काठमाडौं। नीतिगत व्यवस्था र सूचक ५ वर्षअघि भन्दा सहज अवस्थामा भए पनि नेप्से परिसूचक २०७८ भदौ दोस्रो साताभन्दा अझै अढाइ सय अंकले तल छ।
नेप्से सूचक २०७८ भदौ पहिलो साता ३१९८ अंकको कीर्तिमानी विन्दुमा पुगेकामा त्यतिखेर भन्दा अहिले अनुकूल अवस्था भए पनि बल्ल २८३७ अंकमा पुगेको छ। लगानीकर्ताले सधैं समस्याका रुपमा लिने गरेको राजनीतिक अस्थिरतालाई चिर्ने गरी एउटै दलको करिब दुई तिहाइ बहुमत आएको अवस्थामा पनि नेप्से एक महिनादेखि २६००-२९०० विन्दुमा फनफनी घुमिरहेको छ।
बैंकको ब्याजदर ५ वर्ष अघिभन्दा तल्लो विन्दुमा आएको छ। बैंकहरुमा १० खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ। सेयर बजारका लागि यसअघि गरिएका नीतिगत कडाइ सबै हटाइएका छन्। प्रतिनिधि सभा निर्वाचनपछि करिब दुई तिहाइ बहुमतसहितको सरकार बनेको छ। तर बजारले किन यसअघिको कीर्तिमान ब्रेक गर्न सकेको छैन त?
माग पक्ष नै कमजोर हुँदा र नयाँ थपिएका कम्पनीको आइपीओ बिक्रीको पैसा बजारबाट बाहिरिंदा नेप्से सूचकले यसअघिको उचाइ ब्रेक गर्न नसकेको जानकारहरु बताउँछन्।
‘बजारमा डिमाण्ड पक्ष निकै कमजोर छ। नयाँ कम्पनीहरु थपिंदै गए। तर त्यसअनुसार माग सिर्जना भएन। नयाँ कम्पनीको प्रवेशपछि बजारबाट पैसा झन धेरै बाहिरिरहेको छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालले भने, ‘बैंकिङ प्रणालीमा तरलता धेरै भयो। तर, त्यो इन्डिभिजुअल लगानीकर्ताको हातमा पुगेन। उनीहरुसँग भएको पैसा पनि प्रि-आइपीओतिर गइरहेको छ। त्यसैको प्रभावले सूचकहरु पाँच वर्षअघि भन्दा सहज हुँदा पनि रेकर्ड ब्रेक हुन नसकेको हो।’
तरलता थुप्रिएकाले अहिले बैंकले ग्राहकलाई सस्तो ब्याजदरमै ऋण दिइरहेका छन्। बजारले पाँच वर्षअघि कीर्तिमान बनाउँदा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर साढे ८ प्रतिशत रहेकामा अहिले ६.९ प्रतिशतमा आएको छ।
पछिल्लो ५ वर्षमा आइपीओ बिक्री गरेर बजारमा दर्जनौं कम्पनी थपिएका छन्। २०७८ साउनमा बजारमा २२० कम्पनी सूचीकृत रहेकामा यो वर्ष फागुनसम्म २८६ पुगेको छ।
बजारमा सूचीकृत भएपछि नयाँ कम्पनीको सेयर मूल्यमा केही दिन लगातार पोजेटिभ सर्किट लाग्ने गरेको छ। नयाँ कम्पनीको सेयर मूल्य उच्च माग र न्यून सप्लाइका कारण दोस्रो बजारमा सूचीकृत भएदेखि लगातार उचालिने गरेको हो।
बजार उच्च अंकले घट्दा पनि नयाँ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लाग्ने गरेको छ। बिक्री चापपछि ती कम्पनीको सेयर बेचेर बजारबाट ठूलो रकम बाहिरिने गरेको छ।
‘यो बीचमा धेरै कम्पनी थपिए। तर, आइपीओ बिक्रीपछि ठूलो रकम बाहिरिरहेको छ,’ अग्रवालले भने, ‘त्यो रकम फेरि बजारमा इन्भेष्ट हुँदैन। त्यसको मल्टिपल प्रभाव परिरहेको छ।’
| आर्थिक वर्ष २०७८/७९ | वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर % | नेप्से सूचक अंकमा |
| साउन | ८.४८ | ३१६० |
| भदौ | ८.५७ | ३१९८ |
| असोज | ८.६९ | २६५७ |
| कात्तिक | ९.०२ | २७८५ |
| मंसिर | ९.२९ | २४१५ |
| पुस | ९.४४ | २८५८ |
| माघ | १०.३१ | २८०२ |
| फागुन | १०.६ | २६६८ |
| चैत | १०.७८ | २४१५ |
| वैशाख | ११.४२ | २३५० |
| जेठ | ११.५४ | १९९६ |
| असार | ११.६२ | २०१० |
| आर्थिक वर्ष २०७९/८० | ||
| साउन | ११.९४ | २०४१ |
| भदौ | १२.०६ | १९१० |
| असोज | १२.१९ | १८५८ |
| कात्तिक | १२.६५ | १९११ |
| मंसिर | १२.७४ | १८८३ |
| पुस | १२.७९ | २१४९ |
| माघ | १३.०३ | २१२२ |
| फागुन | १३.०३ | १९५३ |
| चैत | १२.८४ | १९३४ |
| वैशाख | १२.६५ | १८२२ |
| जेठ | १२.५३ | २०४२ |
| असार | १२.३ | २०९७ |
| आर्थिक वर्ष २०८०/८१ | ||
| साउन | १२.२४ | २०३३ |
| भदौ | १२.२३ | १९६५ |
| असोज | १२.११ | १८६५ |
| कात्तिक | ११.९६ | १८५२ |
| मंसिर | ११.८५ | १९९४ |
| पुस | ११.३८ | २१२१ |
| माघ | ११.०८ | २१०१ |
| फागुन | १०.७८ | २१०८ |
| चैत | १०.५५ | २०२६ |
| वैशाख | १०.३४ | १९९८ |
| जेठ | १०.१५ | २११२ |
| असार | ९.९३ | २२४० |
| आर्थिक वर्ष २०८१/८२ | ||
| साउन | ९.६८ | ३००० |
| भदौ | ९.५२ | २५८० |
| असोज | ९.३३ | २७४२ |
| कात्तिक | ९.०७ | २७४८ |
| मंसिर | ८.९ | २६८२ |
| पुस | ८.६९ | २५९४ |
| माघ | ८.५५ | २६८५ |
| फागुन | ८.४ | २७३६ |
| चैत | ८.२२ | २६६२ |
| वैशाख | ८.११ | २६२० |
| जेठ | ७.९९ | २६५५ |
| असार | ७.९९ | २७९४ |
| आर्थिक वर्ष २०८२/८३ | ||
| साउन | ७.७६ | २७८८ |
| भदौ | ७.७६ | २६७२ |
| असोज | ७.७६ | २६२३ |
| कात्तिक | ७.३८ | २५४० |
| मंसिर | ७.२६ | २६०१ |
| पुस | ७.१२ | २६४१ |
| माघ | ७ | २६७१ |
| फागुन | ६.९ | २८२० |
| चैत २७ | ६.९ | २८३७ |
फागुन २१ गतेको निर्वाचनपछि २९६० अंकमा पुगेको नेप्से परिसूचक नयाँ सरकार बनेपछि फेरि ओरालो लाग्यो। बजार केही माथि जाने र फेरि घट्ने ट्रेन्ड निरन्तर चलिरहेको छ।
ब्रोकरबाट भइरहेको उधारो कारोबार र छोटो अवधिमा नाफा बुक गर्ने लगानीकर्ताका कारण अनुकूल अवस्था हुँदा हुँदै पनि नेप्से माथि जान नसकिरहेको मर्चेन्ट बैंकरहरुको बुझाइ छ।
‘बजारमा सर्टसेल भइरहेको छ। छोटो समयमा नाफा बुक गर्नेहरु धेरै छन्। नाफाबापतको करको पैसा पनि एक हिसाबले बजारबाट बाहिरिएकै हो,’ एक मर्चेन्ट बैंकरले भने।
नयाँ सरकारले सम्पत्ति शुद्धीकरणमाथिको अनुसन्धानलाई तीव्रता दिंदा तरंगित भएको सेयर बजारले अर्थतन्त्रमा शिथिलताका कारण समेत उचाइ लिन नसकेको जानकारहरु बताउँछन्।
‘अर्थतन्त्र नै स्लोडाउन भएपछि कम्पनीहरुको रिपोर्ट राम्रो छैन। बैंकले सेयरधनीलाई चित्तबुझ्दो प्रतिफल दिन सकेका छैनन्। उनीहरुको खराब कर्जा निरन्तर बढिरहेको छ,’ ती मर्चेन्ट बैंकर भन्छन्, ‘बजारमा माग बढेको छैन। उपभोग गर्ने मान्छे बाहिरिने क्रम रोकिएको छैन। ठूला लगानीकर्ताले नयाँ सरकारलाई विश्वास गरिसकेको अवस्था छैन। उनीहरु पर्ख र हेरको अवस्थामा छन्।’