काठमाडौं। केही सेयर लगानीकर्ताहरूले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन्। सेयर लगानीकर्ताहरूले आइतबार अपराह्न सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका हुन्।
‘जिउँदा लगानीकर्ता’ नाम दिइएको उक्त विरोध कार्यक्रमको नेतृत्व तिलक कोइरालाले गरेका थिए। प्रदर्शनमा करिब ४०-५० जना सेयर लगानीकर्ता सहभागी थिए।


सेयर बजार आइतबार १०५.५० अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आइतबार कारोबार खुलेदेखि ओरालो लागेकामा अन्तिममा ३.७९ प्रतिशत घटेर २६७६.६८ विन्दु कायम भएको छ।
बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ। ७ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।


सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाएपछिको तरंग सेयर बजारमा देखिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले बिचौलिया दीपक भट्ट तथा उनका व्यावसायिक साझेदारका रुपमा रहेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोरा सुलभलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
नयाँ सरकार बनेपछि नेप्से २७४ अंकले ओरालो लागिसकेको छ।