BIZMANDU
www.bizmandu.com

शंकर समूहको ७६ अर्ब बैंक ऋण, १ खर्बको लिमिट, दीपक भट्टको कम्पनीमा ८० करोड

२०८२ चैत्र २२

शंकर समूहको ७६ अर्ब बैंक ऋण, १ खर्बको लिमिट, दीपक भट्टको कम्पनीमा ८० करोड
शंकर समूहको ७६ अर्ब बैंक ऋण, १ खर्बको लिमिट, दीपक भट्टको कम्पनीमा ८० करोड

काठमाडौं। ‘पब्लिक लिमिटेड’ कम्पनीको पैसा दुरुपयोग गरेको पाइएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

इन्फिनिटी समूहका भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले गत बिहीबार पक्राउ गरेकामा शंकर समूहका अध्यक्ष शंकर अग्रवाल शुक्रबार र उपाध्यक्ष सुलभ अग्रवाल शनिबार समातिएका छन्। समूहका अर्का सदस्य साहिल अग्रवाललाई पनि पक्राउ पूर्जी जारी गरिएको छ।

उत्पादनमूलक उद्योगबाट साम्राज्य खडा गरेको शंकर समूह पछिल्लो समयमा सर्वसाधारणको लगानी भएको कम्पनीको रकम दुरुपयोग गर्नेदेखि राज्य सत्ता कब्जामा लिएर सम्पत्ति बढाउने होडमा थियो। यही होडका कारण अर्बौं कारोबार गर्ने समूह ठूलो समस्यामा फसेको छ। यो समूह फस्दा बैंक तथा वित्तीय संस्थाको झण्डै एक खर्ब रुपैयाँ बराबरको लगानीबारे पनि प्रश्न उठेको छ।

यो समूह अन्तर्गत जगदम्बा होल्डिङ्स र जगदम्बा ग्रुप छन्। होल्डिङ्स सुलभ अन्तर्गत छ भने ग्रुप साहिल अन्तर्गत।

शंकर समूहले स्टील, सिमेन्ट, अटोमोबाइल्स, जलविद्युत, होटल, बीमा कम्पनी, एफएमसीजी सबैतिर हात हालेको छ। ती परियोजनाका लागि लगेको ऋणका बारेमा शंकर र सुलभ पक्राउ परेसँगै राष्ट्र बैंकले सोधखोज गरेको छ।

शंकर समूहअन्तर्गतका कम्पनीले २० मध्ये १८ वटा वाणिज्य बैंकबाट ऋण चलाएका छन्। उनीहरुले एनआइसी एसिया र प्राइम कमर्सियल बैंकबाट मात्र ऋण लगेका छैनन्।

उच्च स्रोतका अनुसार, शंकर समूहले कुल एक खर्ब रुपैयाँको ऋण लिमिट पाएको छ। समूहले यसमध्ये ७६ अर्ब रुपैयाँ ऋण उपयोग गरेकव छ। समूहले एउटै बैंकबाट बढीमा ८ अर्ब र कम्तीमा ८५ करोड रुपैयाँ ऋण चलाएको छ। अहिलेसम्म सबै ऋणहरुको साँवा-ब्याज भुक्तानी नियमित छ।

समूहले जगदम्बा स्टील, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, जगदम्बा  इन्टरप्राइजेज, जगदम्बा मोटर्स, जगदम्बा ओभरसिज, जगदम्बा फुड्स, जगदम्बा स्पिनिङ मिल्स, जगदम्बा अल्को वेभ, जगदम्बा सिमेन्ट इन्टरप्राइजेज, जगदम्बा सिन्थेटिक्स, जगदम्बा हस्पिटालिटीलगायतका नाममा ऋण लिएको छ।

जगदम्बा स्टील उद्योग

यी उद्योगमध्ये सबैभन्दा बढी जगदम्बा स्टीलमा ऋण छ। यो उद्योगको बजार हिस्सा ३५ प्रतिशत बराबर छ। ठूलो उद्योग भएकाले ऋण बढी देखिएको हो। यो उद्योगले २०७७/७८ मा ४९ अर्ब ७४ करोडको कारोबार गरेको थियो। तर, मन्दीका कारण अहिले यो उद्योगको कारोबार खस्किएको छ।

शंकर समूहले चलाएका उद्योगमध्ये सौर्य सिमेन्ट र रिद्धिसिद्धि सिमेन्टमा अरु घरानाको पनि लगानी छ। सौर्य सिमेन्टमा गोल्छा समूह र अम्बे समूह साझेदार छन्। रिद्धिसिद्धिमा अम्बे समूह मुख्य लगानीकर्ता हो। अम्बे समूह स्टील र डन्डीको व्यापारमा पायोनियर मानिन्छ।

स्रोतका अनुसार, शंकर अग्रवालले केही महिनाअघि अर्का साझेदारलाई सौर्य सिमेन्ट समेत हेर्न भनेका थिए। तर, ती साझेदारले अरु व्यवसाय हेर्नुपर्ने भएकाले सौर्य हेर्न नभ्याउने जवाफ दिएका थिए। सौर्य र रिद्धिसिद्धिको व्यापार राम्रै छ। राष्ट्र बैंकले समूहको ऋण समस्यामा पर्दा बैंक तथा वित्तीय संस्थामा पर्ने असरका बारेमा जानकारी लिइरहेको छ।

अहिले वाणिज्य बैंकहरुको कुल ऋण लगानी ५८ खर्ब ३६ अर्ब रुपैयाँ छ। त्यसको १.३ प्रतिशत अर्थात ७६ अर्ब रुपैयाँ शंकर समूहका उद्योग तथा व्यापारिक फर्महरुमा ऋण प्रवाह भएको छ।

‘सबै उद्योग जिरो नै भएछ भने पनि वित्तीय क्षेत्रको खराब ऋण १.३ प्रतिशतले मात्र बढ्ने हो,’ स्रोतले भन्यो, ‘सबै कुरा जिरो त हुँदैन। अहिले मान्छे समातिएको हो। व्यापार व्यवसाय त अटोमेसनमा चलेको हुन्छ। त्यही अनुसार चल्छ।’

बैंकरहरुका अनुसार, समूहका प्रमुख सदस्य नै समातिएपछि केही अलमल हुन्छ। ‘धेरैजसो व्यवसायमा साझेदारहरु भएकाले ठूलो असर पर्छ जस्तो लाग्दैन,’ ती बैंकरले भने।

स्रोतका अनुसार केही बैंकले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले शंकर समूहका लगानीकर्तालाई समस्या पर्दा के गर्ने भनेर समेत सोधेका थिए। त्यसमा उनीहरुले साझेदारहरुले उद्योग व्यवसाय ह्यान्डिल गर्नसक्ने जवाफ दिएका थिए।

‘बैंकहरुले पनि निगरानी बढाउने भएकाले ऋण डुब्दैन। कतिपय कम्पनीको म्यानेजमेन्ट टिमले ह्यान्डिल गर्छ। कतिपय साझेदारले हेरेर अगाडि बढाउँछन्,’ ती बैंकरले भने।

पक्राउ परेका अर्का साझेदार दीपक भट्टको बैंक ऋण करिब ८० करोड हाराहारी रहेको पाइएको छ। उनको इन्फिनिटी होल्डिङ्स अन्तर्गतका विभिन्न कम्पनीमा ऋण प्रयोग भएको छ।

महाप्रसादले खोजेका थिए कस्न

२०७८ चैत २५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरियो।

विलासी वस्तुको आयात रोक्ने निर्णय चुहाएको भन्दै जाँचबुझ समिति गठन गरेपछि अधिकारी निलम्बनमा परेका थिए। तर, सर्वोच्च अदालतले निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि महाप्रसाद राष्ट्र बैंकमा फर्किए।

महाप्रसाद अधिकारी

पृथ्वीबहादुर शाहले विदेशबाट अवैध रुपमा ल्याएको पैसा फुकुवाका लागि दबाब अस्वीकार गरेपछि शर्माले महाप्रसादलाई हटाउन खोजेका थिए। स्रोतका अनुसार, यो मुद्दामा बिचौलिया भट्टको पनि संलग्नता रहेको सूचना महाप्रसादले पाएका थिए।

यो सूचनासँगै महाप्रसादले शंकर समूहसँग मिलेर तयार पारिएको व्यावसायिक साम्राज्यलाई कस्न खोजेका थिए। स्रोतका अनुसार शंकर समूहजस्तै केही व्यापारिक घरानाले कर्जाको दुरुपयोग गरेकै आधारमा चालु पुँजी सम्बन्धी निर्देशिका ल्याइएको हो।

महाप्रसादले बैंक तथा वित्तीय संस्थामार्फत शंकर समूहलाई ऋणमा कस्न खोजेका थिए। तर, भट्टले राजनीतिक नेतृत्वमार्फत दबाब दिएपछि यो विषय मत्थर भएको स्रोत बतायो।

ऋणको पोर्टफोलियो धेरै भएकै कारण शंकर समूहले जगदम्बा स्टील र हिल्टन होटलको आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाइसकेको थियो।