काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
जनकपुरस्थित रामजानकी मैदानमा सम्पन्न प्रतियोगिताको १९ औँ खेलमा मधेशले कर्णाली प्रदेशलाई ५ विकेटले हरायो। टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले ३१.२ ओभरमा अलआउट हुँदै १२९ रन बनाएको थियो। कर्णालीका लागि रवीन्द्र शाहीले सर्वाधिक ४० रन बनाउँदा अर्जुन घर्तीले २४ तथा विपिन रावल र दिनेश अधिकारीले समान १८ रन बनाए। बलिङमा मधेशका आशिक बैठाले सर्वाधिक ४ विकेट लिँदा अरनिको यादव र विशाल पटेलले समान २ तथा प्रदीप पासवानले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मधेशले २४.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मधेशका लागि निरज यादवले सर्वाधिक ३८ रन बनाउँदा अरनिको यादवले अविजित ३२ तथा मयन यादवले २४ रन बनाए।
बलिङतर्फ कर्णालीका दीपेन्द्र रावतले ३ विकेट लिँदा दिवस पुन र प्रकाश जैसीले समान १ विकेट लिए।
त्यस्तै, आजै वीरगंजमा सम्पन्न अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले हरायो।

नारायणी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४५.४ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो। यसक्रममा दीपक बोहराले सर्वाधिक ३० रन बनाउँदा हेमन्त धामीले २९, किरण ठगुन्नाले २० तथा अभिषेक पालले १७ रन बनाए। बलिङमा लुम्बिनीका सन्तोष यादव र अजय चौहानले समान ४ विकेट लिँदा सन्देश थापाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमा समेटियो। लुम्बिनीका लागि सन्तोष यादवले सर्वाधिक ६७ रन बनाउँदा ध्रुव सुनारले ३६ र रञ्जित खड्काले ११ रनको योगदान दिए। लुम्बिनीलाई लक्ष्यसम्म पुग्न नदिन शेर मल्ल र खडक बोहराले समान ३ विकेट लिँदा हेमन्त धामीले २ तथा नारायण जोशी र लोकेन्द्र चन्दले १ विकेट लिए।
योसँगै ४ खेलबाट ६ अंक बनाएको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मधेश ७ अंकसहित शीर्ष स्थानमा छ। समान ७ अंक नै बनाएको आर्मी तालिकाको दोस्रो स्थानमा छ।