काठमाडौं। जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालको हिरासत बसाइ लम्बिएको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सुलभलाई एक साता हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार एक साताको म्याद दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए। अदालतले सुरुमा ५ दिनको म्याद दिएको थियो।
पहिलो पटकको म्याद सकिएपछि सुलभलाई म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराइएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभसँग बयान लिने काम सकिसकेको छ। विभागले आवश्यक परे थप बयान लिन सक्नेछ। सुलभ पक्राउ परेयता जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।
यसअघि सुलभका बुबा शंकर अग्रवाल पनि पक्राउ परेकामा विभागले उनलाई बयानपछि बोलाएका बेला हाजिर हुने सर्तमा छोडेको थियो।
बिचौलिया दीपक भट्टसँग मिलेर आर्थिक अपराध गरेको देखिएपछि शंकर ग्रुप अनुसन्धानमा तानिएको हो। सुलभका भाइ साहिल विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएकामा उनी सम्पर्कमा छैनन।
पब्लिक कम्पनीको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरेर आफ्नो नाममा सेयर किनेका बिचौलिया भट्ट पनि हाल हिरासतमै छन्।