BIZMANDU
www.bizmandu.com

मार्कीचोक-भरतपुर प्रसारणलाइन निर्माण अन्तिम चरणमा, दोर्दीका आयोजना भएनन् ‘रेगुलर डाइभर्ट’

२०८२ चैत्र २६

मार्कीचोक-भरतपुर प्रसारणलाइन निर्माण अन्तिम चरणमा, दोर्दीका आयोजना भएनन् ‘रेगुलर डाइभर्ट’
मार्कीचोक-भरतपुर प्रसारणलाइन निर्माण अन्तिम चरणमा, दोर्दीका आयोजना भएनन् ‘रेगुलर डाइभर्ट’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभीको मर्स्याङ्दी करिडोर प्रसारण लाइन अन्तर्गत मार्कीचोक-भरतपूरको काम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

मार्किचोकदेखि भरतपुर करिब २८ किलोमिटर रहेकोमा २५ किलोमिटरभन्दा धेरै क्षेत्रमा तार तान्ने काम सकिएको हो।

आयोजना प्रमुख नारायण रेग्मीका अनुसार २८ किलोमिटरमध्ये करिब ३ किलोमिटर तार तान्न काम बाँकी छ। १ महिनाभित्र लाइन चार्ज गर्ने लक्ष्य रहेको रेग्मीले बताए।

‘मार्कीचोक-भरतपुरको २८ किलोमिटरमध्ये ३ किलोमिटर तार तानिसकेका छौं। अन्य क्षेत्रमा पनि तार तान्ने काम धमाधम भइरहेको छ। फाउन्डेसनको काम लगभग सम्पन्न भइसकेको छ। अबको एक महिनाभित्र लाइन चार्ज गर्ने गरि काम भइरहेको छ,’ रेग्मीले भने।

सन् २०१८ मा आयोजना निर्माणको काम सुरु भएकोमा कोभिड १९ र सब-कन्ट्रयाक्टरले काम नगरिदिँदा प्रसारणलाइन निर्माण ढिला भएको रेग्मीले बताए।

‘प्रसारण लाइन निर्माण अगाडि बढाएको केहि समय मै कोभिड १९ कारण काम अवरोध भयो। त्यसपछि सब-कन्ट्रयाक्टरले भने अनुसार काम गर्न सक्दा ढिला भयो,’ उनले भने, ‘तर पछि दोर्दी करिडोरका प्रवर्धकहरुले सब-कन्ट्रयाक्टर ल्याएर काममा लगाउनु भएको छ। नयाँ सब-कन्ट्याक्टर आएपछि कामको गति पनि बढेको छ।’

प्रसारण लाइन समयमा निर्माण गर्न नसक्दा यस करिडोरका आयोजनाले वार्षिक अरबौं रुपैयाँ आम्दानी गुमाउँदै आएको छ।

लमजुङको दोर्दी र त्यसका सहायक खोलामा रहेका ८ वटा जलविद्युत विद्युत आयोजना मारमा परेका छन्। प्रसारण लाइन नबन्दा आयोजनाको विद्युत खरिद बिक्री सम्झौता(पीपीए) टेक अर पे हुँदा पनि ‘कन्टेजेन्सी’मा बाध्य छन्।

पछिल्लो ३ वर्षमा करिडोरका ८ वटा आयोजनाले ४ अर्ब ९८ करोड १२ लाख २१ हजार ५३२ रुपैयाँ आम्दानी गुमाएका छन्।

मर्स्याङ्दी करिडोर सरकारले २०७४ साल मै सम्पन्न गर्ने भनेको थियो। तर, विभिन्न कारणले निर्माणमा जान नै ढिला भयो। त्यसपछि करिडोरको प्रसारण निर्माण २०७७ सालमा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ सालमा निर्माण सुरु गरिएको थियो। तर २०८२ सकिन लाग्दा पनि निर्माण सम्पन्न भएको छैन।

यस करिडोरअन्तर्गत ८ वटा जलविद्युत आयोजना संचालनमा आइसकेका छन्। यस करिडोरमा आयोजनाको कुल क्षमता १६३ मेगावाट छ।

यस करिडोरमा उत्पादित बिजुली दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उदीपुरमा निर्माण भएको २२० केभी क्षमताको सबस्टेसनमा जोडिन्छ। उदीपुरबाट-मार्कीचोक-भरतपुर २२० केभीको प्रसारण लाइनबाट तराइको जिल्लाहरुमा बिजुली पर्याउने भनिएको थियो।

कुन आयोजनाले कति आम्दानी गुमाए?

५४ मेगावाट क्षमताको सुपर दोर्दी खोला हाइड्रोपावरले पछिल्लो ३ वर्षमा १ अर्ब ६ करोड ९२ लाख रुपैयाँ आम्दानी गुमाएको छ। यस्तै ३० मेगावाट क्षमताको न्यादीखोला हाइड्रोपावर १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ गुमाएको छ।

२५ मेगावाट क्षमताको अप्पर दोर्दी ‘ए’ले ८६ करोड २ लाख ५० रुपैयाँ, ३.६३ मेगावाट क्षमताको चेपे खोला हाइड्रोपावर २९ करोड ६९ लाख ५८ हजार, २७ मेगावाट क्षमताको दोर्दी खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले ९२ करोड ९० लाख ७० हजार रुपैयाँ गुमाएका छन्।

१२ मेगावाट क्षमताको दोर्दी-१ हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले ४० करोड २४ लाख ८० हजार रुपैयाँ, २.४ मेगावाट क्षमताको अप्पर स्याङ्गे स्माल हाइड्रोपावर ११ करोड २९ लाख ३७ हजार, ४ मेगावाट क्षमताको अप्पर छ्याङ्दी खोला स्माल हाइड्रोपावरले १६ करोड ६४ लाख २५ हजार रुपैयाँ आम्दानी गुमाएका छन्।

आयोजना कन्टेन्जेन्सीको कारण इनर्जी स्फिल भएर आयोजना नै संकटमा पुग्ने अवस्थामा त्रासमा रहेको एक व्यवसायीले बताए।

‘हामीले बैंकलाई लोन लिएर आयोजना बनाउने हो। त्यसबेला सम्झौता गर्दा नै बैंकलाई तिर्ने फिक्स भएको हुन्छ। तर प्राधिकरणले बिजुली खरिद नगरिदिएपछि आयोजना नै संकटमा पर्ने अवस्था आएको छ,’ उनले भने।

प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत प्राधिकरणले कुनै पनि आयोजनालाई रेगुलरमा डाइभर्ट गरेको छैन।

‘प्राधिकरणले आफुलाई बिजुली चाहिएको बेला पावर हाउस चलाउ भन्छ। नचाहिएको बेलामा बन्द गर भन्छ,’ ती प्रवर्धकले भने, ‘प्रसारण लाइन निर्माणमा हामीले पैसा नै उठाएर काम गरिरहका छौं। अब सकिने चरणमा छ। तर प्राधिकरणले आयोजनालाई रेगुलरमा डाइभर्ट गरिदिएको छैन्।’