BIZMANDU
www.bizmandu.com

आयात रोकिएपछि केराको भाउ पोहोरभन्दा दोब्बरले वृद्धि, अवैध भित्रिदा राजस्व गुम्दै

२०८२ चैत्र २५

आयात रोकिएपछि केराको भाउ पोहोरभन्दा दोब्बरले वृद्धि, अवैध भित्रिदा राजस्व गुम्दै
आयात रोकिएपछि केराको भाउ पोहोरभन्दा दोब्बरले वृद्धि, अवैध भित्रिदा राजस्व गुम्दै

काठमाडौं। उपत्यकाको फलफूल बजारमा यसपटक केरा महँगिएको मात्रै होइन, अभावसमेत भएको छ। थोकदेखि खुद्रा बजारसम्म आपूर्ति कमजोर हुँदा व्यापारीले मागअनुसार केरा उपलब्ध गराउन नसकेको र उपभोक्ताले उच्च मूल्य तिर्न बाध्य भएको अवस्था छ।

Tata
GBIME
Nepal Life

सरकारले तिहारयता भारतीय केरा आयातमा रोक लगाएपछि बजारमा यो समस्या चर्किएको व्यवसायीहरूको भनाइ छ। आयातित केरामा ‘टीआर फोर’ रोग देखिएको भन्दै जैविक सुरक्षाको कारण देखाएर रोक लगाइएको थियो।

स्वदेशी उत्पादनलाई संरक्षण गर्न किसानले पनि आयात रोक्न दबाब दिएका थिए। तर, बजारको वास्तविक माग र आपूर्ति अवस्थाको पर्याप्त अध्ययन नगरी निर्णय हुँदा अहिले अभाव र महँगी भएको हो।

मुलुकमा वार्षिक करिब ८० हजार टन केरा उत्पादन हुने भए पनि वर्षभरि आपूर्ति स्थिर हुँदैन। हाल स्वदेशी उत्पादनको सिजन नभएकाले बजारमा आपूर्ति न्यून छ।

यसैबीच, आयातमा कडाइ भएपछि अवैध रूपमा भारतीय केरा भित्रिने क्रम बढेको व्यवसायीहरू बताउँछन्। तर, यस्तो आपूर्ति अनियमित र असंगठित हुँदा बजार सन्तुलन कायम हुन सकेको छैन।

कुलेश्वरस्थित फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँका अनुसार अहिले केराको मूल्य अस्वाभाविक रूपमा बढेको छ।

‘बजारको माग, उत्पादन र आपूर्तिको यथार्थ नबुझी आयात रोक्दा उपभोक्ता महँगीमा परेका छन्,’ उनले भने।

उनका अनुसार पहिले कार्टुनको ८०० देखि १००० रुपैयाँमा पाइने केरा अहिले २००० रुपैयाँ नाघेको छ।

थोक व्यवसायी रुद्रप्रसाद पाठक स्वदेशी उत्पादन एक त कम परिमाणमा बजारमा आउने र त्यसमाथि ग्रेडिङ नगरी बजारमा पठाइने भएकाले बिक्रीमा समस्या रहेको बताउँछन्। स्वदेशी उत्पादित केरा समय नभइ बजारमा पठाउन थालेको पाइने उनले गुनासो गरे।

‘भारतबाट आए ठूला र ग्रेडिङ गरिएको केरा आउँछ। नेपालमा केराको ग्रेडिङ नगरी जस्तो छ त्यस्तै पठाउँछन्,’ उनले भने, ‘यतिबेला बजारमा माग धेरै र भाउ महँगो भएकाले किसानहरूले महँगै भाउ लगाएर पठाइरहेका छन्।’

स्वदेशी उत्पादन पर्याप्त नहुँदा पनि आयात रोक्न लगाएपछि बजारमा मूल्य र गुणस्तर दुवै प्रभावित भएको उनको बुझाइ छ।

‘किसानहरूले भने जस्तो वर्षभरी नै स्वदेशी उत्पादन हाम्रो बजारमा आउँदैन,’ उनले भने, ‘उत्पादन भाको भए अहिले थोक बजार खाली हुँदैनथ्यो।’

पहिले ९ सयदेखि १ हजार कार्टुनमा बेचिरहेको केरा अहिले २ हजार परिरहेको उनले बताए। कति पटकका ढुवानीको खेप विचार गर्दा किसानका आपूर्तिकर्ताले भारतीय केरा नै नेपाली भनेर बजारमा पठाएको देखिने पाठकको दाबी छ।

उनले भने, ‘स्वदेशी उत्पादन पर्याप्त नभएका बेला आयात रोकिनु समस्या भयो। बजारमा आउने धेरै केरा भारतीय नै हुन्, तर अनौपचारिक रूपमा भित्रिएका छन्।’

उनले ग्रेडिङ र गुणस्तर व्यवस्थापनमा कमजोरी नहटेसम्म स्वदेशी उत्पादन बजारको रोजाइमा पर्न गाह्रो देखिएको उनको भनाइ छ। थोकमा मूल्य उच्च र आपूर्ति परिमाण सीमित हुँदा खुद्रा व्यापारीहरू झन् मारमा छन्।

नख्खुका व्यापारी विनोद साह भन्छन्, ‘थोकमै महँगो हुँदा खुद्रामा बेच्न गाह्रो भएको छ। पहिले १५० रुपैयाँमा पाइने दर्जन केरा अहिले २५० रुपैयाँभन्दा माथि पुग्दा ग्राहकसँग झगडा हुने अवस्था छ।’

उनका अनुसार पर्याप्त आपूर्ति नहुँदा पसलमा केरा नै राख्न कहाँबाट खोजेर ल्याउनुजस्तो भएको छ।

अर्का व्यवसायी अर्पण थापाका अनुसार अवैध आपूर्तिकर्ताले मनपरी मूल्य तोक्दा नियमित व्यापारी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा छन्।

‘भाउ पनि उच्च छ, सामान पनि भरपर्दो छैन,’ उनले भने।

व्यवसायीहरू सरकारको निर्णय प्रक्रियामै कमजोरी देख्छन्। आयात रोक्नुअघि स्वदेशी उत्पादनले कति समय बजार धान्न सक्छ भन्ने स्पष्ट योजना नबनाउँदा अहिलेको समस्या आएको उनीहरूको भनाइ छ। साथै, अवैध आयात नियन्त्रणमा प्रभावकारी कदम नचालिँदा राजस्वसमेत गुमिरहेको छ।

यद्यपि केरा किसानका संगठनले भने स्वदेशी उत्पादनलाई अवसर दिन आयात नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन्। तर, हालको अवस्थामा उत्पादन र आपूर्तिबीच सन्तुलन नहुँदा बजारमा उपभोक्ता र व्यापारी दुवै दबाबमा छन्।

व्यवसायीहरूका अनुसार नियमित र पारदर्शी आयात व्यवस्था मिलाइए केराको मूल्य पुनः घटेर प्रति दर्जन करिब १५० रुपैयाँ आसपासमा झर्न सक्छ। अहिलेको अवस्था भने उपभोक्ताका लागि रहर नभई बाध्यता बनेको उनीहरूको निष्कर्ष छ।

सरकारबाट बेवास्ता भयो : व्यवसायी 

अवैध आयातको बारेमा तत्कालीन कृषिमन्त्री मदनप्रसाद परियार र सचिवहरूलाई जानकारी गराए पनि कुनै एक्सन नलिएको अध्यक्ष बानियाँले बताए। मन्त्रालयले किसान र व्यवसायीसँग छलफल गरी अध्ययन समिति बनाएको थियो। तर, उक्त समितिबाट कुनै निर्णय नभएको उनले बताए।

उनका अनुसार नेपालमा उत्पादन भएको केराले कति समय पुग्ने र कुन समयमा केरा आयात गर्ने भनेर निर्क्यौल नगरी पर्मिट बन्द गर्दा अवैध आयात मौलाएको छ। जसले गर्दा दैनिक ३५ लाखभन्दा बढी राजस्व गुमिरहेको छ।

आयात रोकिएपछि बजारमा गैरव्यवसायीले अवैध रूपमा केरा भित्र्याइरहेका छन्। बिलविनै कारोबार गरिरहेका छन्।

‘रोगका कारण आयात रोकिएको भए पनि अवैध आयातले जैविक सुरक्षा पनि भएको छैन,’ उनले भने, ‘स्वदेशी उत्पादनले बजारलाई नपुग्ने अवस्थामा आयात गर्न दिनुपर्छ। स्वदेशी उत्पादन पर्याप्त भए आयातित प्राथमिकतामा पर्दैन।’

यसबारे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीलाई जानकारी गराए पनि उनले बेवास्ता गरेको गुनासो अध्यक्ष बानियाँको छ। अवैध आयात र मूल्यवृद्धिको बारेमा पटक-पटक खबर गर्दा पनि विभाग यस सम्बन्धित नरहेको जानकारी दिएको संघले जनाएको छ।

कसरी चिन्ने नेपाली र भारतीय केरा?

बजारमा उपभोक्ताले केरा खरिद गर्दा स्वदेशी र भारतीय कुन हो भनेर चिन्न सकिँदैन। व्यापारीले उपभोक्तासँग एउटै भाउमा बिक्री गरिरहेका छन्।

व्यवसायीका अनुसार बजारमा भएका सबै केरा स्वदेशी उत्पादन होइनन्। हाल बजारमा देखिएको हरियो र मोटो जी नाइन केरा भारतीय हो। स्वदेशी केरा भारतीयभन्दा साना हुन्छन्।

अहिले मालभोग केरा आउने बेला होइन। बजारमा भएको साना कोसा चिनिचम्पा र तरकारी खाने धुर्से केरा मात्र नेपाली हो। बजारमा चरम अभाव भएकाले भारतीय सीमानाकाका जिल्लाहरूमा पनि यो केरा उत्पादन हुन थालेको छ। जसले गर्दा व्यापारीले स्वादेशी र भारतीय केरा मिक्स गरेर बजारमा पठाउने गरेको जानकारी आइरहेको संघले जनाएको छ।

बजारमा दैनिक २०० टन केराको माग हुने गरेको छ। स्वदेशी केरा न्यून छ। अवैध केरा १० गाडी अर्थात १०० टनभन्दा बढी भित्रिरहेको संघले जनाएको छ। बजारमा जस्तो र जसरी आइपुगे पनि कारोबार गर्न व्यवसायी बाध्य रहेको अध्यक्ष बानियाँ बताउँछन्।

‘यो रहर होइन बाध्यता हो। सरकारले परमिट खोले व्यवसायीले आयात गरेको केरा उपभोक्तालाई प्रति दर्जन १५० रुपैयाँसम्ममा बिक्री गर्न तयार छौं,’ उनले भने।

काठमाडौं उपत्यकामा मात्र केराको कारोबार करोडौंको छ।