BIZMANDU
www.bizmandu.com

नयाँ सरकार बनेपछि काल्सबर्गको उच्च व्यवस्थापक नेपालमा, अर्थमन्त्रीलाई भने-‘१० अर्ब लगानी गर्दैछौं’

२०८२ चैत्र २७

नयाँ सरकार बनेपछि काल्सबर्गको उच्च व्यवस्थापक नेपालमा, अर्थमन्त्रीलाई भने-‘१० अर्ब लगानी गर्दैछौं’
नयाँ सरकार बनेपछि काल्सबर्गको उच्च व्यवस्थापक नेपालमा, अर्थमन्त्रीलाई भने-‘१० अर्ब लगानी गर्दैछौं’


काठमाडौं । देशभित्र लगानी गरेका बहुराष्ट्रिय कम्पनीको इतिहासमा पहिलो पटक उच्च तहका व्यवस्थापक नेपाल आएका छन्।

Vigo
GBIME
Tata

१५० देशमा लगानी गरिरहेको काल्सवर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जेकब आरप एन्डरसन, अध्यक्ष हेनरिक पाउल्सेन र मध्य तथा पूर्वी युरोप र भारत हेर्ने कार्यकारी उपाध्यक्ष निकस कलाइट्जीडाकिस नेपाल आएका हुन्। यो १७९ वर्ष पूरानो कम्पनी हो।

यहाँ स्थापना भएका उत्पादनमूलकदेखि सेवासम्मका बहुराष्ट्रिय कम्पनी रहे पनि यति उच्च तहका लगानीकर्ता एकैपटक नेपाल आएका थिएनन्। युनिलिभिरको २५औं वार्षिकोत्सवमा ग्लोबल सीइओ पल पोलम्यान भने आएका थिए।

देशभित्र युनिलिभिर, डाबर, सूर्य नेपाल, केएनपी, पेप्सीको, कोकाकोला, एनसेल लगायतका कम्पनीहरु रहेका छन्। सन् १९८८मा स्थापना भएको गोर्खा ब्रुअरी काल्सवर्ग ग्रुप अन्तर्गत रहेको छ।

यही गोर्खा ब्रुअरीको ६ प्रतिशत सेयर जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका संचालक राजबहादुर शाहले किनेको र नेपालभित्र राजनीतिक परिवर्तनसँगै नीतिगत स्थिरता हुने अपेक्षासहित उनीहरु नेपाल आएका हुन्। उनीहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बिहीबार भेटेर थप १० अर्ब लगानी गर्ने प्रतिबद्धता समेत जनाइसकेका छन्।

उनीहरुले नेपालको बजार ‘भाइब्रेन्ट’ रहेको भन्दै थप लगानी गर्न उत्साहित रहेको समेत जानकारी दिएका छन्। स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले नीतिगत स्थिरताको सुनिश्चतता हुने भन्दै आश्वस्त पारेका थिए। अर्थमन्त्री वाग्लेसँगको छलफलपछि उनीहरु उत्साहित पनि देखिएका थिए।

गोर्खा ब्रुअरीले बिहीबार गरेको औपचारिक कार्यक्रममा समेत उनीहरुले नयाँ सरकारले सुशासन र नीतिगत स्थिरतालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै १० अर्ब लगानी गर्ने घोषणा समेत गरे।

‘नेपालमा राजनीतिक परिवर्तनसँगै धेरै एस्पिरेसनहरु देखिएका छन्। नयाँ सरकारले सुशासन र नीतिगत स्थिरतालाई प्राथमिकता समेत राखेको छ। यही बेलामा हामीले नेपालभित्रको राम्रो साझेदार समेत पाएका छौं,’ काल्सवर्ग ग्रुपका सीइओ जेकबले भने, ‘जनसांख्यिक हिसाबले पनि नेपालको बजार भाइब्रेन्ट देख्छौं। हामीले कर प्रशासनमा स्थिरता खोजेका छौं।’

उनले तीन करोड जनसंख्यामध्ये १५ देखि ३५ वर्ष उमेर समूहका रहेको बताउँदै त्यसले बजार विस्तारको बाटो समेत खोलेको स्पष्ट पारे।

‘पक्कै पनि यहाँबाट युवाहरु विदेशिएका छन्। उनीहरु त्यहाँ सिकेका सीप बोकेर नेपाल फर्किनेछन्। र,उनीहरुले उद्यम गरेर देशलाई आर्थिक हिसाबले अगाडि बढाउने सम्भावना पनि देख्छु,’ उनले भने।

उनले नेपाली व्यवस्थापकले उत्कृष्ट हिसाबले यहाँ गोर्खा ब्रुअरी चलाइरहेको भन्दै प्रशंसा समेत गरे।

‘नेपालमा हन्ड्रेड प्रसेन्ट नेपाली व्यवस्थापकले काम गरिरहनुभएको छ। उहाँहरुले उत्कृष्ट नतिजा समेत दिइरहनुभएको छ। यो हाम्रा लागि पनि खुशीको विषय हो,’ उनले भने।

गोर्खा ब्रुअरीको नेतृत्व प्रबन्ध निर्देशक अरुण अधिकारीले गरिरहेका छन्। कम्पनीको फाइनान्स डाइरेक्टरमा अमर वैद्य, बिक्री निर्देशकमा काजीमान सुब्बा, बजार निर्देशक रोजन अमात्य, बिजनेश डेभलपमेन्ट निर्देशक सञ्जीक बर्तौला लगायत रहेका छन्।

काल्सबर्ग समूहका अध्यक्ष पाउल्सेन पनि नेपालको राजनीतिक परिवर्तनसँगै देखिएको आर्थिक विकासको बाटोमा अगाडि लैजाने सम्भावना देख्छन्।

‘नेपालमा हामीले सम्भावना देखेरै लगानी बढाइरहेका हौं। डेमोग्राफिक हिसाबले पनि प्रशस्त सम्भावना रहेकाले लगानी विस्तारका लागि राम्रो स्थानीय साझेदार भित्र्याएका हौं,’ उनले भने।

मध्य तथा पूर्वी युरोप र भारत हेर्ने कार्यकारी उपाध्यक्ष निकस कलाइट्जीडाकिसले नेपालले गोर्खाजस्तो शक्तिशाली ब्राण्ड स्थापना गरेर मार्केट लिडर बनेको भन्दै प्रशंसा समेत गरे।