BIZMANDU
www.bizmandu.com

बिचौलिया भट्टको गैरकानुनी काममा सहयोग गर्ने इन्स्योरेन्सका सीइओ अनुसन्धानको राडारमा, को-को तानिँदैछन्?

२०८३ बैशाख २

बिचौलिया भट्टको गैरकानुनी काममा सहयोग गर्ने इन्स्योरेन्सका सीइओ अनुसन्धानको राडारमा, को-को तानिँदैछन्?
बिचौलिया भट्टको गैरकानुनी काममा सहयोग गर्ने इन्स्योरेन्सका सीइओ अनुसन्धानको राडारमा, को-को तानिँदैछन्?


काठमाडौं। पब्लिक कम्पनीको पैसा दुरुपयोग गरेर आफ्नो नाममा सेयर खरिद गर्न बिचौलिया दीपक भट्टलाई सहयोग पुर्‍याएका इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको राडारमा परेका छन्।

Tata
GBIME

विभागले भट्टलाई गैरकानुनी लाभ दिलाउने पब्लिक कम्पनीका सञ्चालक तथा सीइओमाथि समेत अनुसन्धान गरिरहेको छ। भट्टसँगको कारोबारमा जोडिएका कम्पनीका सञ्चालकसँग बयान लिएको विभागले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

भट्टले हिमालयन रि इन्स्योरेन्ससहित ५ कम्पनीबाट पैसा निकालेर आफ्नो नाममा सेयर किनेका थिए।

भट्टले नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए। भट्टले खरिद गरेको सेयर कारोबार विभागको पत्रपछि रोक्का राखिएको छ।

हिमालयन रि-इन्स्योरेन्स भट्टसहित उनका व्यावसायिक साझेदार समूहको लगानी रहेको कम्पनी हो। नेपाल रि-इन्स्योरेन्समा अहिले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल छिन्। पौडेल तिनै हुन्, जसले भट्टको लाभका लागि हुने हिमालयन रि-इन्स्योरेन्सबाट प्लेसमेन्ट गराउने गरी ५२ करोड रुपैयाँ भुक्तानी दिएकी थिइन्।

भट्टले सासुआमाको नाममा एलियन्ट ब्रोकर खोलेर हिमालयन रिबाट भुक्तानी लिएको रकम प्लेसमेन्ट गर्दै आफ्नो खातामा ल्याएका थिए। सरकारी बैंक समेतको लगानी रहेको पब्लिक कम्पनी हिमालयन रि-इन्स्योरेन्सको रकम दुरुपयोग गरेर प्लेसमेन्ट गराउने भट्टलाई उनै पौडेलले भुक्तानी दिएको खुल्यो।

सम्पत्ति शुद्धीकरणसँग जोडिएको यस गम्भीर वित्तीय अपराधमा भट्टलाई सहयोग पुर्‍याउने हिमालयन रिकी सिइओ पौडेल विभागको अनुसन्धानको राडारमा छिन्। कम्पनीबाट अध्यक्षसहित सञ्चालकहरूले राजीनामा दिएर बाहिरिँदा पौडेल पनि अनुसन्धानको केन्द्रमा छिन्।

हिमालयन रिका सञ्चालक साहिल अग्रवाल प्रहरीको फरार सूचीमा छन्। कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएपछि साधारण सभासम्मका लागि सञ्चालक समिति नै पुनर्गठन गरिएको छ।

गोल्छाको राजीनामापछि उदयकुमार निरौला अध्यक्ष बनेका छन्। साहिलको ठाउँमा दीपेन्द्र कुमार मिश्रलाई सञ्चालक बनाइएको छ।

कम्पनीमा रोहित गुप्ताको ठाउँमा पृथ्वीराज थापा आएका छन्। हिमालयन रिमात्रै होइन भट्ट र शंकर समूहकै लगानी रहेको हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजलाल कुमार कर्ण पनि अनुसन्धानमा तानिएका छन्।

कर्ण तिनै हुन्, जसले हिमालयन लाइफको लगानीमा सामूहिक लगानी कोष एचएलआई लार्ज क्यापको इकाई निष्कासन गराएर नेपाल रि-इन्स्योरेन्सको सेयर किन्न भट्टलाई सघाएका थिए। उनकै श्रीमती समेतको लगानी रहेको भृकुटी स्टक ब्रोकिङले बिना धितो भट्टलाई सेयर किनबेच गराएर अवैध लाभ दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि अहिले नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ब्रोकरलाई निलम्बन गरिसकेको छ।

हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवाललाई सीआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। भट्टसँगै सुलभ प्रहरीको हिरासतमा छन्। पब्लिक कम्पनीको रकम दुरुपयोग गर्ने सुलभ दीपकका बिजनेस पार्टनर हुन्।

नेपाल रिको सेयर खरिद गर्न हिमालयन रिबाट २ अर्ब ७३ करोड, यसको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड, एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाखभन्दा बढी रकम प्रयोग गरिएको थियो।

नेपाल माइक्रोसहितका ६ वटा माइक्रो इन्स्योरेन्स भट्टसहितका एकै समूहको लगानी रहेका कम्पनी हुन्। त्यसैले कम्पनीको रकम दुरुपयोग गरेर भट्टसहित अध्यक्षलाई गैरकानुनी भुक्तानीमा लाभ पुर्‍याउने इन्स्योरेन्सका सीइओ नै अनुसन्धानको राडारमा छन्।

नेपाल बीमा प्राधिकरणका अधिकृतहरू भट्ट र आफ्नै कम्पनीका सञ्चालकलाई लाभ पुर्‍याउन गैरकानुनी भुक्तानी गर्नेहरूमाथि अनुसन्धान भइरहेको बताउँछन्।

‘यससँग जोडिएका केही सीइओ तथा सञ्चालकहरूको बयान लिने र नजिकबाट अनुसन्धानको काम विभागले नै गरिरहेकाले हामीले मागेको विवरण बुझाउने काम गरिरहेका छौं,’ प्राधिकरण स्रोतले भन्यो।

भट्ट र उनको समूहको लगानी रहेका कम्पनी मात्रै होइन, सरकारकै लगानी रहेको नेपाल रि-इन्स्योरेन्सको रकम प्रयोग गरेर यही कम्पनीको सेयर खरिद गर्न लगाउने सीइओ सुरेन्द्र थापा समेत अनुसन्धानको राडारमा छन्।

नेपाल रिलाई कब्जा गर्ने रणनीति अनुसार बिचौलिया भट्ट र उनका साझेदार शंकर समूहको लगानी रहेको हिमालयन लाइफको हिमालयन लार्ज क्यापको नामबाट ४ अर्ब रुपैयाँ सार्वजनिक निष्कासनमार्फत उठाइयो।

हिमालयन इन्भेष्टर बैंकरलाई व्यवस्थापक बनाएर जारी गरिएको ४ अर्बको इकाईमध्ये ४० करोडको इकाई नेपाल रिलाई नै किन्न लगाइएको थियो। जसको काम सीइओ थापाले गरेका थिए।

इकाई बेचेर उठाइएको रकम नेपाल रिकै सेयर किन्न प्रयोग गरियो। थापाले नेपाल रि-इन्स्योरेन्सको एकपछि अर्को बिजनेस प्रतिस्पर्धी कम्पनी हिमालयन रिलाई सुम्पिएका मात्रै छैनन्, मोटर बीमामा थर्ड पार्टी इन्स्योरेन्सको नामबाट १६ करोड २३ लाख रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी नै दिइएको पाइएको छ।