BIZMANDU
www.bizmandu.com

हङकङमा रहेका शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र

२०८२ चैत्र २५

हङकङमा रहेका शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र
हङकङमा रहेका शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तीव्र

काठमाडौं। सम्पत्ति शुद्धीकरणमा तानिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

Tata
GBIME
Nepal Life

जिल्ला अदालत काठमाडौंबाट मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो। देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरणका विषयमा बयान गर्नुपर्ने भएपछि देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गर्न लगाएको स्रोतले बतायो।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नै देउवा दम्पतीमाथि अनुसन्धान गर्न विभागलाई निर्देशन दिएको थियो। त्यसपछि विभागले अनुसन्धान सुरु गरेको थियो। चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि यसलाई झन् तीव्रता दिइएको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि विभागको सिफारिसका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो।

विभागले अहिले खड्काका अलावा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा पूर्वपरराष्ट्रमन्त्री आरजुमाथि अनुसन्धान गरिरहेको छ।

पूर्वप्रधानमन्त्री ओली चैत १४ देखि हिरासतमा छन्। भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगको सिफारिसका आधारमा ओली पक्राउ परेका थिए।

देउवा भने उपचारका लागि भन्दै चुनाव समेत छाडेर फागुन १३ गते सिंगापुर उडेका थिए। त्यसको केही दिनमा उनी हङकङ गएका हुन्। आरजु भने भारतबाट सिंगापुर पुगेकी थिइन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठ निवास आगजनीमा परेको थियो। घरभित्र ठूलो मात्रामा पैसा जलेको देखिएपछि विभागले घरमा भेटिएका डढेका नोट र अन्य प्रकरण जोडेर देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेको छ।

विभागको टोलीले जलेको घरमा पुगेर नोटका टुक्रा र खरानी समेत ल्याएको थियो। देउवाले घटनाको ७ महिनापछि घर भत्काउन लगाएकामा प्रमाण लोप हुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ।

पक्राउ पुर्जी जारी भएसँगै विदेशमा रहेका देउवा दम्पतीविरुद्ध प्रहरीले अब इन्टरपोलमार्फत नोटिस जारी गर्नेछ।