BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, पाँच वर्षको कार्यकाल

२०८२ चैत्र २४

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, पाँच वर्षको कार्यकाल
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त, पाँच वर्षको कार्यकाल


काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी पाँच वर्षका लागि पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

Tata
GBIME

नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गरेको हो। रिक्त दुई पदका लागि गभर्नरले चार जनाको नाम सिफारिस गरेका थिए।

गत फागुन २५ गते  डा. नीलम ढुङ्गना तिम्सिना र बमबहादुर मिश्र अवकाश भएपछि डेपुटी गभर्नरको पद रिक्त थियो। डेपुटी गभर्नर राष्ट्र बैंकको कार्यकारी निर्देशकमध्येबाट छान्नु पर्ने कानुनी व्यवस्था छ। 

पण्डित विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्।

गभर्नर डा. पौडेलले आइतबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग डेपुटी गभर्नरको नामका बारेमा छलफल गरेका थिए। त्यसअघि उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि कुरा गरेका थिए। सरकारले दुईमध्ये एक डेपुटी गभर्नर खाली राखेको छ।।

को हुन् पण्डित?

२०६२ माघ २ गते राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डित २०६८ जेठ २७ गते उपनिर्देशकमा बढुवा भएका थिए।

२०७४ असार २७ गते निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका पण्डितले राष्ट्र बैंकको महत्वपूर्ण संरचनामा बसेर काम गरेका छन्।

महाप्रसाद अधिकारी गभर्नर हुँदा जारी भएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको मस्यौदा पण्डितले तयार पारेका थिए।

विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक पण्डित केही समय राष्ट्र बैंकको प्रवक्तासमेत थिए। उनले कार्यकारी निर्देशकका रुपमा भुक्तानी प्रणाली विभागको पनि नेतृत्व गरेका थिए।

पण्डितले राष्ट्र बैंकभित्र बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजन लगायतमा बसेर काम गरिसकेका छन्।

बजारसँग एकदमै कम अन्तर्क्रिया गर्न रुचाउने ४६ वर्षीय पण्डित अर्थमन्त्रीको निर्वाचन क्षेत्र तनहुँका स्थानीय हुन्।