BIZMANDU
www.bizmandu.com

ममदानीको सक्रियताले न्युयोर्क सरकारको टिकटक आइडी फेरि एक्टिभ, पोस्टलाई नियम नयाँ

२०८२ चैत्र १८

ममदानीको सक्रियताले न्युयोर्क सरकारको टिकटक आइडी फेरि एक्टिभ, पोस्टलाई नियम नयाँ
ममदानीको सक्रियताले न्युयोर्क सरकारको टिकटक आइडी फेरि एक्टिभ, पोस्टलाई नियम नयाँ


न्युयोर्क सहर सरकारको टिकटक आइडी फेरि एक्टिभ भएको छ। मेयर जोहरान ममदानीले आफ्नो स्थानीय तहलाई फेरि टिकटकमा सक्रिय बनाएका हुन्।

Tata
GBIME
Nepal Life

झण्डै तीन वर्षअघि न्युयोर्क सहरले सुरक्षा चिन्ताका कारण सरकारी मोबाइल र उपकरणमा टिकटक प्रयोग गर्न रोक लगाएको थियो। चिनियाँ कम्पनी बाइटडान्ससँग सम्बन्धित यो एपले प्रयोगकर्ताको विवरण चिनियाँ सरकारसम्म पुग्न सक्ने आशंका उठेपछि यस्तो निर्णय गरिएको थियो।

मंगलबार मेयर ममदानीले टिकटकमै भिडियो राख्दै अब सहर सरकार फेरि फर्किएको जानकारी दिएका छन्। अब विभिन्न विभागहरूले निश्चित सुरक्षा मापदण्ड पालना गरेर टिकटकमा सामग्री राख्न पाउने भएका छन्।

यो प्रतिबन्ध ममदानीभन्दा अघिल्ला मेयर इरिक एडम्सले सन् २०२३ मा लागू गरेका थिए। पछि टिकटकले आफ्नो अमेरिकी कारोबार अलग गर्ने सहमति गरेपछि र सुरक्षा उपायहरू थप स्पष्ट भएपछि न्युयोर्कले नीति परिवर्तन गरेको हो।

सहरको साइबर सुरक्षा निकाय एनवाइसी साइबर कमाण्डले यो निर्णय सहरबासीसँग सम्पर्क विस्तार गर्नका लागि गरिएको जनाएको छ। अहिले मानिसहरू सरकारी सेवा, आपतकालीन सूचना र विभिन्न कार्यक्रमबारे जानकारी खोजिरहेका बेला नयाँ माध्यम प्रयोग गर्न आवश्यक देखिएको बताइएको छ।

नयाँ नियमअनुसार टिकटक चलाउन छुट्टै उपकरण प्रयोग गर्नुपर्नेछ। त्यस्ता उपकरणमा संवेदनशील विवरण राख्न पाइने छैन र कार्यालयका अन्य प्रणालीसँग जोड्न पनि पाइने छैन। खाता व्यक्तिगत नभई सम्बन्धित विभागकै नाममा खोल्नुपर्नेछ र त्यसका लागि जिम्मेवार कर्मचारी तोकिनेछन्।

३४ वर्षीय ममदानी सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनका छोटा तर जानकारीपूर्ण भिडियोहरू धेरै फैलिने गर्छन् र त्यही कारण उनी झन् चर्चित बनेका छन्।

प्रतिबन्धपछि खाली रहेको मेयरको आधिकारिक टिकटक खातामा अहिले केही नयाँ भिडियोहरू देखिन थालेका छन्। एक भिडियोमा उनले घरभाडासम्बन्धी गुनासो सुन्ने कार्यक्रमबारे जानकारी दिएका छन्। अर्को भिडियोमा उनी बास्केटबल खेलाडी नताशा क्लाउडसँगै देखिन्छन्, जहाँ सहरका साना समस्या समाधान गर्न जनताबाट मत माग्ने योजना घोषणा गरिएको छ।(एपी)