BIZMANDU
www.bizmandu.com

घरजग्गा कारोबारमा मधेश प्रदेश सबैभन्दा अगाडि, २० आनाभन्दा माथिका प्लटको कारोबार बढी

२०८२ चैत्र ३०

घरजग्गा कारोबारमा मधेश प्रदेश सबैभन्दा अगाडि, २० आनाभन्दा माथिका प्लटको कारोबार बढी
घरजग्गा कारोबारमा मधेश प्रदेश सबैभन्दा अगाडि, २० आनाभन्दा माथिका प्लटको कारोबार बढी

काठमाडौं। घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा न्यून र तेस्रो तथा चौथो त्रैमासमा रियल इस्टेट कारोबार उच्च हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले रियल इस्टेट कारोबारको प्रवृत्तिसम्बन्धमा पहिलो पटक सार्वजनिक गरेको त्रैमासिक तथ्यांक अनुसार कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ। त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेको प्रतिवेदनमा उल्लेख छ।

घरजग्गा कारोबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम हुने गरेको छ। कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ। त्यसपछि कोशी र लुम्बिनी प्रदेश छन्।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार हुने गरेको छ। मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटको कारोबार बढी देखिएको छ।

घोषित मूल्य (थैली रकम)का आधारमा बागमती प्रदेश अग्रस्थानमा छ। महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा बढी कारोबार भएको देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा क्षेत्रबाट प्राप्त राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेकामा त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्ब रुपैयाँमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको छ।