BIZMANDU
www.bizmandu.com

काठमाडौंका प्रथम मेयरकी नातिनी जया, जसले सेवा रोजिन्, ‘एक हातले दिएको अर्कोलाई थाहै नहोस्’

२०८२ चैत्र ३०

काठमाडौंका प्रथम मेयरकी नातिनी जया, जसले सेवा रोजिन्, ‘एक हातले दिएको अर्कोलाई थाहै नहोस्’
काठमाडौंका प्रथम मेयरकी नातिनी जया, जसले सेवा रोजिन्, ‘एक हातले दिएको अर्कोलाई थाहै नहोस्’

काठमाडौं। सिंहमहलको आलिशान भवनबाट कञ्चन बागमती हेर्दै हुर्किएकी जया राज्यलक्ष्मी शाह अहिले पनि त्यही नदीछेउमै बस्छिन्, भलै बागमतीमा धेरै पानी बगिसकेको छ। अनि जयाले पनि जीवनका कैयन् झाँकीहरु देखिसकेकी छन्।

Tata
GBIME
Nepal Life

थापाथलीस्थित जया कुञ्जभित्र शान्त, सुन्दर, सेता बंगलाबीचको बगैंचामा बसेर जया हामीसँग ‘त्यो समयको’ पोको फुकाउँदैछिन्, त्यसो त जया शाह आफैं निकै ‘प्राइभेट पर्सन’ हुन्।

नेपालको राणा र शाह परिवारको पारिवारिक लहरोमा जया शाहलाई भेटिन्छ। उनी चन्द्र शमशेरकी पनातिनी हुन्। उनकी हजुरमुवा तत्कालीन राजा त्रिभुवनकी दिदी। थापाथलीको सिंहमहल जहाँ अहिले नेपाल राष्ट्र बैंक बसेको छ, जया त्यही दरबारमा जन्मिएकी हुन्, जुन दरबार उनका हजुरबुवा सिंह शमशेरको निवास थियो।

बुवा अर्जुन शमशेरका पाँच छोरी भए। बीचमा जन्मिएका एक छोराको देहावसान भएको थियो। तर अर्जुन शमशेरले त्यो बेला अर्को बिहे गर्न खुला भए पनि गरेनन्। ‘मेरा ५ छोरी नै मेरा ५ छोरा जस्ता बन्नेछन्’ भनेर अर्जुन भन्ने गरेको जयाले सुनाइन्।  छोरीहरुलाई अब्बल बनाउनकै लागि बुबाले उनीहरुलाई सानैमा भारतको मसुरी पठाएका थिए। 

उनका हजुरबुवा सिंहशमशेर राणा काठमाडौंका पहिलो नगरप्रमुख अर्थात मेयर थिए। विसं. १९७६ मा  हजुरबुवा मेयर हुँदा डिजाइन गरिएको नयाँ सडकमा डुलेकी जया काठमाडौंको उस्तै स्मृति र आत्मीयताका साथ अहिले पनि न्यूरोड पुग्छिन्।   

सानैमा पढ्नका लागि भारतको बोर्डिङ स्कुल गएकी जयाले विद्यालयदेखि नै ‘दिनु’ को महत्त्व बुझिन्। ४ वर्षको उमेरमै कन्भेन्टमा पठाइएकी जया त्यहाँ ननहरुले मिसनरीमार्फत गरेको सेवा देख्दै हुर्किएकी हुन्। उनी कन्भेन्ट अफ जिजस एण्ड मेरी भन्ने मिसनरी स्कुलमा पढिन्। क्रिस्चियन स्कुल भएकाले दैनिक प्रार्थना हुन्थ्यो। तर हिन्दूहरुलाई प्रार्थना गर्न कर भने थिएन।

उनी भन्छिन्-‘तर म हिन्दु भए तापनि सानैदेखि क्रिस्चियन फिलोसफी सिकें। क्रिस्चियन फिलोसफी बुझेरै म राम्रो हिन्दू हुन सके जस्तो लाग्छ किनकी हरेक धर्मले सिकाउने मूल कुरा एउटै हो।‘

त्यो पढाइको जगमा जयाभित्र नजानिँदो गरी बसेको सेवाभाव पछि हजुरबुवा र हजुरमुवाले प्रशस्तै दान गरेको देखेपछि अझ गहिरो बन्यो। तर उनी आफूलाई समाजसेवामा निरन्तर लागिरहन प्रेरित गर्ने पात्रका रुपमा स्वर्गीय मंगलादेवी सिंहलाई सम्झन्छिन्।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसँग पटक-पटक भेटेपछि जयाले परोपकारलाई नै आफ्नो जीवनको उद्देश्य बनाइन। महिलाहरुको न्याय, स्वतन्त्रता र सशक्तिकरणका लागि धेरै काम गर्नुपर्छ भनेर मंगलादेवीले नै जयालाई झकझक्याउने गरेको उनले बताइन्।

रमागृहमा जाँदा मंगलादेवीले भनेका कुरा उनी अहिलेपनि सम्झन्छिन्- ‘समाजमा महिलामाथि ठूलो अन्याय छ। उनीहरुको आवाज सुनिदैन। आत्मनिर्भर छैनन्। महिलाहरुको लागि धेरै काम गर्नुपर्छ भनिरहनुहुन्थ्यो।’

जयाको परिचय रोटरीकै पहिलो महिला डिस्ट्रिक्ट गभर्नरका रुपमा छ। १० वर्षअघि नै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटान रोटरीको प्रथम डिस्ट्रिक्ट गभर्नरका रुपमा उनले थिम्पुमा शाखा बिस्तार गरिन्।

सन् २०१६/१७ मा उनी रोटरीकी पहिलो महिला डिस्ट्रिक्ट गभर्नर बनेकी थिइन्। उनी आर्च क्लम्प सोसाइटीमा पर्ने दोस्रो नेपाली रोटेरियन पनि हुन्। उनीभन्दा अघि डाक्टर रुप ज्योतिमात्र त्यस सोसाइटीमा थिए। रोटरीलाई लाखौं डलर दान दिएकी जया ‘दिएको’ सुनाउन खासै मन गर्दिनन्। बरु समाजमा ‘दिने’ भन्दा लिनेतर्फ मानिसहरु अग्रसर भैरहेको देख्दा चिन्ता व्यक्त गर्छिन्।

पाइलट भएकाले उनका श्रीमान धेरैजसो घर बाहिरै हुन्थे। साधारण जीवनशैलीमै उनले दुई सन्तान राजीव र प्रीतिलाई हुर्काइन्। जयाका छोरा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह हाल कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री छन्।

जयामा भरिएको ‘विद्रोही चेत’

जाजरकोटे शाह परिवारका पाइलट बबीबिक्रम शाहसँगको विवाहले जयालाई त्यो समयको विद्रोहीका रुपमा उभ्याइदियो। विद्रोही यस अर्थमा कि जयाले त्यसबेला आफ्ना परिवारका दिदीबहिनीले भन्दा फरक पथ चुनिन्।

मसुरीबाट स्कुल र पुनामा सिनियर क्याम्ब्रिज सकेपछि जयाले नेपाल आएर फेरि एसएलसी दिइन्। त्यसपछि उनले पद्मकन्या कलेजबाट इन्टर पास गरिन्। उनी त्रिभुवन विश्वविद्यालयको पहिलो ब्याचकी ग्र्याजुयट पनि हुन्। 

जयालाई ग्र्याजुयसन सकेपछि थप पढ्ने मन भयो। तर उनले डिग्रीका लागि कलेज जान पाइनन्। उनलाई कानुन विषय पढ्न मन थियो। तर उनका बुवाले कानुन पढ्नेहरुले बढी बहस गर्छन्। बिहे गरेर जाने घरकाले रुचाउँदैन भनिदिए। तर विद्रोही जया कहाँ मान्नेवाला थिइन् र ! उनले घरमै किताब ल्याएर कसैलाई थाहै नदिइकनै ल को पढाई सकिन्। त्यतिबेला उनी २१ वर्षकी भइसकेकी थिइन्।  

त्यसबेला राणा परिवारका छोरीहरुलाई भारतका राजघरानाहरुमा बिहे गरेर पठाउने चलन थियो।

महारानी कसरी बन्ने भन्ने सिकाइ र तालिम दिएर त्यही सोचले नै राणा परिवारका छोरीहरुलाई हुर्काइन्थ्यो। त्यही अनुसारको लवाइखुवाइ हिँडाइबोलाइ सिकाइन्थ्यो। ५० हजार किताब भएको लाइब्रेरीसहितको सिंहमहलमा हरेक कुराको लागि समय निर्धारण गरिएको हुन्थ्यो। कतिबेला उठ्ने, के तालिम लिने, मानिसहरुसँग कसरी बोल्ने, कसरी भेट्ने सबै म्यानर्स सिकाइन्थ्यो। घर सजाउने कला सिकाउन मेमहरु नै राखिएका हुन्थे।

जयाका दुबै दिदीहरु भारतकै राजघरानामा बिहे गरेर उतैका ‘महारानी’ भइसकेका थिए। तर जया भने  एयरपोर्टमा पाइलटको युनिफर्म लगाएर हिँडिरहेका बबीविक्रम शाहसँग आकर्षित भइन्। जयालाई इम्प्रेस गर्नकै लागि बबी पनि हेलिकोप्टरले सिंहमहलको चक्कर लगाउन थाले।  

त्यो समय राणापरिवारका छोरीहरुलाई बगैंचामा जान त कडाइ हुन्थ्यो भने प्रेम ‘निषेध’ जस्तै थियो। तर जयालाई बबी नै आफ्नो जीवनसाथी हुनुपर्छ भन्ने लाग्यो। जयाले जाजरकोटका बबीसँग बिहे गर्न परिवारमा कुरा राखिन्। तर जयाको परिवार भने उनलाई ‘महारानी’ बनाएर भारतकै कुनै राजघरानामा पठाउने परम्परालाई निरन्तरता दिन चाहन्थ्यो।

उनी भन्छिन्- ‘तर म जीवनभरकै लागि नेपाली नै रहिरहन चाहन्थें। दिदीहरु महाराजसँग बिहे गर्ने, तिमी भने पाइलटसँग बिहे गर्ने! पछि तिमीलाई कम्प्लेक्स होला!’ भनेर बुवामुवाले सम्झाए पनि मैले निश्चय गरिसकेकी थिएँ।’

सुरुवाती नाइनास्तीपछि पारिवारिक सहमति मै उनको बिहे क्याप्टेन बबीबिक्रम शाहसँग भयो। त्यसबेला पाइलटका रुपमा बबीको कमाइ मासिक १५ सय रुपैयाँ थियो। थापाथलीको भव्य सिंहमहलबाट कुपण्डोलमा सानो ४ कोठाको घरमा जया भित्रिइन्। तर उनकै शब्दमा त्यसपछि नै उनले ‘माइतीमा कहिल्यै नपाएको स्वतन्त्रता’ महसुस गरिन्। पाइलट भएकाले उनका श्रीमान धेरैजसो घर बाहिरै हुन्थे। साधारण जीवनशैलीमै उनले दुई सन्तान राजीव र प्रीतिलाई हुर्काइन्। जयाका छोरा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह हाल कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री छन्।

नेपाल इज मोर पोलिटिकल देन सोसल

बिहे अघिसम्म जयाले पकेट मनीका रुपमा ४० रुपैयाँ पाउँथिन् तर बाहिर खुला रुपमा हिँड्न नपाएपछि त्यो पैस खर्च गर्ने ठाउँ पनि हुन्थेन। बाकसमै राख्नुपर्थ्यो। पद्मकन्यामा इन्टर पढ्दा त्यो पैसाले समोसा किनेर साथीभाईसँग मिलेर खाएको पनि जयाले कसैलाई सुनाइनन्। कलेजमा साथीहरुसँग मिलेर नजिकैकै बारीबाट काँक्रो चोरेर पनि उनीहरुले खाए। तर यो सबै आफ्नो रिबेलियन स्वभावको परिणाम भएको जस्तो जयालाई लाग्छ।

‘मैले रिबेल गरेकै हो। राणाकी छोरीले कडा अनुशासन र नियमहरु पालना गर्नुपर्थ्यो। तर म सबैसँग भिज्न मिल्न चाहने। ती सानासाना कामहरु मेरा निम्ति फ्रिडम थियो।‘

बिहेपछि श्रीमानले उनलाई नयाँ सडक लिएर जाँदा उनले पहिलोपटक त्यो स्वतन्त्रताको अनुभूति गरिन्। कसरी बाटोमा हिड्ने होला कसरी किनमेल गर्ने होला! उनी नर्भस नै भएकी थिइन् रे। किनभने उनीहरुलाई बढी नै बन्देजमा हुर्काइएको थियो। 

‘त्यसअघि त बन्देजमा हिड्नुपर्ने हामी स्वतन्त्र भएर हिँड्दा मेरो खुट्टा नै काँपेको थियो।’- उनले भनिन्।

कमनरसँग बिहे गरेकी’ नातिनीले दुःख नपाओस् भनेर उनलाई सिंह शमशेरलै प्रशस्तै सम्पत्ति बकस दिए। हजुरबुवाले सिंहमहल नजिकै बंगला बनाइदिएपछि उनी कुपण्डोलबाट फेरि उनी थापाथली फर्किइन्।

राणाको घरमा बटालियन नै हुने आठ पहरिया हुने। उनीहहरु जतिबेला पनि हामीलाई निगरानी गरिरहेका हुन्थे। एकदिन यसो झ्यालबाट हेरें त्यो अपराध त होइन। तर भोलिपल्टै जाहेरी पुग्यो। बैदारले जाहेरी लेख्ने। बुवाले उनलाई भोलिपल्ट बोलाए। बुवाले बोलाएको खबर पाउँदा के के न बिराएँ भनेजस्तो हुने डर लाग्ने!

बुवाले सोधे-‘बाबु तिमीले हिजो झ्यालबाट हेरेको हो?’

‘हो बुवा’- उनले उत्तर दिइन्।

‘झ्यालबाट हेर्नुहुन्न है, बागमती पारीबाट तिमीलाई देख्छन् अरुले।’- बुवाले त्यसो भन्दा जया भित्रभित्रै हाँसेकी थिइन्। ‘एउटी केटीले घरको झ्यालबाट हेरेको कसले नै देख्थ्यो होला र बागमती पारीबाट!’- त्यसबेलाको समाज बुझ्न यही उदाहरण काफी थियो। जया आफैंलाई अहिले सम्झिँदा आफ्नो युवाअवस्थाका अनेकौं किस्साहरु कुनै कथा पो हो की जस्तो लाग्छ तर यी सबै उनले नै भोगेर आएका दिनहरु हुन्।

जया हजुरबुवा सिंहशमशेरकी सबैभन्दा प्यारी नातिनी थिइन्। अरु दिदीबहिनीहरु बिहे गरेर भारत गएकाले जया नै अन्तिम समयसम्म हजुरबुवा हजुरमुवाको साथमा रहिन्। ‘कमनरसँग बिहे गरेकी’ नातिनीले दुःख नपाओस् भनेर उनलाई सिंह शमशेरलै प्रशस्तै सम्पत्ति बकस दिए। हजुरबुवाले सिंहमहल नजिकै बंगला बनाइदिएपछि उनी कुपण्डोलबाट फेरि उनी थापाथली फर्किइन्।

पहिले हाम्रो समाजमा महिलाको स्थान नै कहाँ थियो र? कसैले गन्दैनथ्यो। अहिले बिस्तारै महिलाहरुले आफ्नो परिचय बनाइरहेका छन्।

यसरी मोडियो समाजसेवातिर  

मानवीय चरित्र नै हो उ पहिले आफ्नै लागि सम्पत्ति जोड्न चाहन्छ। फेरि सजिलै अरुलाई दिन सक्ने स्वभाव पनि जो कोहीसँग हुन्न। नेपाली उखानै छ- ‘दान दिनका लागि १०० हात्तीको बल चाहिन्छ।’ जया त्यो बल त्यसै नआउने बताउँछिन्।

हजुरमुवा रमा राज्यलक्ष्मीले दाइजोमा पाएको जग्गा त्रिभुवन विश्वविद्यालय बनाउनका लागि दान दिएकी थिइन्।  

पछि हजुरबुवाले जयालाई बोलाएर भने- ‘हामीसँग ५० हजार किताब भएको लाइब्रेरी छ। यो यहाँ रह्यो भने हामीलाई मात्र काम लाग्छ। विश्वविद्यालयलाई दियो भने धेरैले पढ्छन्।’ जयासँग छलफल गरेरै हजुरबुवाले त्यो सबै किताब त्रिभुवन विश्वविद्यालयलाई दान दिए।  सिंह महल १०० रोपनीभन्दा बढी जग्गामा फैलिएको थियो। हजुरमुवाका भदा महेन्द्रकी युवराज्ञी इन्द्रराज्यलक्ष्मीको सन्तान पाउने क्रममा मृत्यु भएपछि प्रसूति अस्पताल बनाउन थापाथलीको ५० रोपनीभन्दा बढी जग्गा दिए।

महिलाहरुको हितमा काम गर्नका लागि खुलेको महिला संघका लागि रमागृह हजुरबुवाले नै दिएका थिए। जयाका बुवाले पनि थापाथलीको १२ रोपनी जग्गा रोटरी क्लबलाई दिएका हुन्।

जया जन्मिँदा सिंगो थापाथली उनीहरुकै पैतृक सम्पत्ति थियो। बिस्तारै घट्दै घट्दै यो खुम्चिएको छ तर जयाको सेवाकर्म भने अझ फैलिदो छ। उनले रोटरी इन्टरनेशनललाई मात्रै ‘हाफ मिलियन डलर’ दिइसकिन्।

‘मन नभै दिन सकिन्न। वैधानिक रुपमा नै मैले दान दिएको हो रोटरीलाई। एक मोहरले एक पाथी चामल आउँथ्यो उ बेला। अहिले हेरौं त समय कति बदलिइसक्यो। हाम्रो इकोनोमी कस्तो भैसक्यो। अहिले लाखले केही काम हुन्न जस्तो भैसक्यो। फेरि कसरी मान्छेलाई सम्झाउने! पहिले दिने भन्ने भाव बढी थियो। अहिले चैं आफू कसरी बन्ने मात्र भैदियो,’ उनले गुनासो गरिन्।  

जतिबेला उनी पहिलो महिला गभर्नर भइन् त्यसबेला पनि रोटरीमा ‘तिमी गर्न सक्छौ र?’ भन्ने प्रश्न उठ्यो। 

‘दरबारमा बसेको मान्छे गाउँ-गाउँमा गएर काम गर्न सकिएला?’ 

तर त्यही प्रश्न नै उनलाई प्रमाणित गर्न काफी थियो। उनले इख र समर्पणका साथ काम गरिन्। दश वर्ष अघिको त्यो समयमा ४५ डिस्ट्रिक्ट गभर्नहरुमध्ये जया नै काम का आधारमा अब्बल ठहरिइन्।

‘पहिले हाम्रो समाजमा महिलाको स्थान नै कहाँ थियो र? कसैले गन्दैनथ्यो। अहिले बिस्तारै महिलाहरुले आफ्नो परिचय बनाइरहेका छन्।’- उनले सम्मानका साथ देशको शीर्ष पदहरुमा पुगेका सुशीला कार्की, विद्या भण्डारी, सपना प्रधान मल्ल अनि इन्दिरा राना मगरको नाम लिइन्।

‘नेपाल इज मोर पोलिटिकल देन सोसल तर मलाई के लाग्यो भने आफ्नो कम्युनिटी नै नभए देश कसरी बन्छ? यही सोचेर म चाहिँ समाजसेवामा लागें। तर समाजसेवाका लागि पनि कारण चाहिन्छ कज हुनुपर्छ कसका लागि हो र काम गरेर कस्तो नतिजा आउँछ त्यो सबै सोचेर काम गर्नुपर्छ। अहिले पनि हामीले पर्याप्त सहयोग दिन सकेकै छैन।’-उनले भनिन्। 

एक साता अघि मात्रै उनलाई नेपाल चेम्बर अफ कमर्सले ‘ऐतिहासिक अग्रणी महिला’ सम्मान प्रदान गर्‍यो। विभिन्न ४० संस्थामार्फत १५ हजारभन्दा बढी महिलाहरुसँग काम गरेकी जयालाई उनले महिला सशक्तिकरणका क्षेत्रमा गरेको योगदानका लागि सम्मान गरिएको हो।

जब उनी महलबाट निस्किएर गाउँ गाउँ पुगिन् अनि जीवनका फरक आयामहरु बुझ्दै गइन्। उमेरले ८० पुगेकी जयाले कठोरता, स्वतन्त्रता र सेवाभाव सबै एकै जीवनमा महसुस गरिन्।

समाजसेवाकै लागि उनी नेपालका सातै प्रदेशहरु पुगिन्। विकट गाउँहरु घुमिन्। उनी जाजरकोटकी बुहारी। उनको सुरुवाती सेवा नै जाजरकोटबाट भयो। जाजरकोटको अस्पतालमा स्तरोन्नतीका लागि रोटरीमार्फत नै सहयोग लगिन्।

‘आफ्नो निम्ति त म सिंहमहलमा जन्मिएँ। सम्पन्नतामा जीवन बिताएँ। म अरु कसैलाई दबाब दिन्न। तर मेरो भागको सबै सम्पत्ति बाँडेर सिध्याएपनि मेरो खुशी हो। मैले महिला, बालबालिकाका, स्वास्थ्य, पानी, शिक्षा, वातावरण जस्ता सबै क्षेत्रका लागि योगदान पुगोस् भनेरै मैले रोटरीमार्फत दान दिने निर्णय गरेकी हुँ। रोटरीमार्फत मैले दिएको दान नेपालमात्र विश्वभरका मानिसका लागि हुनेछ।’- उनले गर्वका साथ सुनाइन्।

चुपचाप दिन मन गर्ने जया शाहलाई जीवनको उत्तरार्ध बोरिङ लागेकै छैन किनकी ८० को उमेरमा पनि उनी उस्तै सक्रिय छिन्। श्रीमान बितेपछि उनी पूर्णकालीन समाजसेवी बनिन्।

समाज नै नबने देश कसरी बन्छ?

जयाले जीवनमा धेरै सिफ्ट देखिन्। राणाकाल, राजाको शासनकाल, पटक पटकको नेतृत्व फेरियो अब जेन्जी पुस्ताको आगमन। उनलाई परिवर्तन गर्ने साहस असाध्यै मन पर्छ। ‘म पनि कुनै बेलाको रिबेलियन नै त हो !’- उनी दोहोर्‍याउछिन्।

धनी भए पनि कुनै बेला जयाको हातमा पैसा थिएन। सम्पन्नता थियो तर पैसा छुन पाइन्नथ्यो। खान लाउन दिइन्यो। पढ्न पाइयो। तर नगद छुने, खर्च गर्ने स्वतन्त्रता थिएन। सानैदेखि त्यो अवस्था भोगेकी जया भन्छिन्- ‘आइ ह्याभ सिन लाइफ। मनी इज द मिन, बट नट द इन्ड।’

२०७२ को महाभूकम्पपछि जया देशका धेरै स्थानमा रोटरीमार्फत राहत वितरण गर्न गइन्। त्यो बेला उनले थप महसुस गरिन्– ‘एउटा पाल भए त जीवन चल्ने रहेछ।’

फेरि कोभिड महामारीका बेला अक्सिजन अभाव देखेर उनी ब्याकुल भइन्। अस्पतालहरुमा अक्सिजन सिलिन्डर बाँड्न आवश्यक पैसा पठाइयो। अहिलेपनि जब केही विपत्ति आइलाग्छ उनी रोटरीमार्फत आकस्मिक जुटिहाल्छिन्।

‘राजनीति होस् वा सेवा। जहाँ पनि नेतृत्वमा महिला अग्रसर हुनुपर्छ। तर आँट नभए नेतृत्व गर्न सकिन्न।’- उनलाई हरेक क्षेत्रमा महिलाहरुले लिड गरेको हेर्न मन लाग्छ। रोटरीमा पनि निर्वाचित भएर जानुपर्छ। यहाँ पनि महिलाहरु नै अघि सरुन् भन्ने उनलाई लाग्दोरहेछ।

‘हुनुपर्ने त उस्तै थियो तर राजनीति र समाजसेवा फरक भैदियो। जुन भावले सेवा गर्छौं त्यो नभई राजनीति पैसा कमाउने र आफू बन्ने तिर गयो। अरुलाई बनाउने कुरा भएन। राजनीति सेवा कम पपुलारिटीको लागि ज्यादा भैदियो। तर हामी चुपचाप दिनेमा विश्वास गर्छौं। समाजसेवा नै गर्नुपर्ने हो राजनीति गर्नेले। उनीहरुले सिक्नुपर्ने हो।’- जया अर्थमन्त्री भैसकेका छोरालाई पनि सिकाइरहन्छिन्।   

चुपचाप दिन मन गर्ने जया शाहलाई जीवनको उत्तरार्ध बोरिङ लागेकै छैन किनकी ८० को उमेरमा पनि उनी उस्तै सक्रिय छिन्। श्रीमान बितेपछि उनी पूर्णकालीन समाजसेवी बनिन्। छोराछोरी आफ्नो करियरमा लक्षित छन्। सँगै रहिरहने अवस्था हुँदैन। यो ठूलो कम्पाउण्डमा केही सहयोगीहरुका साथ जयाको दिनचर्या बित्छ। बगैंचा उनलाई सबैभन्दा मन पर्ने ठाउँ हो जहाँ उनी अक्सर समय बिताउँछिन्। 

‘एक्लोपन महसुस हुनका लागि खै मसँग टाइम?’ उनी आफैंसँग प्रश्न गर्छिन्। ईश्वरले साथ दिइरहुन् यसैगरी सेवाको काममा व्यस्त भैरहुँ भन्ने मात्र लाग्छ भन्छिन् जया – ‘आइ अलवेज केप्ट माइ लाइफ प्राइभेट। मन छ भने कवच मै बसेर पनि समाजसेवा गर्न सकिन्छ। आफ्नो निम्ति सबै गरिसकियो। अब बाँचुन्जेल अरुकै निम्ति गरिरहुँ।‘