BIZMANDU
www.bizmandu.com

२०८३ सालमा तयार हुनेछन् यी राजमार्ग, धुलो, हिलो र जाम हट्नेछ, युरोपको ‘फिल’ दिनेछ

२०८३ बैशाख १

२०८३ सालमा तयार हुनेछन् यी राजमार्ग, धुलो, हिलो र जाम हट्नेछ, युरोपको ‘फिल’ दिनेछ
२०८३ सालमा तयार हुनेछन् यी राजमार्ग, धुलो, हिलो र जाम हट्नेछ, युरोपको ‘फिल’ दिनेछ

काठमाडौं। अहिले तयार भएको मुग्लिन-पोखरा सडकमा तपाइलाई पुग्ने बितिकै कस्तो लाग्छ- कतै म युरोपका सडकमा त छैन?

Tata
GBIME
Nepal Life

अहिले मुग्लिन-पोखरा सडकमा यात्रा गर्दा धेरैलाई अनुभव यही नै हुन्छ। युरोपतिर गए जस्तो आभास। यो परिवर्तनको आभास मात्र होइन, पूर्वाधार विकासको एउटा कोशेढुंगा हो।

वर्षौंदेखि सडक यात्रा भन्नु नै धुलो, हिलो र घण्टौ जामको पर्याय थियो। तर, यो वर्ष नेपाली सडक पूर्वाधारमा मुग्लिन-पोखरा सडक जस्तै एउटा यस्तो क्रान्ति आउँदैछ, जसले हाम्रा ती नमीठा भोगाइ र सडक यात्राप्रतिको दृष्टिकोणलाई पूर्णतः बदल्दैछ।

यसरी हाम्रो वर्षौदेखिको सडक यात्रा प्रतिको प्रस्पेक्टिक चेन्ज ल्याउने सडक आयोजना यही वर्ष पुरा हुँदैछन्। यो वर्ष मुग्लिन-पोखरा मात्र नभई नेपालका धेरै ‘लाइफलाइन’ मानिने सडक आयोजनाहरु सम्पन्न हुँदैछन्। यसले नागरिकको दैनिकीलाई सहज मात्र बनाउने छैन, देशको आर्थिक र औद्योगिक मेरुदण्डलाई समेत बलियो बनाउने निश्चित छ।

मुग्लिन-पोखरा सडकको स्तरोन्नति लगभग अन्तिम चरणमा पुगेको छ। यस सडकमा बनिरहेका मुख्य पुलहरु यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फराकिला र चिल्ला सडकले पोखरा र चितवन जस्ता पर्यटकीय हबलाई ‘प्रिमियम रोड कनेक्टिभिटी’मार्फत जोड्नेछन्।

यसले विदेशी र आन्तरिक पर्यटकका लागि यात्राको समय छोट्याउने मात्र नभई पर्यटन प्रवर्द्धनमा बरदान सावित हुनेछ। चितवन, पोखरा र लुम्बिनीजस्ता क्षेत्रको यात्रा छिटो र आरामदायी हुँदा पर्यटन व्यवसायमा सुधार आउनेछ।

नागढुंगा-मुग्लिन सडक खण्ड पनि यही वर्षको मध्यतिर ‘ब्रेक थ्रु’ हुने अवस्थामा पुगेको छ। यसले मुग्लिन-पोखरा र मुग्लिन नारायणगढ-चितवन सडकलाई एउटै स्तरमा ल्याउनेछ।

काठमाडौंको इन्ट्री-पोइन्ट मानिने नागढुंगादेखि मुग्लिनसम्मको सडक खण्डको स्तरोन्नतिले अहिले नयाँ गति लिएको छ। यो सडक खण्ड नयाँ वर्षको मध्यतिर ‘ब्रेक थ्रु’ हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। किनभने यो सडक पनि पटकपटक म्याद थप भएर काम भइरहेका छन्।

अहिले उक्त सडकको नागढुंगा नौबिसेसम्म सडक लगभग कालोपत्रे गर्ने काम सम्पन्न हुने क्रममा छन्। त्यसपछि खण्डहरुमा पनि केही स्थान कालोपत्रे भइसकेका छन् भने केही स्थानहरुमा कालोपत्रे गर्न बेस तयार पारेर राखिएका छन्। पुलहरु प्राय सबै अन्तिम चरणमा पुगेका छन्।

अहिले यो राजमार्गका नजिकमा केही स्थानहरुमा राम्रो होटलहरु खुल्न थालेका छन्। जसले आयआर्जनमा टेवा पुर्‍याएको छ।

यसै वर्षभित्र यो सडक संचालनमा आउने लक्ष्य राखिएसँगै वर्षौंदेखि मुग्लिन-काठमाडौं यात्रामा भोग्नुपर्ने जाम र सास्ती अन्त्य हुनेछ। यसले राजधानीलाई बाँकी अन्य भुभागसँग जोड्ने ‘लाइफलाइन’लाई थप आधुनिक र द्रुत बनाउनेछ। जसलाई सुरुङमार्गले पनि साथ दिनेछ।

नेपालको यातायात इतिहासमा यो वर्ष सबैभन्दा सुखद रहने देखिन्छ। किनकि नागढुंगा-नौबिसे सुरुङमार्ग यही वर्षदेखि संचालनमा आउँदैछ। सुरुङमार्ग संचालनको लागि सेवा प्रदायक छनोट गरिसकिएको छ। उक्त सेवा प्रदायक कम्पनीले यही वैशाख १५ देखि सुरुङमार्गमा सर्भिस र व्यवस्थापनको काम हेर्न सुरु गर्नेछ।

यसले नेपाललाई अब सडक यात्रामा सुरुङमार्गको युगमा प्रवेश गराउनेछ। यो सुरुङ संचालनमा आएपछि हालको नागढुंगा सडकको ट्राफिक चाप उल्लेखनीय रुपमा घट्नेछ। यसबाट ढुवानी लागतमा ठुलो कमी आउनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्ता र व्यवसायी दुवैलाई पुग्नेछ।

यसैगरी वर्षौंदेखि सुस्त गतिको निर्माणले आजित बनाएको अर्को मेघा प्रोजेक्ट नारायणगढ-बुटवल सडक विस्तार पनि यसै वर्षभित्र सकिने लक्ष्य राखिएको छ। यसको सबैभन्दा जटिल रहेको दाउन्ने खण्डमा अहिले ढलान गर्ने काम भइरहेको छ। १२ किलोमिटर मध्ये अब ३ किलोमिटर सडक मात्रै ढलान गर्न बाँकी छ। जुन आगामी असारसम्म सकिनेछ। अन्य स्थानका रोडहरु भने फराकिला र कालो पिच गरेको चिल्ला भइसकेका छन्।  

यो सडक आर्थिक रुपमा देशकै मेरुदण्ड हो। औद्योगिक करिडोरहरुलाई जोड्न र व्यापारिक सहजता ल्याउन यसले ठुलो भूमिका खेल्नेछ। यस्ता आयोजनाहरुले पूर्व-पश्चिम र उत्तर-दक्षिण व्यापारिक मार्गहरुमा सहज पहुँच पुग्नेछ।

यसैगरी, सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्ग पनि यही वर्षदेखि संचालन आउने गरी काम भइरहेका छन्। सुरुङमार्ग ब्रेक थ्रु गर्ने काम एक वर्ष अगाडि सकाएर अन्य फिनिसिङको काम अहिले भइरहेको छ। अर्को पहिरो रोकथामको काम पनि यसमा भइरहेको छ।

बुटवल-पाल्पा सडक खण्डको ‘सिद्धबाबा’ क्षेत्र पहिरोका कारण सधै जोखिमपूर्ण मानिन्थ्यो। तर, यो वर्षदेखि सिद्धबाबा सुरुङमार्ग संचालन आउने तयारीसँगै यात्रीहरुले अब ढुक्क भएर यात्रा गर्न पाउनेछन्। यसले जोखिमपूर्ण सडकको विकल्प मात्र दिने छैन, बरु लुम्बिनी र पहाडी जिल्लाहरुबीचको व्यापारिक र पर्यटकीय सम्बन्धलाई सुरक्षित र भरपर्दो बनाउनेछ।

यस्तै धुलिखेल-साँगा सडक पनि यसै वर्ष संचालनमा आउनेछ। जहाँ अहिले कालोपत्रे गर्ने काम भइरहेको छ। कतै अन्डरपास बनिरहेका छन् भने कतै ओभरपास।

यस्तै नेपालले चीनसँग व्यापार गर्ने अ‍रनिको राजमार्ग र स्याफ्रुबेंसी-रसुवागढी सडक स्तरोन्नतिको काम पनि यसैवर्ष सक्नेगरी चीनले अनुदानमा काम गरिरहेको छ। चीनले महिनाको हरेक १५ दिन सीमामा सवारीसाधन आवतजावत गरेर सडक निर्माण गरिरहेको छ।

अहिले संचालनमा रहेका साँघुरा र जीर्ण सडकहरुले मानिसको जीवनलाई कष्टकर बनाइरहेका बेला यी नयाँ आयोजनाहरु संचालनमा आएपछि ‘वास्तविक विकास’को महसुस गराउनेछन्।