काठमाडौं। सेयर बजारमा सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ। धितोपत्र कारोबार विनियमावली संशोधन गरेर सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको हो।
संशोधित विनियमावलीमा सेयर कारोबारमा सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत बनाइएको छ। बजार ८ प्रतिशत घटबढ भएमा मात्र त्यस दिनका लागि कारोबार स्थगित हुनेछ।
सर्किट ब्रेकरको तल्लो सीमा ५ प्रतिशत राखिएको छ।
बजारमा अहिले कारोबारको पहिलो एक घण्टाभित्र नेप्से सूचक ४ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक लाग्ने व्यवस्था छ। पहिलो सर्किट ब्रेकपछि कारोबार २० मिनेटका लागि स्थगित हुन्छ। यस्तो सीमा अब ५ प्रतिशत कायम गरिएको।
बजारमा अहिले दोस्रो पटक नेप्से ५ प्रतिशत घटबढ भए ४० मिनेटका लागि कारोबार बन्द हुन्छ। त्यसपछि खुलेको कारोबारमा नेप्से परिसूचक ६ प्रतिशत घटबढ भए त्यस दिनलाई नै कारोबार स्थगित हुने व्यवस्था छ।
नेपाल स्टक एक्सचेन्जको प्रस्तावमा नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको सोमबार बसेको बैठकले विनियमावली संशोधन गरेको छ।