काठमाडौं। सेयर लगानीकर्ताले अब बजार बन्द रहेका बेला पनि किनबेचका लागि अर्डर गर्न पाउने भएका छन्। लगानीकर्ताले सेयर बजार खुला नरहेको अवधि अर्थात आफ्टर मार्केट अर्डर प्रविष्ट गर्न पाउने भएका हुन्।
नेपाल स्टक एक्सचेन्जको प्रस्तावमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरेसँगै आफ्टर मार्केट अर्डरको व्यवस्था कार्यान्वयनमा आउने भएको हो।
नेप्सेको सञ्चालक समितिले पठाएको विनियमावलीको मस्यौदा सेबोनको सञ्चालक समितिले सोमबार राति स्वीकृत गरेको छ। विनियमावली स्वीकृत भएसँगै नेप्सेले अब आफ्टर मार्केट अर्डरको व्यवस्था लागू गर्नेछ।
‘नेप्सेले पठाएको धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनको मस्यौदा सेबोन सञ्चालक समितिको सोमबारको बैठकले स्वीकृत गरेको छ। विनियमावलीमा गरिएको व्यवस्था कार्यान्वयनका लागि अब नेप्सेलाई बाटो खुलेको छ,’ सेबोनका एक सञ्चालकले भने।
सेयर बजारमा गैरआवासीय नेपाली लगानीकर्ता भित्र्याउने सरकारको नीतिलाई बल पुर्याउन आफ्टर मार्केट अर्डरको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको नेप्सेका अधिकारीहरु बताउँछन्।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँले सेबोनको निर्णय आएपछि आफ्टर मार्केट अर्डरको व्यवस्था लागू गर्ने बताए। ‘हामीकहाँ सेबोनको निर्णय आइपुगेको छैन। आएपछि हामी आफ्टर मार्केट अर्डरको व्यवस्था कार्यान्वयन गर्छौं,’ चापागाइँले भने।
विनियमावली अनुसार अहिले लगानीकर्ताले प्रारम्भिक कारोबारमा १०:३० बजेदेखि कारोबार प्रणालीमा आदेश प्रविष्ट गर्न पाउँछन्। कारोबार अवधि ३ बजेपछि लगानीकर्ताले खरिद बिक्रीका लागि आदेश प्रविष्ट गर्न पाउँदैनन्।
नेप्सेमा नियमित कारोबार बन्द भएपछि कम्पनीको कायम अन्तिम मूल्यका आधारमा खरिद बिक्रीको अर्डर हाल्न सक्ने व्यवस्था लागू गर्न लागिएको हो।
अहिले लगानीकर्ताले प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहेर गर्नुपर्ने व्यवस्था छ।
आफ्टर मार्केट अर्डरको व्यवस्था लागू भएपछि सेयर बजारमा कारोबार बढ्ने विश्वास गरिएको छ। विनियमावलीमा गरिएको संशोधनलाई ब्रोकरहरुले स्वागत गरेका छन्।
स्टक ब्राेकर्स एसाेसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले जतिबेला पनि अर्डर हाल्न मिल्ने व्यवस्था बजारका लागि सकारात्मक भएकाे बताए।
‘अहिले कतिपय लगानीकर्ताले बजार खुलेका बेला समय दिन नसकेर कारोबार गर्न नपाइरहेको अवस्था छ। खासगरी सरकारी कर्मचारी र विदेशमा रहेका लगानीकर्तालाई अफ्ठेरो परिरहेको थियो। अब उनीहरूले आफ्नो सुविधा अनुसार सेयर किनबेचका लागि अर्डर गर्न सक्नेछन्,’ रानाभाटले भने, ‘नयाँ व्यवस्थाले लगानीकर्तालाई सहज हुँदा बजारमा तरलतासँगै कारोबारको भोलुम पनि बढ्छ।’