काठमाडौं । विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई सातापछि नेपाल विद्युत प्राधिकरण जाने भएका छन्। श्रेष्ठले चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
मन्त्री नियुक्त भए लगतै उनी प्राधिकरण जाने कार्यक्रम थियो। तर, कार्य व्यस्तताका कारण उनी त्यति बेला प्राधिकरण गएनन्।
श्रेष्ठ बोर्ड बैठकमा सहभागी हुन प्राधिकरण जान लागेका हुन। आज बेलुका ५ बजे उनी प्राधिकरण जाने तय भएको उनको सचिवालयले जनाएको छ।
‘५ बजे प्राधिकरणमा स्वागत गर्ने कार्यक्रम रहेको छ। स्वागत पछि बोर्ड बैठक बस्ने छ,’ एक बोर्ड सदस्याले बताए।
बोर्ड बैठकमा प्राधिकरण भित्र भइरहेको काम, देखिएका बाधा अड्चन र आगामी दिनको कार्यक्रमका बारेमा मन्त्रीलाई ब्रिफिङ गरिनेछ।
‘आज मन्त्री ज्यूको पहिलो बोर्ड बैठक हो। मन्त्री ज्यूलाई स्वागत गर्ने र प्राधिकरणको बारेमा जानकारी गराउने लगायतका कुरा छन्,’ ती बोर्ड सदस्यले भने,’नियमित कुराहरु हो। अन्य एजेण्डाहरु छैनन्।’