BIZMANDU
www.bizmandu.com

बिचौलिया भट्टपछि टार्गेटमा उनका व्यावसायिक साझेदार, बयान नसकिएपछि प्रहरी हिरासत शंकर अग्रवाल

२०८२ चैत्र २०

बिचौलिया भट्टपछि टार्गेटमा उनका व्यावसायिक साझेदार, बयान नसकिएपछि प्रहरी हिरासत शंकर अग्रवाल
बिचौलिया भट्टपछि टार्गेटमा उनका व्यावसायिक साझेदार, बयान नसकिएपछि प्रहरी हिरासत शंकर अग्रवाल

काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले हिरासतमा राखेको छ। सम्पत्‍ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार दिउँसो अग्रवाललाई पक्राउ गरेको थियो। बयानको सिलसिला जारी रहेपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो।

GBIME
Tata

प्रहरीका अनुसार शुक्रबार साँझ पौने ७ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरमा पुर्‍याइएको हो। ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएर परिसर ल्याएको हो’, परिसरका एसएसपी होबिन्द्र बोगटीले भने।

सम्पत्ति शुद्धीकरण कसुर अनुसन्धानको सिलसिलामा अग्रवाल पक्राउ परेका हुन्। शंकरको छोरा सुलभ र साहिललाई पनि विभागले बयान लिइसकेको छ।

बिचौलिया दीपक भट्ट पक्राउ परेपछि उनको समूहमा आबद्ध घरानासमेत पक्राउ पर्न थालेका छन्। भट्टसँगै जोडिएको कसुरमा अग्रवालको पनि विभागले बयान लिएको हो। उक्त प्रकरणमा विभागले दर्जनभन्दा बढीसँग बयान लिइसकेको छ।

शंकर ग्रुप नेपालको चर्चित व्यावसायिक घरानामा पर्छ। यसका प्रमुख हुन शंकरलाल अग्रवाल। उनका छोराहरु सुलभ र साहिल हुन्। सुलभ पहिलेदेखि आर्थिक रुपमा आपराधिक गतिविधिमा देखिएका थिए।

कोभिडको समयमा ‘थर्मल गन’ को कालोबजारी गर्दागर्दै तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ‘रङ्गेहात’ पक्राउ गरेको थियो। थर्मल गन १५ हजार रुपैयाँसम्ममा कालोबजारी गरेको आरोपमा २०७६ चैत २५ मा सुलभ पक्राउ परेका थिए पैसा कमाए पनि शंकर ग्रुपको राजनीतिकरूपमा पहुँच थिएन। त्यसैले उनीहरु शक्ति खोज्दै जाँदा भट्टकहाँ पुगे।

भट्ट सत्ता र शक्ति प्रयोगमा त्यतिबेलासम्म स्थापित थिए। त्यसपछि भट्ट र शंकर ग्रुपबीच सम्बन्ध मात्र बढेन, लाइसेन्स, ठेक्का, नियुक्ति, नीतिगत हस्तक्षेपमा जताततै साझेदारी हुन पुग्यो। उनीहरुले नेपा धितोपत्र बोर्ड, बीमा प्राधिकरण जस्ता नियामक संस्था कब्जा नै गरे।

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि उनीहरुले आफ्नो मान्छे लैजान धेरै नै प्रयास गरे। त्यसमा भने सफल भएनन्। शंकर ग्रुपसँग मिलेपछि भट्टलाई ‘क्यास फ्लो’ प्राप्त भयो भने शंकर ग्रुपलाई सत्ता र ब्युरोक्रेसीमा पहुँच भएको बलियो शक्ति प्राप्त भयो। त्यसयता उनीहरुको साझेदारीमा अन्य व्यवसायी पनि समेटिँदै गए। उनीहरुले पैसा कमाउन जस्तोसुकै काम पनि गर्न थाले। अग्रवाल तथा मोर परिवार लगायत व्यावसायिक घरानाको प्रमुख लगानी रहेको कम्पनी हो- हिमालयन रि इन्स्योरेन्स। हिमालयन इन्स्योरेन्सको सतप्रतिशत लगानी भएको अर्को कम्पनी हो, हिमालयन क्याप सर्भ लिमिटेड।

हिमालयन इन्स्योरेन्सको ७५ प्रतिशत र बिचौलिया समूहको २५ प्रतिशत लगानी भएको अर्को कम्पनी हो हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड। सर्वसाधरणको लगानी रहेको तर बहुमत सेयर तथा व्यवस्थापन नियन्त्रणमा रहेका कम्पनी हुन्, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी।