेन्ट गर्न भ्याएका छन्।

शक्ति, भूगोल, जनसंख्या, प्रविधि र साक्षरताको पहुँचमा अमेरिका नेपालभन्दा कैयौं गुणा अगाडि छ। तर, राज्यकै नजरमा एउटा सानो ‘बफर स्टेट’ नेपालका प्रधानमन्त्रीको फेसबुक ‘इन्गेजमेन्ट’ले ह्वाइट हाउसलाई समेत माथ खुवाइरहेको छ।

आइतबार मध्याह्न १२ सम्म बालेन र ट्रम्पको पोस्टमा देखिएको इन्गेजमेन्ट

सामाजिक संजालका सक्रिय प्रयोगकर्ता करिब डेढ करोड

नेपालमा इन्टरनेटको घनत्व करिब १४४ प्रतिशत पुगिसकेको छ। कुल जनसंख्याको करिब ५० प्रतिशत अर्थात् १ करोड ४८ लाख मानिस सामाजिक संजालका ‘एक्टिभ युजर्स’ हुन्। औसतमा एक नेपालीले दिनमा औसतमा करिब ३ घण्टा भन्दा बढी समय सोसल मिडियामा बिताउने गरेको विज्ञ बताउँछन्। यो समय विकसित देशको तुलनामा निकै बढी हो।

अमेरिकामा औसतमा एक दिनमा एकजनाले २ घण्टा १६ मिनेट सोसल मिडियामा बिताउने गरेको पाइन्छ। त्यस्तै, बेलायतमा १ घण्टा ३७ मिनेट बिताइन्छ। भारतमा भने नेपालकै जस्तै एक जनाले औसतमा ३ घण्टाभन्दा बढी समय सामाजिक संजालमा बिताउने गरेका छन्। सबैभन्दा बढी समय सामाजिक संजालमा दिने देशमा अहिले केन्या छ

कुन देशमा मानिसहरु कति समय सामाजिक संजाल चलाउँछन् ? धेरै चलाउने देशहरु:

केन्यामा एक दिनमा करिब ४ घण्टा १३ मिनेट मानिसहरु सामाजिक संजालमा बिताउँछन्। यसरी धेरै सामाजिक संजाल चलाउनेमा अफ्रिकी र दक्षिण अमेरिकी देशहरु छन्। त्यसपछि एसियाका देशहरु आउने गर्छ।

केन्यामा ’मोबाइल फर्स्ट’ इन्टरनेट पहुँचका कारण धेरैजसो मानिस सामाजिक संजालको लतमा छन्। त्यस्तै, इन्टरनेट प्रयोगका लागि प्राथमिक माध्यमको रुपमा मोबाइलको प्रयोग गरिन्छ। साथै, युवा र उच्च प्रविधिमैत्री जनसंख्या भएका कारण पनि यो तथ्यांक अघि आएको हो। त्यससँगै प्रविधिसँग नजिक रहेका र इन्टरनेटको माध्यमबाट एकअर्कासँग जोडिएका युवाहरूको ठूलो हिस्सा केन्यामा हुँदा त्यसको सिधा असर सामाजिक संजालको प्रयोगमा देखिएको हो। केन्याका ती कारणहरु नेपालभन्दा फरक छैनन्।

नेपालमा १८ देखि ३४ वर्षको युवा उमेर समूह सबैभन्दा बढी सामाजिक संजालमा सक्रिय छन्। मोबाइलबाट इन्टरनेटको प्रयोग गर्ने जनसंख्या नेपालमा उच्च छ। तर, विज्ञहरुका अनुसार नेपालमा सामाजिक संजालको प्रयोग केवल सूचना लिनमा मात्र सीमित छैनन्।

सामाजिक संजाल विज्ञ रवि सिंघलका अनुसार नेपालीहरुको ‘डिजिटल एक्टिभ’ रहने बानी विकसित देशका नागरिकको तुलनामा निकै भिन्न र लत उन्मुख देखिन्छ।

उनका अनुसार नेपालमा १८ देखि ३४ वर्षका युवाहरुले औसतमा ३ घण्टाभन्दा बढी समय फेसबुक र टिकटकमा बिताइरहेका छन्। रहरले भिडियो हाल्नेहरू लाखौं भए पनि यसलाई व्यावसायिक बनाएर कमाउनेहरू भने १ प्रतिशतभन्दा पनि कम छन्। हालै मात्र प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै १ करोड ५६ लाख रुपैयाँ सामाजिक संजालबाट कमाएको उल्लेख गरेका थिए। यससँगै नेपालमा सामाजिक संजालबाटै धेरै कमाउन सकिन्छ भन्ने अर्को भाष्य ‘भाइरल’ भइरहेको छ।

सिंघल भन्छन्, ‘चीनमा मानिसहरु दिनको दुई घण्टा चलाउँछन्, तर उनीहरु फेसबुक वा युट्युब होइन। आफ्नै देशका विच्याट जस्ता एपहरुमा सक्रिय हुन्छन्।’ सूचना आदान प्रदानदेखि व्यापार व्यवसाय र अनुसन्धानसम्मको काममा चीनले आफ्नै सामाजिक संजाल प्रयोग गर्ने गर्छ।

नेपालमा भने दृश्य फरक छ। यहाँ प्रविधिको प्रयोग मनोरञ्जन र भावना साटासाटमा बढी र उत्पादनमूलक काममा कम भइरहेको विज्ञहरु बताउँछन्।

तलको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ। स्ट्याट काउन्टरका अनुसार नेपालमा ९० प्रतिशतभन्दा बढी प्रयोगकर्ताले धेरै चलाउने सामाजिक संजाल भनेकै फेसबुक हो।

एक्सटेन आईटीका प्रबन्ध निर्देशक दीपक पौडेल भन्छन्, ‘नेपालमा युवा जनसंख्या बढी भएकाले भावनात्मक प्रतिक्रिया छिटो देखिन्छ। तर, उनीहरूलाई सोसल मिडियामा के हेर्ने र कसरी प्रतिक्रिया दिने भन्ने सही ज्ञान (डिजिटल साक्षरता) को अभाव छ।’

बालेन शाहले मातातीर्थ औंसीको दिन आमाहरुको दीर्घायु कामना गरिएको पोस्टमा २० मिनेटमै ८७ हजार लाइक आउनुले नेपालीहरुको ‘भावनात्मकता’लाई झल्काउँछ। अहिलेसम्म सो पोस्टमा ५ लाख बढी लाइक, ३८ हजार बढी कमेन्ट र ४ हजार बढी सेयर छ। त्यसभन्दा एक दिन अघि ट्रम्पले ट्रम्पियल आर्कको २५० औं वर्षको सिलसिलामा गरेको अर्को एक पोस्टमा आजसम्म ७१ हजार लाइक, २६ हजार कमेन्ट र २ हजार बढी सेयर मात्र छ। यी त उदाहरण मात्रै हुन्।

भावनात्मक रुपमा नेपालीहरु सामाजिक संजालमा ‘इन्गेज’ हुँदा त्यससँगै देखिँदैछ डरलाग्दो पाटो पनि। सामाजिक संजालको उत्साह कहिलेकाहीँ व्यक्तिगत गालीगलौज र साइबर बुलिङमा समेत परिणत हुने गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ पर्दा भएको विरोधमा सहभागी युवतीलाई लिएर होस् या संसद्मा सांसदहरुको हाउभाउलाई लिएर होस्, सामाजिक संजालमा कमेन्ट र लाइक गर्नेहरुको ओइरो लागेको देखिन्छ।

‘विकसित देशमा मानिसहरु विचारसँग असहमत हुन्छन् तर व्यक्तिलाई आक्रमण गर्दैनन्,’ पौडेल थप्छन्, ‘नेपालमा भने पहिचान लुकाउन मिल्ने सुविधाको दुरुपयोग र राजनीतिक निराशाका कारण बहसहरू तर्कबाट मोडिएर गालीगलौजमा उत्रिने गरेका छन्।’

त्यसैले अहिले धेरै युवा युवतीहरु छद्म नाममासमेत सामाजिक संजाल चलाएर आफ्ना विचार र कथाहरु सुनाइरहेका छन्। रेडिट, डिस्कर्ड जस्ता प्लेटफर्म यसका लागि प्रयोग भइरहेको छ।

दक्षिण एसियामा सोसल मिडिया प्रयोगकर्ताको अवस्था

दक्षिण एसियाकै कुरा गर्ने हो भने भारतभन्दा नेपालमा धेरै इन्टरनेट पेनिट्रेन्स रहेको पनि देखिन्छ। यो क्षेत्रमा ‘अल्गोरिदम’ले आफ्नो भाष्य ‘सेट’ गरिरहेको पछिल्लो समयको राजनीतिक परिवर्तनहरुबाट पनि देखिँदै आइरहेको छ।

‘अल्गोरिदम’ले प्रयोगकर्तालाई उनीहरुको रुचिअनुसारका सामग्री मात्र देखाउँछ। यसलाई प्राविधिक भाषामा ‘फिल्टर बबल’ भनिन्छ। यसले गर्दा मानिसहरूले आफूलाई मन पर्ने नेता वा विचार मात्र देख्छन्, जसले समाजमा वैचारिक ध्रुवीकरण बढाइरहेको विभिन्न अध्ययनहरुले देखाएको छ। त्यससँगै ‘फ्याक्ट चेकिङ’ गर्ने प्रणाली कमजोर हुँदा अफवाहहरु डढेलोझैँ फैलिने गरेका छन्।

सामाजिक संजालको अत्यधिक प्रयोगले नेपालमा विद्यालय जाने बालबालिकाहरुमा समेत ’एन्जाइटी’ बढाइरहेको र त्यसले उनीहरुमा उत्पादकत्व घटाएको प्रति अध्ययनहरुले सचेत पनि गराएका छन्।

यति हुँदाहुँदै पनि विज्ञहरू सामाजिक संजाललाई मात्रै विकासको बाधक मान्न तयार छैनन्।

यदि सरकारले डिजिटल साक्षरतालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने र प्लेटफर्महरूलाई उत्तरदायी बनाउने हो भने यही ’डिजिटल शक्ति’लाई देशको आर्थिक र शैक्षिक विकासमा प्रयोग गर्न सकिने उनीहरु बताउँछन्।