BIZMANDU
www.bizmandu.com

गायिका आशा भोसलेको निधन, दिदी लताको छायाबाट बाहिर बनाएकी थिइन आफ्नै पहिचान

२०८२ चैत्र २९

गायिका आशा भोसलेको निधन, दिदी लताको छायाबाट बाहिर बनाएकी थिइन आफ्नै पहिचान
गायिका आशा भोसलेको निधन, दिदी लताको छायाबाट बाहिर बनाएकी थिइन आफ्नै पहिचान


मुम्बई। भारतीय पार्श्वगायन क्षेत्रकी हस्ती आशा भोसलेको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ। जसले दिदी लता मंगेशकरको छायामा पनि टिकेर मात्र होइन, त्यसबाट बाहिर निस्केर आफ्नै पहिचान बनाएकी थिइन।

Tata
GBIME

नातिनी जनाइ भोसलेका अनुसार शनिबार साँझ छातीको संक्रमण र थकानका कारण सिकिस्त आशालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो। मल्टि–अर्गन फेलियरका कारण उनको निधन भएको चिकित्सक डा. प्रतित सम्दानीले बताएका छन्।

आशाको १६ वर्षको उमेरमा १९४९ मा गणपत राव भोसलेसँग विवाह भएको थियो। पछि जीवनको उत्तरार्धमा उनले संगीतकार आरडी बर्मनसँग विवाह गरेकी थिइन। उनका छोरा आनन्द र नातिनातिनीहरू छन्।

आशा भोसलेले ‘आजा आजा’ जस्तो चञ्चल गीतदेखि ‘चैन से हम को कभी’ जस्ता भावुक गीतसम्म उत्तिकै कुशलतापूर्वक गाएकी थिइन्। उनी र उनकी दिदी लता मंगेशकरले करिब सात दशकसम्म हिन्दी फिल्म संगीतमा महिला स्वरको क्षेत्रमा वर्चस्व कायम राखे।

आशाले आठ दशकभन्दा बढी समय गायनमा बिताउँदै करिब १२ हजार गीत रेकर्ड गरिन्। उनले पहिलो पटक १० वर्षको उमेरमा १९४३ मा मराठी फिल्म ‘मझा बल’ का लागि गीत गाएकी थिइन्। उनले २०१० को दशकसम्म पनि गायन जारी राखेकी थिइन, जसले उनलाई विश्वकै सबैभन्दा लामो समय सक्रिय गायकहरूमध्ये एक बनायो।

लता मंगेशकरको २०२२ को फेब्रुअरीमा ९२ वर्षकै उमेरमा निधन भएको थियो। जहाँ लतालाई संगीतकार मदन मोहनले बढी रोज्थे, त्यहीं आशा भोसले पनि गजलमा निकै प्रख्यात थिइन्। ‘उमराव जान’ फिल्मका गजलका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन।

आशाले ओपी नैय्यरसँग मिलेर जोशिला र लयात्मक गीतहरू गाइन् भने पछि आरडी बर्मनसँग मिलेर क्याब्रे, रोमान्स र विभिन्न भावनात्मक शैलीका गीतहरूमा नयाँ प्रयोग गरिन्। भारतीय संगीत समीक्षकहरुका अनुसार दुवै दिदीबहिनीबीच कुनै प्रतिस्पर्धाको संकेत कहिल्यै देखिएन। उनीहरू भारतीय संगीतका उच्च स्थानमा समान रूपमा स्थापित रहे।

आशाका चर्चित गीतहरूमा ‘अभि ना जाओ छोड कर,’ ‘इन आँखों की मस्ती,’ ‘दिल चिज क्या है,’ ‘पिया तु अब तो आजा’, ‘दुनियाँ मे लोगों को,’ ‘जरा सा झुम लूं मैं’ लगायत छन्।

उनले मीना कुमारी, मधुबाला, जीनत अमानदेखि काजोल र उर्मिला मातोंडकरसम्मका धेरै अभिनेत्रीहरूका लागि स्वर दिएकी थिइन्। साथै दक्षिण भारतीय अभिनेत्रीहरू पद्मिनी र वैजयंतीमालाका लागि पनि गाएकी थिइन्। सन् २०२३ मा आफ्नो ९० औं जन्मदिनको अवसरमा दुबईमा आशा एट ९० कन्सर्टमा प्रस्तुति दिएकी थिइन्।

महाराष्ट्रको सांगलीमा जन्मिएकी आशालाई उनका पिता दीनानाथ मंगेशकरले संगीतमा दीक्षित गराएका थिए। दिदीबहिनीमध्ये लता, उषा र आशा सबै प्लेब्याक गायिका हुन् भने मीना संगीतकार हुन्। भाइ हृदयनाथ मंगेशकर पनि संगीतकार हुन्।

धेरै पुरस्कार प्राप्त गरेकी आशा भोसले सफल उद्यमी पनि थिइन्। उनले दुबई र बेलायतमा ‘आशा’ नामक रेस्टुरेन्ट सञ्चालन गरेकी थिइन। उनले दादासाहेब फाल्के पुरस्कार, पद्म विभूषण, राष्ट्रिय फिल्म पुरस्कार लगायतका धेरै सम्मानहरू प्राप्त गरेकी थिइन।