BIZMANDU
www.bizmandu.com

विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, कन्टेन्ट क्रियटरले डलर खातामै पैसा राख्न पाउने

२०८२ चैत्र २३

विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, कन्टेन्ट क्रियटरले डलर खातामै पैसा राख्न पाउने
विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, कन्टेन्ट क्रियटरले डलर खातामै पैसा राख्न पाउने


काठमाडौं। सेवा आयातका लागि गरिने विदेशी मुद्राको भुक्तानीमा नेपाल राष्ट्र बैंकको मञ्जुरी अनिवार्य लिनु पर्ने व्यवस्थालाई हटाइने भएको छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र हुने भुक्तानीको जिम्मा वाणिज्य बैंकहरुलाई दिन लागिएको हो।

Tata
GBIME

अहिले भारतबाहेकका देशबाट चलचित्र ल्याउँदा होस् या अन्य शैक्षिक कार्यक्रमका लागि भुक्तानी गर्दा होस् राष्ट्र बैंकको स्वीकृति लिएपछि मात्र भुक्तानी हुन्छ। 

‘यस्ता साधारण कुराहरुका लागि राष्ट्र बैंकको जनशक्ति अनावश्यक काममा लाग्नुपर्ने अवस्था छ,’ गभर्नर डा. विश्वनाथ पौडेलले बिजमाण्डूसँग भने, ‘यी काम बैंकहरुबाटै हुँदा काम पनि छिटो हुने भयो।’ 

सेवा आयातकर्ताले राष्ट्र बैंकले अनिवार्य गरेका कागजपत्र बोकेर बैंक गएर डलरमा भुक्तानी गर्न सक्ने छन्। राष्ट्र बैंकमा बुझाएजस्तै कागजपत्रहरु बैंकलाई पनि बुझाउनुपर्ने हुन्छ।

फर्म, कम्पनी वा संस्था दर्ताको प्रमाणपत्र, करदर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वा विवरण, पछिल्लो लेखा परीक्षण विवरण, सेवा आयातको बिलबीजक बुझाउनु पर्छ। यसबाहेक सम्झौता हुने प्रकृतिको सेवा आयातको हकमा सेवा प्रदान गर्ने संस्थासँग गरेको प्रामाणिक सम्झौता पनि चाहिन्छ।

काम सकिएपछि सटही सुविधा माग गरिएको भए त्यो पुष्टि हुने कागजपत्र, काम प्रदान गर्ने संस्थाबाट भुक्तानी  प्राप्त भएको भए त्यो खुल्ने कागजपत्र वा बैंक स्टेटमेन्ट पनि चाहिन्छ।

नियामक निकाय भएका संस्थाहरुले त्यहाँबाट पनि सिफारिस ल्याउनु पर्छ। जस्तो कुनै एयरलाइन्स कम्पनीले कुनै सेवा खरिद गर्न चाहेको हो भने त्यस सम्बन्धि सिफारिस नियामक नेपाल उड्डयन प्राधिकरणले गरिदिएको हुनु पर्छ।

त्यसपछि सेवा आयातकर्ताले सोझै बैंकमा गएर भुक्तानी सेवा लिन सक्छ। राष्ट्र बैंकका अनुसार, केही दिनमै यस सम्बन्धि नीतिगत व्यवस्था गरिने छ।

‘आन्तरिक रुपमा सबै काम सकिएको छ। यसबाट एक चरणको ढिलासुस्ती हटेर जाने छ,’ उच्च स्रोतले भन्यो, ‘ग्राहकलाई पनि सहज हुन्छ र  राष्ट्र बैंकलाई पनि हलुका हुन्छ।’

घुम्न-खर्च गर्न प्रोत्साहन

युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालका ‘कन्टेन्ट क्रियटर’ ले प्राप्त गर्ने आम्दानीमध्ये आधा डलर खातामै राख्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले कन्टेन क्रियटरहरुलाई विदेशमा घुम्न, किनमेल गर्न सजिलो होस् भनेर राष्ट्र बैंकले लचिलो नीति लिन लागेको हो। 

अहिले यसरी प्राप्त हुने आम्दानी नेपाली रुपैयाँमा सटही भएपछि मात्र उनीहरुले पाउँदै आएका छन्। अब उनीहरुले आधा आम्दानी डलर खातामै राख्न पाउने छन्। 

अहिले युट्युब, फेसबुकजस्ता प्लाटफर्ममा च्यानल तथा एकाउन्ट खोलेर ‘कन्टेन्ट’ बनाएर राख्दा भ्युअर्सका आधारमा आम्दानी हुन्छ। युट्युब तथा फेसबुकलगायतले कन्टेन्ट क्रियटरहरुको खातामा निश्चित अवधिमा पैसा पठाइदिन्छ।

त्यरी पठाइएको पैसामा २०७८ को बजेटपछि १ प्रतिशत कर लाग्दै आएको छ। कर काटेको पैसा सबै नेपाली रुपैयाँमै भुक्तानी हुँदै आएको थियो। 

मुख्यत: कन्टेन्ट क्रियटरहरुले विदेशमा घुम्न, खर्च गर्न प्रोत्साहित गर्न खोजिएको हो। ‘कमाएको पैसा खर्च गर्न पाउनु पर्छ भन्ने हो,’ उच्च स्रोतले भन्यो, ‘अहिले विदेशी मुद्राको सञ्चिति पनि उच्च छ। त्यसको लाभ नागरिकले पनि पाउनु पर्छ।’