BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको साधारण सभा के होला? उच्च अदालतमा बुधबार दुवै पक्षसँग छलफल

२०८२ चैत्र २४

एफएनसीसीआईको साधारण सभा के होला? उच्च अदालतमा बुधबार दुवै पक्षसँग छलफल
एफएनसीसीआईको साधारण सभा के होला? उच्च अदालतमा बुधबार दुवै पक्षसँग छलफल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यही चैत मसान्तका लागि तय ६०औं साधारण सभा हुने/ नहुनेमा अन्योल उत्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएका कारण व्यवसायीहरुमा अन्योल उत्पन्न भएको हो।

न्यायाधीश स्वीकृति पराजुलीको इजलासले साधारण सभाको कामकारबाही यथास्थितिमा राखि एफएनसीसीआई र ढुवानी व्यवसायी महासंघलाई बुधबार छलफलमा बोलाउन आदेश दिएको छ।

‘मिति २०८२ चैत २९ र ३० मा सम्पन्न हुन लागेको भनिएको काम कारबाहीको विषयमा चैत २५ मा दोहोरो छलफल गरी यथास्थितिमा राख्न पर्ने हो, होइन? भन्ने विषयमा सुनुवाई गर्ने गरी हाल उक्त मितिमा सम्पन्न गर्ने भनिएको साधारण सभाको कार्य दोहोरो छलफल नभएसम्म यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिएको छ,’ अदालतको आदेशमा भनिएको छ।

ढुवानी व्यवसायी महासंघले २०८१ चैत २८ मा सम्पन्न एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभामा सदस्यको हैसियतले उपस्थित रहेकामा अहिले आफूलाई समावेश नै नगरी एवं सदस्यता सम्बन्धी निर्णय नगरी साधारण सभा गर्न लागिएको भन्दै अन्तरिम आदेश मागेर रिट दायर गरेको थियो।

अदालतले ढुवानी व्यवसायी महासंघको माग बमोजिम आदेश जारी नहुनुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न एफएनसीसीआईलाई १५ दिनको समय दिएको छ।