काठमाडौं। सरकारले इन्धनको खपत कम गर्न भन्दै सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गर्यो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा दुई दिन बिदा हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीले फोन गरेर यस विषयमा राष्ट्र बैंकसँग जवाफ मागेका छन्।
मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्र बैंक अबदेखि शनिबारका साथै आइतबार पनि बन्द हुन्छ। राष्ट्र बैंक बन्द भएका दिन निजी बैंक तथा वित्तीय संस्था खोल्न अनिवार्य नहुने राष्ट्र बैंकका एक अधिकारीले बताए। तर नगद र विद्युतीय कारोबार अनिवार्य सेवा भएकाले सीमित शाखा खोल्नु पर्ने उनको भनाइ छ।
‘सरकारी कार्यालय बन्दको सरकारी निर्णय राष्ट्र बैंकका हकमा लागू हुन्छ। राष्ट्र बैंक खुलेको दिन बैंक तथा वित्तीय संस्थाहरु अनिवार्य संचालन गर्नुपर्छ। राष्ट्र बैंक बन्द भएको दिन बैंक तथा वित्तीय संस्था संचालन गर्नुपर्ने व्यवस्था छैन,’ राष्ट्र बैंकका एक अधिकारीले बिजमाण्डूसँग भने, ‘तर नगद र विद्युतीय कारोबारलाई अनिवार्य सेवा मानेर थोरै कर्मचारी राखेर सीमित शाखा खोल्नुपर्छ।’
बिदा बाहेकको समयमा शाखा संचालन गर्दा राष्ट्र बैंकको नियमन र सुवरिवेक्षण विभागमा जानकारी गराउनु पर्छ।