काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। जनकपुरमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई ५६ रनले हराउँदा वीरंगजमा सम्पन्न खेलमा गण्डकी प्रदेशले लुम्बिनीलाई ८ विकेटले हराएको हो।
रामजानकी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४०.४ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो। यसक्रममा नारायण जोशीले सर्वाधिक ८२ रन बनाउँदा खडक बोहराले २२ तथा हेमन्त धामीले २० रन बनाए।
बलिङमा पुलिसका दिनेश खरेलले सर्वाधिक ४ विकेट लिँदा सागर ढकालले ३, कुशल भुर्तेलले २ तथा गुल्सन झाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पुलिस ३५.१ ओभरमा १३५ रनमा समेटियो। उसका लागि गुल्सन झाले सर्वाधिक ५० रन बनाउँदा अमित श्रेष्ठ, आरिफ शेख र दिल्साद अलीले समान १९ रन बनाए।
घातक बलिङ गर्दै शेर मल्ल र हेमन्त धामीले समान ३ विकेट लिँदा नारायण जोशी, अशोक धामी र खडक बोहराले समान १ विकेट लिए।
त्यस्तै, आजै नारायणी रंगशालामा गण्डकी प्रदेशलाई लुम्बिनीमाथि सहज जित दिलाउन अर्जुन कुमालले शतकीय इनिङ्स खेले। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले ४५ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको थियो। लुम्बिनीका लागि सन्तोष यादवले सर्वाधिक ८२ रन बनाउँदा सलउद्दीन खानले ६२ को योगदान दिए। बलिङमा गण्डकीका विपिन खत्रीले ४ विकेट लिँदा अपराजित पौडेलले ३, सिब्रिन श्रेष्ठले २ तथा विश्व कार्कीले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले ४४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। गण्डकीका लागि अर्जुन कुमालले शतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित १०३ रन बनाउँदा सिब्रिन श्रेष्ठले ४३ तथा मुस्कान थापाले २३ रन बनाए। त्यस्तै, दीपक डुम्रे २५ रनमा अविजित रहे। बलिङमा लुम्बिनीका सन्तोष यादव र दिनेश बोहराले समान १ विकेट लिए।
योसँगै समान ७ अंक बनाएका लुम्बिनी र गण्डकी सातौँ र आठौं स्थानमा छन्। त्यस्तै, १२ अंक बनाएको सुदूरपश्चिम दोस्रो स्थानमा कायम छ भने ९ अंक बनाएको पुलिस तेस्रो स्थानमा छ।