BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर तीन महिनापछि मात्रै, राष्ट्र बैंक भित्र-बाहिर बेग्लै छ चर्चा

२०८२ चैत्र २४

राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर तीन महिनापछि मात्रै, राष्ट्र बैंक भित्र-बाहिर बेग्लै छ चर्चा
राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर तीन महिनापछि मात्रै, राष्ट्र बैंक भित्र-बाहिर बेग्लै छ चर्चा


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नरले ऐन अनुसार दुई जना डेपुटी गभर्नर नियुक्तिका लागि चार जनाको नाम सिफारिस गर्दा सरकारले किरण पण्डितलाई मात्र नियुक्त गरेको छ।

Tata
GBIME

गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सहमतिकै आधारमा मंगलबार चार जनाको नाम सिफारिस गरेका थिए। तर, मन्त्रिपरिषद्ले भने एक जनालाई मात्र नियुक्त गरेको हो।

एक मन्त्रीका अनुसार, राष्ट्र बैंकभित्र भविष्यमा हुने भ्याकुमलाई रोक्न रणनीतिक हिसाबले एक जनालाई मात्र नियुक्त गरिएको हो।

‘डेपुटी गभर्नर एकै पटक रिक्त हुँदा नयाँ नियुक्ति नहुन्जेल राष्ट्र बैंकमा लथालिङ्गको अवस्था सृजना हुने रहेछ,’ एक मन्त्रीले बिजमाण्डूसँग भने, ‘त्यसैले अहिले एक जना नियुक्त गरिएको हो। अब अर्को एक जनाको पदपूर्ति तीन महिनापछि गरिने छ।’

त्यसो हुँदा राष्ट्र बैंक कहिल्यै पनि डेपुटी गभर्नरविहीन नहुने ती मन्त्रीले सुनाए।

डा. युवराज खतिवडा गभर्नर हुँदासम्म पनि डेपुटी गभर्नरहरु फरक/फरक समयमा अवकाश हुन्थे। खतिवडाले त्यसबेला डा. रविन्द्र पाण्डेलाई रोक्न अवकाश नहुन्जेलसम्म नियुक्ति प्रकृया अगाडि बढाएनन्। 

त्यसबेला कृष्णबहादुर मानन्धर अवकाश भइसकेकाले एउटा पद रिक्त थियो। वीरबिक्रम रायमाझी पनि डेपुटी गभर्नरबाट अवकाश भए। कार्यकारी निर्देशकबाट पाण्डे अवकाश भएपछि खतिवडाले एकै पटक दुई जना डेपुटी गभर्नरको नाम सिफारिस गरेका थिए।

त्यहीबेला देखि एकै पटक डेपुटी गभर्नर अवकाश हुने र नियुक्ति हुने क्रम सुरु भयो। अहिले आएर सरकारले फरक फरक समयमा डेपुटी गभर्नर नियुक्त गर्ने थिति बसाउन खोजेको ती मन्त्रीले बताए।

तर, राष्ट्र बैंकभित्र र बाहिर भने गभर्नर हटाउने प्रपञ्चका रुपमा एक जना मात्र डेपुटी गभर्नर नियुक्त गरिएको चर्चा छ। दुबै जना डेपुटी गभर्नर नभएका बेला गभर्नरलाई हटाउने काम सुरु भयो भने राष्ट्र बैंकमा नेतृत्व शून्यता हुन्छ। त्यसैले डेपुटी गभर्नर नियुक्त गरेर गभर्नर हटाउने प्रपञ्च बुनिएको हो कि भन्ने चर्चा राष्ट्र बैंकभित्र र बाहिर चलेको छ। रिक्तताका बेला डेपुटी गभर्नरलाई कामु गभर्नरको जिम्मा दिने कानुनी व्यवस्था छ।

यद्यपी ती मन्त्रीले भने तीन महिनापछि अर्को डेपुटी गभर्नर नियुक्तिले सबै अनुमानहरुको खण्डन गर्ने बताए।