BIZMANDU
www.bizmandu.com

भट्ट पक्राउपछि रामेश्वर खनाल- ग्रेलिस्टबाट हटाउने प्रयास, को को छन् अनुसन्धानमा?

२०८२ चैत्र १९

भट्ट पक्राउपछि रामेश्वर खनाल- ग्रेलिस्टबाट हटाउने प्रयास, को को छन् अनुसन्धानमा?
भट्ट पक्राउपछि रामेश्वर खनाल- ग्रेलिस्टबाट हटाउने प्रयास, को को छन् अनुसन्धानमा?


काठमाडौ। सम्पति शुद्धिकरण अनुसन्धान विभागको पत्रमा बिचौलियाका रुपमा काम गर्दै आएका बिबादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले प्रतिकृया दिएका छन्।

Vigo
GBIME
Tata

उनले भट्ट पक्राउ लगत्तै सामाजिक सञ्जाल ‘फेसबुक’ मा विभागको नाम नलिइ आभार ब्यक्त गरेका छन्। उनी अर्थमन्त्री हुँदा अन्तर्राष्ट्रिय निकायहरुले भट्टको नामै लिएर किन कारवाही नगरेको भन्दै चासो राखेका थिए।

उनकै पालामा विभागले भट्टमाथि अनुसन्धान तीब्र बनाएको थियो। त्यही अनुसन्धानको आधारमा नयाँ सरकार गठनको सात दिनमै भट्ट पक्राउ परेका हुन्।

भट्ट पक्राउपछि खनालले लेखेका छन्- नेपाललाई एफएटीएफको ‘ग्रे सूची’ बाट हटाउने दिशामा आएको गतिलाई दृढ संकल्प र संस्थागत विश्वासका साथ अगाडि बढाइरहनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु।’

सम्पति शुद्धीकरण, कर छली तथा अपारदर्शी कारोबारमा भट्टको नाम बारम्बार आए पनि कहिल्यै सामान्य सोधपुछ नभएको भन्दै अन्तर्राष्ट्रिय निकायले चासो राखेका थिए। 

सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) ले भट्टको नामै लिएर किन कारबाही नगरेको भनेर सोधेको थियो। तत्कालिन प्रधानमन्त्री केपी ओलीलगायतले उनीहरुको चासोका बारेमा बताउँदा भट्टलाई उल्टै सरकारले ‘क्लिन चिट’ दिएको थियो।

तर, जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारका अर्थमन्त्री खनालले भने यसलाई गम्भिरताका साथ लिएर अनुसन्धान अगाडि बढाउन लगाएका थिए। त्यसबेला खनालसँग विदेशी नियोगका राजदूतले दीपक भट्टको नाम नै लिएर किन कारबाही अगाडि नबढेको भनेर प्रश्न गरेका थिए।

विभागको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भट्टलाई पक्राउ गरेको हो। भट्टले पब्लिक कम्पनीको पैसाबाट ब्यक्तिगत नाममा सेयर किनेका छन्। त्यसमा थप अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। यस मुद्दामा शंकर ग्रुपका सञ्चालकहरु सुलभ अग्रवाल, शाहिल अग्रवाल, ऋषिराम मोर, अमित मोर, सुवि अग्रवाल, उपाशना पौडेल, सन्दिप चाचन पनि तानिएका छन्। उनीहरु पनि पक्राउ सूचीमा छन्।