काठमाडौं। सोपान फर्मास्युटिकल्सले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारी रहेका श्रमिकलाई सेयर बिक्री गरेपछि दोस्रो चरणमा बिहीबारदेखि सर्वसाधारणलाई निष्कासन गरेको हो।
सर्वसाधारणलाई ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर छुट्याइएको छ। कम्पनीको आइपीओमा लगानीकर्ताले प्रति कित्ता १०० रुपैयाँ दरमा वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
सोपान फर्मास्युटिकल्सले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ९२.९५ रुपैयाँ र प्रति सेयर आम्दानी ०.७० रुपैयाँ छ। त्यस्तै, कम्पनीको जगेडा कोषमा ३३ करोड ८० लाख रुपैयाँ छ।