गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलबाट सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो।
यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार निगमले उडान तालिका थपसँगै भाडादर पनि बढाएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए। नयाँ लागू गरिएको भाडादर काठमाडौंबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ भएको छ।
यसअघि काठमाडौंबाट रेसुंगाका लागि ७ हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० रुपैयाँ भाडादर थियो। प्रमुख थापाका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ। वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा उडान सञ्चालन हुँदै आएको छ।
नेपाल वायुसेवा निगमले यो रुटमा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट सेवा दिँदै आएको छ। काठमाडौंबाट आइतबार बिहान ८:०५ बजे र रेसुंगाबाट बिहान ९:०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट बिहान ६:१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७:१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए।
दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ। यो रुटमा हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा आउजाउ गर्न सकिन्छ। गुल्मीमा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको हो। रासस