काठमाडौं। सरकारले इन्धनको मूल्य वृद्धिपछि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा बुधबार भाडा बढाउने निर्णय गरेको हो। भाडा १५.७५ प्रतिशतदेखि २१.६८ प्रतिशतसम्म बढेको छ।
विभागले अन्तर प्रदेशमा संचालन हुने यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत बढाएको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा १५.७५ प्रतिशत भाडा बढाइएको छ।
बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ। स्थानीय रुटमा संचालन हुने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्नेछ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर सहमति दिएपछि विभागले सार्वजनिक सवारीसाधनको भाडा बढाएको हो।
इन्धनको मूल्य वृद्धिपछि यातायात व्यवसायीले अघिल्लो सरकार हुँदा नै सार्वजनिक सवारीसाधनको भाडा बढाउन दबाब दिएका थिए। त्यसपछि विभागले भाडा बढाउन भन्दै फाइल मन्त्रालय पुर्याएको थियो। तर तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले भाडा बढाउँदा आलोचना हुने भन्दै सहमति दिन अस्वीकार गरेका थिए।
नेपाल आयल निगमले चैत लागेयता डिजल र पेट्रोलको भाउ तीन पटक बढाइसकेको छ। पेट्रोलको मूल्य अहिले प्रति लिटर २०२ रुपैयाँ र डिजलको भाउ प्रति लिटर १८२ रुपैयाँ छ। तीन सातामा डिजलको मूल्य प्रति लिटर ४० र पेट्रोलको मूल्य प्रति लिटर ४५ रुपैयाँ बढिसकेको छ।
इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढ्ने वा घट्ने भन्ने सहमति एक दशकअघि नै भएकामा कार्यान्वयन हुन सकेको छैन।
इन्धनको भाउ पटक पटक बढ्दा पनि सवारी भाडा नबढाएको भन्दै यातायात व्यवसायीहरुले सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।