BIZMANDU
www.bizmandu.com

दीपक भट्ट र साहिल-सुलभ अग्रवालमाथि बैंकिङ कसूरमा पनि अनुसन्धान, ऋण दुरुपयोग गरेको भेटियो

२०८३ बैशाख ६

दीपक भट्ट र साहिल-सुलभ अग्रवालमाथि बैंकिङ कसूरमा पनि अनुसन्धान, ऋण दुरुपयोग गरेको भेटियो
दीपक भट्ट र साहिल-सुलभ अग्रवालमाथि बैंकिङ कसूरमा पनि अनुसन्धान, ऋण दुरुपयोग गरेको भेटियो

काठमाडौं। सम्पत्ति शुद्धीकरण प्रकरणमा हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवालका साथै साहिल अग्रवालमाथि ऋण अपचलनमा पनि अनुसन्धान सुरु भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ऋण अपचलनको विषयमा भट्ट, सुलभ र साहिलमाथि अनुसन्धान थालेको हो।

जगदम्बा स्टीलका नाममा लिएको ऋणमध्ये १५ करोड रुपैयाँ भट्टलाई प्रयोजनबिनै भुक्तानी गरिएको भेटिएको छ। त्यो पैसा भट्टले विभिन्न बैंकहरुमा लगेर हिमालयन रि इन्स्योरेन्सको सेयर किन्न प्रयोग गरेको भेटिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक र सुलभलाई दुई सातादेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरुले विभिन्न पाँच ‘पब्लिक लिमिटेड’ कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ निकालेर आफ्नो नाममा सेयर किनेको विषयमा अनुसन्धान चलिरहेको हो।

विभागको पत्रका आधारमा सीआइबीले हिमालयन रि इन्स्योरेन्सको सेयर लगानीका बारेमा अनुसन्धान सुरु गरेको थियो। त्यही क्रममा सीआइबीले नेपाल राष्ट्र बैंकको सहयोग लिएको छ।

जगदम्बा स्टीलले ऋण लिएको पैसामध्ये १५ करोड रुपैयाँ सिद्धार्थ बैंकमा भट्टको खाता पठाइएको छ। त्यो पैसा भट्टले अरु बैंकहरुमा पठाएका छन्।

जगदम्बा स्टील साहिलको नाममा छ। ऋण लिँदाको समयमा हिमालयन रि इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र दीपक वंशल सञ्चालक थिए।

जगदम्बा स्टीलका नाममा लिएको ऋण भट्टको खातामा गएको विषयमा सीआइबीले राष्ट्र बैंकलाई ‘यो ऋण दुरुपयोग हो कि होइन’ भनेर सोधेको थियो। झण्डै एक महिना अगाडि सोधिएको प्रश्नमा राष्ट्र बैंकले त्यस बारेमा अनुसन्धान गर्न सुपरिवेक्षण टोली नै  खटाएको स्रोतको दाबी छ।

‘हामीलाई राष्ट्र बैंकले प्रस्ट रुपमै ऋण दुरुपयोग भएको छ भनेर प्रतिवेदन पठाएको छ,’ सीआइबी स्रोतले भन्यो।

स्रोतका अनुसार बिना प्रयोजन ऋणको पैसा तेस्रो पक्षलाई भुक्तानी गर्न मिल्दैन। विगतमा पनि यसरी दुरुपयोग भएको विषयमा बैंकिङ कसूर ऐन अनुसार कारबाही गरिएका उदाहरण छन्।

सीआइबी स्रोतका अनुसार राष्ट्र बैंकको प्रतिवेदनका आधारमा थप अनुसन्धान गरेर ब‍ैंकिङ कसूर ऐन अनुसार मुद्दा लैजाने तयारी छ।

यो १५ करोडबाहेक अन्य ऋणका बारेमा पनि अनुसन्धान भइरहेको छ।

हिमालयन रि इन्स्योरेन्सको सेयर किन्नका लागि अरु ऋण पनि दुरुपयोग भएको छ। त्यसको अनुसन्धान प्रतिवेदन तयार भइसकेको छ।

भट्ट, सुलभ, साहिल सहितका व्यवसायीहरुले सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसूर, धितोपत्र कसूर, बीमा कसूर र ठगीमाथि अनुसन्धान भइरहेको छ। 

सम्बन्धित कसुरमाथि अनुसन्धान गर्ने निकायहरुले सम्पति शुद्धीकरण विभागका साथै सीआइबीमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाइसकेका छन्। 

नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लगायतले प्रतिवेदन बुझाइसकेका हुन्। त्यसलाई समेत आधार मानेर सीआइबी र विभागले उनीहरुमाथि मुद्दा दायर गर्ने तयारी गरिरहेका छन्।

‘दीपक-सुलभ संलग्न भएको जुन फाइल खोल्यो, ती सबैमा समस्या देखिएको छ। एउटा-दुईटा होइन, हरेकमा समस्या छ,’ उच्च स्रोतले भन्यो, ‘अब लगभग अनुसन्धान सकिएको छ। केही दिनमै मुद्दा लैजान्छौं।’