BIZMANDU
www.bizmandu.com

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न: साबिक विजेता निरजलाई उपाधि

२०८३ बैशाख ४

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न: साबिक विजेता निरजलाई उपाधि
सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्न: साबिक विजेता निरजलाई उपाधि

काठमाडौं। साबिक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। उनको यो करियरको पाँचौं उपाधि हो।

Tata
GBIME
Nepal Life

लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका हुन्। जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले निरजलाई उछिन्न सकेनन्। नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए। १८औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए। यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२औं होलमा इगल प्रहार गर्दै निरजले पुन: ५ होलको अग्रता बनाए।

५-० ले पछि परेका टंकले २३औं, २४औं र २५औं होल जित्दै अग्रता २ होलमा घटाए। यसपछि ३३औं होल निरजले जिते भने ३४औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३/२ को जितका साथ उपाधि रक्षा गरे।

टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके। टंकले ७५ हजार हात पारे। छेटौं वरियताका रवि खड्का तेस्रो भए।  उनले चौथो वरियताका सञ्जय लामालाई ३/१ ले हराए। तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो।

क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे।‌ पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे।