BIZMANDU
www.bizmandu.com

अमेरिकी कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्दै, रातो प्लेटको गाडी चलाउन पाउला ?

२०८३ बैशाख ४

अमेरिकी कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्दै, रातो प्लेटको गाडी चलाउन पाउला ?
Aachen, Germany September 2019: Uber driver holding his smartphone in car. Uber is an American company offering different online transportation services

काठमाडौं । अमेरिकी राइड सेयरिङ कम्पनी उबरले नेपालमा व्यवसाय सुरु गर्ने भएको छ। विगत केही वर्षदेखि नेपालको राइड सेयरिङ व्यवसायलाई नजिकबाट हेरिरहेको उबरले बालेन्द्र शाह प्रधानमन्त्री भएर आएसँगै सेवा सुरु गर्ने निर्णयमा पुगेको हो।

Tata
GBIME
Nepal Life

उच्च स्रोतका अनुसार एक महिनाभित्र सेवा संचालनमा ल्याउने उद्देश्यसहित कम्पनीले सरोकारवालासँग छलफल गरिसकेको छ।

‘कम्पनीले नेपालको बजारका बारेमा अध्ययन गरिरहेको थियो। उपयुक्त समयको खोजी गरिरहेका बेला दुई तिहाई नजिकको सरकार आएपछि कम्पनीले सेवा सुरु गर्न तयार देखिएको हो,’ स्रोतले भन्यो, ‘त्यसमा पनि युवा प्रधानमन्त्री र मन्त्रिपरिषदमा राइड सेयरिङको महत्व बुझेकाहरु आएकाले पनि सजिलो हुने निष्कर्षमा कम्पनी पुगेको देखिएको हो।’

स्रोतका अनुसार कम्पनीको नेपाल प्रतिनिधि वैदेहीले पठाओ, इन्ड्राइभ र याङ्गोसँग काम गरिरहेका कम्पनीका प्रतिनिधिसँग छलफल गरेकी थिइन्। त्यो छलफलमा एक महिनाभित्र सेवा संचालनमा ल्याउने र उबरमा जोडिएर व्यवसाय अघि बढाउन प्रस्ताव समेत गरेको स्रोतले बतायो।

‘राम्रै प्रस्तावसहित उबरको प्रतिनिधि छलफलमा आउनुभएको थियो,’ छलफलमा सहभागी भएका एक कम्पनीका प्रतिनिधिले बिजमाण्डूसँग भने, ‘मार्केट स्याचुरेट भएकाले उबरसँग जोडिने की नजोडिने निर्णय गर्न सकिएको छैन।’

उबरले राइडरसँग पनि आफ्नो व्यवसाय सुरु गर्नेबारेमा छलफल गरिसकेको छ।

स्रोतका अनुसार सरकारी अधिकारीहरुसँग पनि उबरले व्यवसाय सुरु गर्नेबारेमा छलफल गरेर ‘ग्रीन सिंग्नल’ पाइसकेको छ। राइड सेयरिङ सम्बन्धी यातायात व्यवस्था नियमावलीमा संशोधन भएर निजीले समेत यात्रु बोक्न पाउने सुविधा दिने आश्वासन उबरले पाएको बताइएको छ। यो नियमावली एक महिनाभित्र संशोधन भएर आउने आश्वासन पाएको समेत स्रोतले बतायो।

गण्डकी प्रदेशले सवारी तथा यातायात व्यवस्था नियमावली २०८० पारित गर्दै निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ।

‘कुनै समस्या भएर कानुनी प्रक्रिया पूरा गर्न समय लागेमा भाडाका सवारी साधनबाट सुरु गर्ने मुडमा देखिएका छन्,’ ती प्रतिनिधिले भने।

उबर आएर रातो प्लेटले यात्रु बोक्न पाएमा परम्परागत रुपमा चलिरहेका ट्याक्सीको व्यापारमा भने गम्भीर धक्का लाग्नेछ। अहिले झण्डै १५ हजार भाडाका ट्याक्सी छन्।

राइड सेयरिङ व्यापारमा अहिले पठाओ मार्केट लिडर हो। यो बाहेक इन्ड्राइभ र याङ्गोले पनि ‘नेक टु नेक’ छन्। फूड डेलिभरीमा पठाओ नम्बर वान हो भने राइडमा इन्ड्राइभ र याङ्गो प्रतिस्पर्धामा छन्। ती प्रतिनिधिका अनुसार याङ्गोले बजारमा एक अर्ब रुपैयाँभन्दा बढी क्यास बर्न गरिसकेको छ।

अहिले दैनिक एक लाखले राइड सेयरिङ सेवा लिन्छन्। राइड सेयरिङको ठूलो बजार भनेको काठमाडौं उपत्यका हो। त्यो बाहेक पोखरा, चितवन, बुटवल लगायतका सहरहरुमा पनि पठाओको सेवा संचालनमा छ।

उबर आउँदा राइड सेयरिङको बजार थप प्रतिस्पर्धी हुन्छ। सन् २००९ मा स्थापित अमेरिकामा स्थापना भएको उबर क्यापले सन् २०१०बाट सान फ्रान्सिस्कोबाट सेवा सुरु गरेको थियो।

सन् २०११देखि विश्वबजारमा सेवा विस्तार थालेको यो कम्पनीको ७० देशका १५ हजारभन्दा बढी सहरमा सेवा दिइरहेको छ। उबरको सेवा दक्षिण एसियाली मुलुकु भारत, बंगलादेश, श्रीलंका छ।