BIZMANDU
www.bizmandu.com

दीपक भट्टलाई गैरकानुनी लाभ पुर्‍याउने भृकुटी स्टक कारबाहीमा, निलम्बन गरेर स्पष्टीकरण

२०८२ चैत्र २३

दीपक भट्टलाई गैरकानुनी लाभ पुर्‍याउने भृकुटी स्टक  कारबाहीमा, निलम्बन गरेर स्पष्टीकरण
दीपक भट्टलाई गैरकानुनी लाभ पुर्‍याउने भृकुटी स्टक कारबाहीमा, निलम्बन गरेर स्पष्टीकरण


काठमाडौं। दीपक भट्ट र शंकर समूहको लाभका लागि कानुन विपरीत सेयर काराेबार गराएकाे भृकुटी स्टक ब्रोकिङमाथि नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कारबाही गरेको छ।

Tata
GBIME

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे पत्रपछि सोमबार बसेको सेबोन सञ्चालक समिति बैठकले ब्रोकर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

भृकुटी स्टककाे अनिश्चित कालका लागि काराेबार निलम्बन गरिएकाे छ। कम्पनीलाई स्पष्टीकरण साेधिएकाे सेबाेनका सञ्चालकले जानकारी दिए।

`भृकुटी स्टकलाई अर्काे निर्णय नभएसम्मलाई निलम्बन गरिएकाे छ,´सेबाेनका एक सञ्चालकले भने, दीपक भट्टकाे लागि काेल्याट्रल नलिई सेयर खरिद गरिएकाे पाइएपछि कारबाही गरिएकाे हाे। ब्राेकरलाई निलम्बनसँगै स्पष्टीकरण पेस गर्न लगाउने निर्णय सञ्चालक समितिले गरेकाे हाे।´

भृकुटी स्टकले भट्टलाई सेयर काराेबारमा रकम दुरूपयाेग गर्न ब्राेकरले भूमिका खेलेकाे पाइएकाे सेबाेनका अधिकारी बताउँछन्।

पब्लिक कम्पनीको पैसा दुरुपयोग गर्ने दीपक भट्ट र शंकर ग्रुपलगायत उनका व्यवसायिक साझेदारमाथि अनुसन्धान गरिरहेको विभागले भृकुटी ब्रोकरको विवरण पठाउन सेबाेनसहित नेप्सेसँग भनेको थियो।

विभागले नेपाल स्टक एक्सचेन्ज,सेबोनका साथै बीमा प्राधिकरण,सीडीएस एण्ड क्लियरिङलाई पत्र लेखेर विवरण उपलब्ध गराउन भनेको थियो।

भृकुटी स्टक ब्रोकिङको सेयरधनी मनोजलाल कर्णकी पत्नी सुधा कर्ण हुन। कम्पनीमा उनको उनीसँग ब्रोकर कम्पनीको २५ प्रतिशत सेयर छ। भट्ट र उनका साझेदार शंकर समूहले पब्लिक कम्पनीको सेयर लिएर दुरुपयोग गर्दा मनोज लाल कर्ण यही समूहको लगानी रहेको हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए।

कर्णले कम्पनीमा अध्यक्ष सुलभ अग्रवालको स्वार्थमा मात्रै काम गरेको भन्दै कर्मचारी नै आन्दोलनमा उत्रिएपछि राजीनामा दिएका थिए।

भृकुटी स्टक ब्रोकिङले हिमालयन लाइफ इन्स्योरेन्सको सेयर किनबेचमा मतियारको रुपमा काम गरेको थियो। सरकारी लगानी रहेको नेपाल रिइन्स्योरेन्स कब्जा गर्ने भट्ट र शंकर ग्रुपकाे रणनीतिमा ब्राेकरले सेयर खरिदबिक्रीकाे काम गरेकाे थियाे।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडका आधारभूत सेयरधनी भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्याेरेन्स कम्पनी लगायतकाे सेयर खरिदमा पब्लिक कम्पनीकाे ३ अर्ब ८१ कराेड रूपैयाँ दुरुपयोग गरेका थिए।

भट्टलाई गैरकानुनी लाभ पुर्‍याउन भृकुटी स्टकले मतियारकाे काम गरेकामा कैफियत देखिएपछि कारबाहीमा परेकाे हाे। भट्टलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेकाे छ।