BIZMANDU
www.bizmandu.com

बजारमा देखिन छोड्यो बर्डफ्लुको असर, खपत नघटेपछि बढ्न थाल्यो कुखुराको मासुको मूल्य

२०८३ बैशाख ३

बजारमा देखिन छोड्यो बर्डफ्लुको असर, खपत नघटेपछि बढ्न थाल्यो कुखुराको मासुको मूल्य
बजारमा देखिन छोड्यो बर्डफ्लुको असर, खपत नघटेपछि बढ्न थाल्यो कुखुराको मासुको मूल्य


काठमाडौं। कुखुरामा बर्डफ्लु भेटिएपछि बजारमा मासुको माग घट्ने गरेकामा यसपालि उल्टै बढेको छ। माग बढेकै कारण मासुको मूल्य पनि उकालो लागेको छ।

Tata
GBIME

जिउँदो कुखुराको होलसेल मूल्य प्रति केजी २८० रुपैयाँ पुगेको छ। व्यापारीले कुखुराको प्रति केजी मासु ४५० रुपैयाँमा बेचिरहेका छन्।

राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जगंबहादुर बेल्बासेले अघिल्ला वर्ष जस्तो यसपालि बजारमा बर्डफ्लुको असर नदेखिएको बताए।

‘विगतका वर्षमा बर्डफ्लुको हल्लाले बजारमा मासुको माग घट्ने गरेको थियो। माग घटेपछि मूल्य पनि घट्थ्यो। यो वर्ष मागमा कमी आएको छैन। त्यसैले गत सातादेखि भाउ बढिरहेको छ,’ उनले भने।

गत चैत पहिलो सातादेखि तराईका केही जिल्लामा बर्डफ्लु देखिएपछि ४ जिल्लामा कुखुरा, अण्डा र दाना नष्ट गरिएको थियो। पशु सेवा विभागका अनुसार तराईका ४ जिल्ला बाहेक अन्यत्र अहिले बर्डफ्लु देखिएको छैन।

भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले तराईका केही जिल्लामा देखिएको बर्डफ्लुले काठमाडौंको बजारमा कुनै प्रभाव नपरेको बताए। ‘हामीकहाँ मासुको मागमा कुनै असर परेको छैन,’ उनले भने।

कुनै समय बर्डफ्लु देखिनासाथ उपभोक्ताले कुखुराको मासु नै खान बन्द गर्ने गर्ने गरेका थिए। व्यवसायीले सिंत्तैमा दिंदा पनि उपभोक्ताले मासु लान मान्दैनथे। अहिले कुनै एक ठाउँमा बर्डफ्लु देखिएकै आधारमा आतंकित हुने स्थित छैन। त्यही कारण पनि कुखुराको मासुको बजार प्रभावित नभएको हो।

संघका अध्यक्ष बेल्बासेले तराईका केही जिल्लामा कुखुरा नष्ट गरिनुका साथै अहिले गर्मी मौसममा उत्पादन पनि घटेकाले मासुको मूल्य बढेको बताए।

‘बर्डफ्लु भेटिएका ठाउँका कुखुरा नष्ट गरिएको स्थिति छ। गर्मी मौसममा कुखुराको उत्पादन पनि घट्छ। त्यसैले अहिले मूल्य बढेको हो,’ उनले भने।

संघका अनुसार दैनिक ४ देखि साढे ४ लाख केजी मासु खपत हुने गरेको छ।