काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिस्लेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालको डिजिटल रुपान्तरण, सूचना प्रविधिको पहुँच विस्तार, शासकीय सुधार लगायतका क्षेत्रमा विश्व बैंकले गर्ने सहयोग तथा आगामी सहकार्यका विषयमा गहन छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
निर्देशक डेभिड सिस्लेनले विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन गइरहेको ‘नेपाल : डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’मा सरकारको प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गरेका छन्। सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी कार्यसूचीको कार्यान्वयनमा पनि सो प्रोजेक्टले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे।
सो क्रममा सिस्लेनले नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि सूचना प्रविधि पहुँच विस्तार, डेटा व्यवस्थापन, नेपालको डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधार लगायतका क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न विश्व बैंक प्रतिवद्ध रहेको समेत जानकारी गराए।
भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले विश्व बैंकको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै ‘नेपाल : डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनमा तीव्रता दिइने बताए।
साथै, मन्त्री तिमिल्सिनाले नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको बताए। विगतभन्दा फरक तरिकाले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित भई काम गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले जानकारी दिए।
सो भेटघाटमा मन्त्रालयका सूचना प्रविधि महाशाखाका प्रमुख आदेश खड्का सहित परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरू उपस्थित थिए।