BIZMANDU
www.bizmandu.com

सेयर बजार ‘प्यानिक’ भएपछि अर्थमन्त्री बने सक्रिय, लगानीकर्ताको मनोबल बढाउन नीतिगत निर्णय गर्ने

२०८२ चैत्र २३

सेयर बजार ‘प्यानिक’ भएपछि अर्थमन्त्री बने सक्रिय, लगानीकर्ताको मनोबल बढाउन नीतिगत निर्णय गर्ने
सेयर बजार ‘प्यानिक’ भएपछि अर्थमन्त्री बने सक्रिय, लगानीकर्ताको मनोबल बढाउन नीतिगत निर्णय गर्ने


काठमाडौं। एक सातामै सेयर बजारमा २७४ अंकको पहिरो गएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउन पहलकदमी लिएका छन्। उनले सोमबार बिहान सेयर ब्रोकरहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका छन्।

Tata
GBIME

अर्थमन्त्री वाग्लेले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग नीतिगत निर्णयको आश्वासन समेत दिएका छन्।

‘तपाइँहरूले दिनुभएको सुझाव कार्यान्वयन गर्छु। लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण छैन,’ वाग्लेको भनाई उद्धृत गर्दै एसोसिएसनका अध्यक्ष सागर ढकालले बिजमाण्डूसँग भने।

स्टक ब्रोकर्स एसोसिएसनले लगानीकर्ता त्रसित हुँदा बजार घटेको भन्दै सरकारलाई ६ बुँदे सुझाव दिएको छ।

अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले दिएको सुझाव समेत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

‘हामीले बजारलाई प्रवर्धन नै गर्छौं। यसलाई बिगार्ने कुनै कार्यक्रम आउँदैन। र, लगानीकर्ताले मनोबल घटाउनुपर्ने अवस्था पनि छैन,’ अर्थमन्त्री वाग्लेले ब्रोकरलाई आश्वस्त पार्दै भने।

उनले सरकार निजी क्षेत्र मैत्री रहेकामा आशंका नगर्न आग्रह गर्दै आगामी जेठ १५ गते २०४८ सालयताकै रुपान्तरणकारी बजेट ल्याउने बताए।

‘सरकार निजी क्षेत्र मैत्री छ। मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ। हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्‍याउने भनेर लागेका छौं। बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ। देशको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ। हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौं,’ अर्थमन्त्री वाग्लेको भनाइ उद्यृत गर्दै एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले भने।

सम्पत्ति शुद्धीकरणसँग जोडिएको अनुसन्धान यसअघिबाटै चलेकामा पनि अहिलेको सरकारले निरन्तरता मात्रै दिएकाले अनावश्यक शंका नगर्न अर्थमन्त्रीले आग्रह गरेको एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले बताए।

‘पुँजी बजार सबैभन्दा पारदर्शी क्षेत्र हो। यसमा निजी क्षेत्रका व्यवसायी डराउनुपर्दैन,’ उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘हामी निजी क्षेत्रमैत्री छौं। त्यसबाहेक सरकारी संस्थाको लगानी रहेका संस्थाहरूले सेयर किनबेचको व्यवस्थाका लागि पनि पहल गर्छु। लगानीका लागि आवश्यक पर्ने कानुन संशोधन गर्न पनि सरकार तयार छ।’

सेबोनका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले पुँजीबजारमा सुधारका लागि दिएका सुझावमध्ये अधिकांश कार्यान्वयन गरिएको छैन। सेबोनले सुझाव कार्यान्वयनका लागि कार्ययोजना भने बनाइसकेको छ।

ब्रोकरहरूले बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचका लागि सहज व्यवस्था गर्न आग्रह गरेका छन्।

‘बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रुपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गरिनु पर्ने,’ एसोसिएसनले अर्थमन्त्री वाग्लेलाई बुझाएको पत्रमा भनिएको छ।

हाल खरिद गरेको सेयर ६ महिनाको अवधिपश्चात मात्रै बिक्री गर्न सकिने व्यवस्था छ। गैर आवासीय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्ने व्यवस्था तत्काल गरिनुपर्ने एसोसिएसनको माग छ।

सरकारले यसअघि गैरआवासीय नेपालीलाई दोस्रो बजारमा भित्र्याउने घोषणा गरे पनि त्यो अहिलेसम्मै घोषणामै सीमित छ। बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम कर हो भनी प्रष्ट पार्न पनि ब्रोकरहरूले माग गरेका छन्।

बजारमा हाल साना लगानीकर्ताको मनोबल बढाउनका लागि सरकारी संस्थानमा विभिन्न कोषका नाममा रहेको रकम दोस्रो बजामा सहजरुपमा लगानी गर्ने व्यवस्था गर्न पनि ब्रोकरहरूले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएका छन्।

यस्तै, अक्सन मार्केट सुर गर्नुपर्ने तथा सेटलमेन्ट ग्यारेन्टी फण्डसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने ब्रोकरहरूको माग छ।

‘बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्ष्यमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशिघ्र सुरुवात गरिनुपर्ने,’ एसोसिएसनले भनेको छ, ‘सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको छ। सो कार्यविधि विगत लामो समयदेखि कार्यन्वयनमा आउन नसकेका कारण नियामक निकायहरूलाई आवश्यक निर्देशन दिन हुन अनुरोध गर्दछौं।’