काठमाडौं। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडादर बढेको छ। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ बढाएर २५१ रुपैयाँ पुर्याएसँगै हवाई भाडादर बढेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानले) न्यूनतम र अधिकतम भाडादर तोकेको छ। बुधबारबाट लागू हुने गरी क्यानले आन्तरिक उडानमा नयाँ भाडादर तोकेको हो। काठमाडौं धनगढीको अधिकतम भाडारदर २३ हजार ५९ रुपैयाँ पुगेको छ।
क्यानले न्यूनतम भाडादर ट्रंक सेक्टरतर्फ काठमाडौं-माउन्टेन उडानमा ११ हजार ३४२, काठमाडौं-भद्रपुर ९ हजार ९८९, काठमाडौं-विराटनगर ८ हजार ८८, काठमाडौं-जनकपुर ४ हजार ५६५, काठमाडौं-भरतपुर ३ हजार ८८५, काठमाडौं-पोखरा ५ हजार ५१५, काठमाडौं-भैरहवा ७ हजार ६, काठमाडौं-नेपालगन्ज १० हजार ८००, काठमाडौं-धनगढी १४ हजार ४५७, काठमाडौं- तुम्लिङटार ६ हजार ३२७, काठमाडौं-सिमरा ३ हजार ३४४ र काठमाडौं-राजविराज ८ हजार ५१२ रुपैयाँ भाडा तोकेको छ।
यस्तै, अधिकतम भाडादर ट्रंक सेक्टरतर्फ काठमाडौं-माउन्टेन उडानमा १८ हजार २६, काठमाडौं-भद्रपुर १५ हजार ८३७, काठमाडौं-विराटनगर १२ हजार ७६५, काठमाडौं-जनकपुर ७ हजार ७०, काठमाडौं-भरतपुर ५ हजार ९७३, काठमाडौं-पोखरा ८ हजार ६०५, काठमाडौं-भैरहवा ११ हजार १६, काठमाडौं-नेपालगन्ज १७ हजार १४८, काठमाडौं-धनगढी २३ हजार ५९, काठमाडौं- तुम्लिङटार ९ हजार ९२०, काठमाडौं-सिमरा ५ हजार ९८ र काठमाडौं-राजविराज १० हजार ७५० रुपैयाँ भाडा तोकिएको छ।



वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको भाउ सतप्रतिशत बढाइएकामा असन्तुष्टि जनाएका छन्। यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले अन्य सबै क्षेत्रमा प्रयोग हुने इन्धनको मूल्य स्थिर राखेर हवाई इन्धनको मूल्य १००% ले बढाइनुले राज्यको प्राथमिकता र दृष्टिकोण स्पष्ट झल्किएको बताए।
‘पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको अवस्थामा यही क्षेत्रको मेरुदण्ड मानिने एयरलाइन्सलाई अतिरिक्त आर्थिक भार थोपर्नु स्पष्ट रूपमा विरोधाभासपूर्ण नीति हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एयरलाइन्स विलासी सेवा हो भन्ने पुरानो धारणाबाट सरकार बाहिर निस्कन नसकेको पनि प्रस्ट भएको छ। यही सोच कायम रहँदा आन्तरिक पर्यटनको विकास सम्भव हुँदैन। हवाई यात्रा महँगो हुँदा देशभित्रै घुम्न चाहने नागरिकहरू निरुत्साहित हुन्छन्।’